
२२ जेठ, काठमाडौं । नेपालीको भान्सामा सबैभन्दा धेरै प्रयोग हुने वस्तु हो प्याज । अधिकांश तरकारीमा प्रयोग हुने प्याजको भाउले केही दिनमै नेपाली उपभोक्ताको ‘आँखामा आँसु’ ल्याउने सम्भावना बढेको छ ।
प्याजका लागि सधैं भर पर्नुपर्ने दक्षिणी छिमेकी भारतमा पछिल्लो पटक यसको भाउ आकासिएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने देखिएको हो । सरकारी तथ्यांकले पनि नेपालमा आयात हुने प्याजको कुल हिस्सामा लगभग शतप्रतिशत हाराहारी भारतको रहेको देखाउँछ ।
यसको अर्थ नेपाललाई आवश्यक प्याजको प्रमुख स्रोत बजारमै भाउ आकासिएपछि नेपालमा केही दिनमै भाउ बढ्ने सम्बद्ध व्यापारीहरू बताउँछन् ।
एक पटक सरकारी तथ्यांक हेरौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) सम्ममा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको प्याज आयात गरेको छ । यसमा भारतबाट मात्रै ३ अर्ब ६६ करोड रुपैयाँको प्याज आएको छ ।
यो तथ्यांक अघिल्लो वर्षभरिकै तुलनामा बढी हो । गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २४ करोड ३६ लाख ५३ हजार रुपैयाँको ५२ हजार १ सय टन प्याज आयात भएको भन्सारको तथ्यांकले देखाउँछ ।
भारतमा प्याजको भाउ कति छ ?
अहिले भारतका विभिन्न सहरमा प्याजको भाउ आकासिएको छ । आज बिहीबार भारतमा प्याजको भाउ प्रतिकिलो औसत *४० भारु (६४ नेपाली रुपैयाँ) बराबर छ ।
भारतीय सञ्चारमाध्यमले भारी वर्षाका कारण प्याज, टमाटर लगायत बालीनालीमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन् । उनीहरूका अनुसार सरकारले नै प्याज खरिद गर्ने समय नजिक आएको हुँदा मूल्य बढ्न गएको र यो मूल्य अझै बढ्दै जाने छ । पछिल्लो एक सातामै प्याजको भाउ प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ । अर्थात् शतप्रतिशत मूल्य बढेको अवस्था छ ।
भारतमै बढेपछि नेपालमा स्वतः बढ्छ : व्यवसायी
आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले नेपाली प्याज बजार भारतमा निर्भर भएको हुँदा भारतीय बजारमा मूल्य बढ्नासाथ नेपालमा पनि असर पर्ने बताए ।
‘भारतीय बजामा जति मूल्य बढ्छ, त्यही अनुपातमा हाम्रो बजारमा पनि मूल्य बढ्छ,’ महासचिव गजुरेलले भने, ‘हामी प्याजमा पूर्णरूपमा भारतमा निर्भर हुँदा मूल्यमा हेरफेर हुनासाथ त्यसको प्रत्यक्ष असर यहाँ पर्ने हो ।’
भारतीय बजारमा मूल्य बढिरहँदा नेपाली बजारमा ३७ देखि ४० रुपैयाँ किलोमा प्याज बिक्री भइरहेको उनी बताउँछन् । ‘अहिले मूल्य सामान्य घटबढ भइरहँदा आउने दिनमा मूल्य बढ्छ,’ उनले भने, ‘हामीले भारतमै बढेको मूल्यमा प्याज खरिद गरेर यहाँ बेच्दा किलोको ७० देखि ८० रुपैयाँसम्म पर्न जान्छ कि भन्ने आकलन गरेका छौं ।’
भारतमा प्याजको मूल्यवृद्धि हुनुको कारण पानी मात्रै भने होइन । अघिल्ला साताहरूमा प्याजको भाउ सस्तो भएका बेला भारतले प्याज निर्यात गर्ने अन्य देशले सस्तो मूल्यमा प्याज खरिद गरेर भण्डारण गर्ने कार्य गरेको हुँदा पनि प्याजको मूल्य बढाइएको भारतीय व्यापारीको भनाइ राख्दै संघका महासचिव गजुरेलले बताए ।
नेपालमा प्याजको भाउ कति ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची हेर्दा दुई–चार दिनयता प्याजको मूल्यमा सामान्य वृद्धि भएको देखिन्छ ।
कालीमाटी बजारको मूल्यसूची अनुसार वैशाख अन्तिम सातादेखि जेठ पहिलो सातासम्म प्याजको थोक भाउ प्रतिकिलो औसतमा स्थिर रहेको देखिन्छ । त्यस समय प्याज किलोको औसत ३७ रुपैयाँमा किनबेच भएको थियो । उक्त मूल्यमा घटबढ हुँदै आजसम्म आइपुग्दा प्याजको भाउ किलोको थोकमा ३९ रुपैयाँ कायम छ ।
प्याज खपत कति ?
कालीमाटी तरकारी बजारमै दैनिक १ सय ५० देखि २ सय टनसम्म प्याज खपत भएको देखिन्छ ।
कालीमाटी बजारको तथ्यांकले १८ जेठमा २ सय ३० टन भारतीय प्याज भित्रिएको देखाएको छ । फेरि १९ जेठमा प्याज आयात घटेर १ सय ३९ टन मात्रै भित्रिएको देखिन्छ । २० जेठमा १ सय १ टन र २१ जेठमा १ सय ३४ टन प्याज कालीमाटी बजार भित्रिएको तथ्यांकले देखाउँछ ।
नेपालमा करिब २० हजार हेक्टर जमिनमा प्याज खेती हुने गरेको सरकारी तथ्यांक छ । त्यति जमिनमा साढे २ लाख टन प्याज उत्पादन हुने तथ्यांकमा उल्लेख छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार ३० जिल्लामा प्याज खेती हुने गरेको छ ।
(*भारतमा प्याजको मूल्य असावधानीवश बढी पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ । सं.)
प्रतिक्रिया 4