+

प्रचण्ड कप भलिबल पोखरामा हुने

२०८२ जेठ  २१ गते १८:३२ २०८२ जेठ २१ गते १८:३२
प्रचण्ड कप भलिबल पोखरामा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता जेठ २७ देखि ३१ गतेसम्म पोखरा रंगशालामा आयोजना हुनेछ।
  • प्रतियोगितामा शीर्ष ६ महिला टिमले भाग लिनेछन् र विजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
  • आयोजकले सहभागी खेलाडीको यातायात र बसोबासको व्यवस्था गर्ने बताएको छ।

२१ जेठ, कास्की । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा जेठ २७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीले बुधबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

राष्ट्रिय स्तरका शीर्ष ६ महिला टिमलाई समावेश गरेर आयोजना गर्न लागिएको प्रतियोगिता जेठ ३१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ र आर्मी तथा गण्डकी प्रदेश, एभरेष्ट एकेडेमी र न्युडामण्ड एकेडेमीले सहभागिता जनाउनेछन् ।

राउण्ड रोबिन लिगका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ र प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात र बसोबासको व्यवस्था आयोजकले गर्ने बताएको छ ।

पत्रकार सम्मेलनमा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ज्वालाले नेपालको लोकप्रिय खेलको रुपमा रहेको भलिबलको विकासमा ईटा थप्ने प्रयास स्वरुप प्रतियोगिताको सुरुवात गरिएको बताए । कोईरालाका अनुसार आगामी दिनमा प्रतियोगितालाई थप फराकिलो बनाउँदै लैजाने लक्ष्य राखिएको छ ।

आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलको घोषणा गर्न उल्लेख्य भुमिका खेलेको उल्लेख गर्दै सो घोषणाको सम्मानमा भलिबल कार्यक्रमलाई अघि सारिएको बताए ।

‘तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय घोषणा गरेको अवसर भलिबलको राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेका छौं’ कोइरालाले भने, ‘गणतन्त्र, प्रचण्ड र भलिबल बीचको संयोजनको रुपमा कार्यक्रमलाई अघि सारेका छौं ।’

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यद्धय अन्जन धमला र सम्राट कुसारी तथा नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ सहितको उपस्थिति रहेको थियो ।

प्रचण्ड कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय