News Summary
Generated by OK AI. Editorially reviewed.- आरिफ शेख नेपाली क्रिकेट टोलीमा मिडल अर्डरमा खेल्ने ब्याटर हुन् र उनले बुधबार नेदरल्याण्ड्ससँगको खेलमा ७८ रन बनाए।
- उनले २०१५ देखि एकदिवसीय खेलमा भाग लिइरहेका छन् र ५९ खेलमा १२०३ रन बनाएका छन्।
- उनी 'आइस म्यान' नामले परिचित छन् र संयमित खेल शैलीका कारण टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्।
२२ जेठ, काठमाडौं । आरिफ शेख नेपाली क्रिकेट टोलीमा मिडल अर्डर अर्थात् मध्यक्रममा खेल्ने ब्याटर हुन् । नेपालका लागि एकदिवसीय खेलमा राम्रो प्रदर्शन गर्दै आएका आरिफले क्रिजमा टिकेर खेल्दै जुनसुकै परिस्थितिमा पनि संयमित ब्याटिङ गर्न सक्छन् ।
बुधबार भएको नेदरल्याण्ड्ससँगको खेलमा पनि उनले एकदिवसीय ब्याटरले खेल्नुपर्ने शैलीमा खेल्दै फेरि एकपटक मध्यक्रममा आफू भरपर्दा ब्याटर भएको प्रमाणित गरेका छन् ।
उनको करियरकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ७८ रन बनाए जसको मद्दतमा नेपालले नेदरल्याण्ड्सलाई हराएर जारी लिग २ क्रिकेटको शृंखलामा लगातार दोस्रो जित निकालेको छ ।
सुरुमा केही स्लो रनगतिमा खेलेपनि एक समयदेखि आरिफले रनगति बढाउन थालेका थिए । आवश्यकता अनुसार दुई महत्वपूर्ण साझेदारी गरेका आरिफले नेपालको जितको आधार नै तय गरे ।
प्रोपर एकदिवसीय ब्याटर
आरिफ शेख पहिल्यैदेखि नेपाली टोलीको मिडल अर्डरमा खेल्दै आएका छन् । केही खेलहरूबाहेक उनले पाँचौं नम्बरमा नै ब्याटिङ गरिरहेका हुन्छन् । केही खेलमा आवश्यकता अनुसार तलमाथि पनि ब्याटिङ गर्छन् ।
उनको खेल्ने शैली अरुभन्दा अलि फरक छ । उनले सुरुमा आउनेबित्तिकै रनका लागि खेल्दैनन् । क्रिजमा धेरै समय टिक्न खोज्छन् र निश्चित समयपछि मात्र अट्याकिङ शट खेल्छन् ।
क्रिजमा प्रवेश गरेको केही समयसम्म उनी डट बल वा सिंगल-डबलमै सन्तुष्ट हुन्छन् । जब उनले ठुलो शट खेल्नुपर्छ भनेर सोच्छन्, त्यसबेलासम्म सेट भइसकेका हुन्छन् र जुनसुकै बलरलाई पनि ठुलो शट प्रहार गर्न सक्छन् ।
बुधबारको खेलपछि उनले आफुले केहीबेर क्रिजमा टिकेको अवस्थामा जुनसुकै अवस्थाबाट पनि खेल जिताउन सक्ने कुरा उल्लेख गरेका थिए ।

‘मलाई के विश्वास छ भने मैले ३० देखि ४० बल क्रिजमा टिक्न सकेँ भने हरेक गेम जुनसुकै अवस्थाबाट फिनिस गर्न सक्छु जस्तो लाग्छ’ उनले भने, ‘सुरुमा केही च्यालेन्जिङ थियो तर जब मैले ३०-४० बल खेलें, जिताउन सक्छु भन्ने भयो।’
उनले बुधबार ९९ बलमा ७८ रन बनाए । सुरुवाती ५० बलमा २५ रन मात्र बनाएका आरिफले त्यसपछिका ४९ बलमा ५३ रन बनाए । सुरुवाती समयमा स्ट्राइक रोटेट र डिफेन्समै फोकस गरेका उनले जब सेट भए तब नेपाललाई खेल नै जिताएर गए ।
यही कारणहरूले उनलाई एक प्रोपर एकदिवसीय ब्याटरका रूपमा हेर्न सकिन्छ । एकदिवसीय खेलमा ब्याटरले केही कम स्ट्राइक रेटमा सुरुवाती गरेपनि एउटा निश्चित बिन्दुमा पुगेपछि स्कोरिङ रेट बढाउँदै लाने गर्नुपर्छ, जुन कुरा आरिफले बुधबार गरेर देखाए ।
नेपाली टोलीका ‘आइस म्यान’
नेपालका लागि मध्यक्रममा खेल्ने आरिफले क्रिजमा टिकेर टिमको स्कोरिङ रेट मेनटेन गर्न मद्दत गरिरहेका हुन्छन् । घरेलु क्रिकेटमा पनि उनले यो काम गर्दै आएका हुन्छन् ।
नेपाली टोलीका लागि उनले बुधबार मात्र नभएर यसअघि पनि विभिन्न खेलमा राम्रो इनिङ खेल्दै आएका छन् । शान्त स्वभावका आरिफको ब्याटिङ पनि शान्त किसिमको हुन्छ ।
उनी त्यस्तो धेरै उत्साहित पनि भइहाल्दैनन्, संयमित भएर खेल्ने गर्छन् । त्यसकारण उनी ‘आइस म्यान’ नामले पनि परिचित छन् ।
जब जब नेपाललाई मध्यक्रममा आवश्यकता पर्छ, तब उनले परिस्थिति अनुसार आफ्नो खेल कौशल प्रदर्शन गर्छन् । नेपाल केही दबाबमा छ भने टिक्ने कुरामा प्राथमिकता दिन्छन्, राम्रो अवस्थामा छ भने पनि हतास नगरिकन स्ट्राइक रोटेसनमै ध्यान दिन्छन् ।
सन् २०२२ मा दुबईमा भएको लिग २ क्रिकेटअन्तर्गत पिएनजीसँगको खेलमा १७४ रनको लक्ष्य पछ्याउँदा १० रनमै पहिलो विकेट गुमेपछि क्रिजमा आएका आरिफले कुशल भुर्तेलसँग मिलेर ८७ रनको साझेदारी गरे भने त्यसपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरी शून्यमै आउट भएपछि कप्तान रोहित पौडेलसँग मिलेर खेल जिताए ।
सो क्रममा आरिफ १०२ बल खेलेर ५९ रनमा अविजित रहे । उनी धेरेभन्दा धेरै समय क्रिजमा टिक्नेतर्फ ध्यान दिँदै रोहितलाई शट खेल्न साथ दिइरहेका दिए ।
२०२३ मा कीर्तिपुरमा भएको लिग २ कै चर्चित खेलमा ३११ रनको लक्ष्य पछ्याउँदा नेपाल ९८-४ को अवस्थामा हुँदा आरिफले भीम सार्कीसँग मिलेर शानदार साझेदारी गरेका थिए जहाँ उनले ६२ बलमा २ चौका मात्र प्रहार गर्दै ५२ रन बनाएका थिए । नेपालले उक्त खेल डिएल पद्दतिमा जितेको थियो ।
२०२४ मा कीर्तिपुरमा भएको क्यानडासँगको खेलमा कुशल भुर्तेलको अर्धशतकपछि अन्यबाट उल्लेख्य योगदान हुन नसक्दा आरिफले ५० बलमा ३८ रनको संयमित पारी खेलेर मध्यक्रम सम्हालेका थिए । नेपालले उक्त खेल ७ रनले जितेको थियो ।
यही लिग २ साइकलअन्तर्गत गत अक्टोबरमा अमेरिकामा भएको शृंखलामा स्कटल्याण्डविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपाल ६३-४ को अवस्थामा हुँदा आरिफले ४२ बलमा ५१ रन बनाएर गुल्शन झासँग साझेदारी गरेपछि नेपालले खेल जितेको थियो ।
आरिफले शानदार प्रदर्शन गर्दागर्दै नेपाल केही खेलमा पराजित भएको अवस्था पनि छ । सन् २०२२ मै भएको ओमानसँगको खेलमा यस्तै प्रकारको प्रदर्शन गर्दा नेपाल केही रनले मात्र चुकेको थियो ।
२१२ रनको लक्ष्य पछ्याउँदा ७९-४ को अवस्थामा पुगेपछि क्रिजमा आएका आरिफले ७९ बलमा ६६ रन बनाएर खेल अन्तिमसम्मै पुर्याएपनि २ बल बाँकी छँदा नेपाल १९८ रनमा अलआउट भयो । अन्तिम विकेटका रूपमा आरिफ नै आउट भएका थिए ।
२०२२ मै अमेरिकासँगको खेलमा पनि आरिफले सर्वाधिक ६३ रन बनाएपनि नेपाल पराजित भएको थियो भने नामिबियासँगको खेलमा ८४ बल खेलेर ५० रनमा अविजित रहेपनि नेपाल पराजित भयो ।
आरिफका यी पारीहरूले उनी जस्तोसुकै परिस्थितिमा पनि टिमको आवश्यकता अनुसार संयमित भएर खेल्न सक्षम छन् भन्ने देखाउँछ । यी सबै कुराले उनी साँच्चिकै ‘आइस म्यान’ भएको प्रमाणित गर्छ ।
आरिफको ओडिआई करियर
नेपाली टोलीका सिनियर खेलाडीमध्येकै एक रहेका आरिफले पहिलोपटक नेपालका लागि एकदिवसीय खेल २०१५ मा नामिबियाविरुद्ध खेलेका थिए ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)कै मान्यता पाएपछि उनी लगातारजसो नेपालको टिममा पर्दै आएका छन् । उनले नेपालका लागि ५९ ओडिआई खेल्दा १२०३ रन बनाएका छन् ।
नेपालका लागि ओडिआईमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा आरिफ चौथोमा छन् । उनीभन्दा माथि तेस्रोमा कुशल भुर्तेल, दोस्रोमा भाइ आसिफ शेख र पहिलोमा कप्तान रोहित पौडेल छन् । यी चार खेलाडीले मात्र ओडिआईमा १००० रन कटाएका छन् ।
ओडिआईमा हालसम्म शतक भने प्रहार नगरेका आरिफले अर्धशतक भने ८ वटा प्रहार गरेका छन् । उनले बुधबार मात्रै करियरको उच्च स्कोर (७८ रन) बनाए । यसअघि उनले आयरल्याण्डसँग बनाएको ६६ रन उनको सर्वाधिक स्कोर थियो ।
मध्यक्रममा ३ देखि ८ सबै पोजिशनमा ब्याटिङ गरेका आरिफ छैटौं नम्बरमा ब्याटिङ गर्दा सबैभन्दा सफल देखिएका छन् । २२ खेलमा छैटौं नम्बरमा खेल्दा उनले ५ अर्धशतकसहित ५५२ रन बनाएका छन् ।
त्यस्तै १५ खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्दा २ अर्धशतकसहित ३७१ रन बनाएका छन् । आठौं नम्बरमा ५ पटक ब्याटिङ गर्दा १०२ रन बनाएका छन् ।
एकपटक मात्र तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले अविजित अर्धशतकसहित ५९ रन बनाएका छन् भने ४ खेलमा सातौं नम्बरमा ब्याटिङ गर्दा ७८ रन तथा ३ खेलमा चौथो नम्बरमा ब्याटिङ गर्दा ४१ रन बनाएका छन् ।
यसले पनि उनी टप अर्डरभन्दा मिडल अर्डरमा नै बढी सफल र टोलीका लागि भरपर्दो छन् भन्ने देखाउँछ ।
उनले पार्ट टाइम मिडियम पेस बलिङ गर्दै ८ विकेट पनि लिएका छन् ।
प्रतिक्रिया 4