News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धरलाई प्याङ्क बाइकले सम्मानित गर्यो।
- उहाँले साइकलबाट आएको रकम आफ्नै संस्थामा खर्च गर्ने र नयाँ मानन्धर जन्माउने बताए।
- सन् १९८७ को दक्षिण एसियाली खेलकुदको म्याराथनमा तोडिएको कीर्तिमान अझै कायम छ।
२० जेठ, काठमाडौं । नेपालका कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धर मंगलबार सम्मानित भएका छन् । नेपालको पहिलो साइकल पसल प्याङ्क बाइकले आफ्नो १०० वर्ष पुगेको अवसरमा मानन्धरलाई सम्मानित गरेको हो ।
काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल र प्याङ्क संचालक तिरेक मानन्धरले ओलम्पियन बैकुण्ठ मानन्धरलाई सम्मान गरेका थिए । ओलम्पिन मानन्धरले पनि एक थान प्याङ्क एडिसन बाइक प्राप्त गरेका छन् ।
‘मानन्धरको खेलकुदप्रति अथक समर्पण र प्रेरणादायी उपस्थितिको कदर गर्दै प्याङ्क कस्टम बैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरेका छौं’ संचालक तिरेक मानन्धरले भने ।
यससँगै ओलम्पियन मानन्धर एडिसन साइकलको सद्भावना दूत नियुक्त भएका छन् । अब, यो साइकल १०० थान बिक्रीबाट उठेको फाइदा मानन्धरले पाउनेछन् ।
मानन्धरले सन् १९८७ को दक्षिण एसियाली खेलकुद (साग) को म्याराथन २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए । ३८ वर्षपछि पनि यो कीर्तिमान दक्षिण एसियामा तोडिएको छैन ।
सम्मानित भएपछि मानन्धरले भने, ‘यो साइकलबाट आएको रकम मैले आफ्नै संस्थामा खर्च गर्नेछु र दोस्रो बैकुण्ठ मानन्धर जन्माउने प्रयत्न गर्नेछु । यो साइकल मेरो सुविधाको लागि मात्र होइन, सम्मान र सम्झना जोडिएको छ । सम्मानित बनाउनु भएकोमा अत्यन्त कृतज्ञ छु।’
सन् १९२५ मा अष्ट नारायण मानन्धरले असनमा पञ्च नारायण अष्ट नारायण साइकल पसलको सुरुवात गरेका थिए । हालसम्म यो पसल असनमा यथावत छ ।
प्याङ्कले कार्यक्रममा नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई एक थान साइकलद्वारा सम्मान गरेको थियो । कार्यक्रममा उपस्थित पत्रकारबाट सुवेदी गोलप्रथामा विजयी भएका हुन् ।
प्रतिक्रिया 4