News Summary
Generated by OK AI. Editorially reviewed.- जिम्बावेका क्रिकेटर सिकन्दर राजाले रंगभेदको आरोप लगाउँदै उजुरी दर्ता गरे।
- उजुरीमा आरोपित प्रशिक्षक ब्लेसिङ माफुवाको नाम सार्वजनिक भएको छ।
- एचएमसीएले घटनाको अनुसन्धान गरिरहेको र दोषी भए कडा कारबाही हुने बताएको छ।
२६ जेठ, काठमाडौं । जिम्बावेका स्टार क्रिकेटर सिकन्दर राजाले हरारे मेट्रोपोलिटन क्रिकेट एसोसिएसनमा रंगभेद सम्बन्धी गम्भीर आरोपसहित उजुरी दर्ता गरेका छन्।
उनले १ जुनमा भएको विग्ने कपको खेलमा एक स्थानीय प्रशिक्षक ब्लेसिङ माफुवाबाट रंगभेदी दुर्व्यवहार भएको आरोप लगाएका हुन्।
उक्त घटना ओल्ड हरारियन्स र रेनबो क्रिकेट क्लबबीच ओल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलको क्रममा भएको थियो। क्रिकइन्फोका अनुसार उजुरीमा माफुवाले राजा ब्याटिङपछि मैदानबाट फर्किँदै गर्दा आपत्तिजनक, जातीय टिप्पणी गरेको कुरा उल्लेख छ ।
हाल रजाले माफुवाको नाम उजुरीमा स्पष्ट रुपमा नलेखेको भए पनि एचएमसीएको अध्यक्ष तफाज्वा माडोरोले माफुवाको नाम सार्वजनिक गरेका छन्।
माडोरोले आइतबार राति क्रिकइन्फोलाई जानकारी दिँदै भने, ‘हामीले हाम्रा टी२० कप्तान सिकन्दर रजाले भोगेको रंगभेदी दुर्व्यवहारको रिपोर्ट प्राप्त गरेका छौं। घटनाबारे अनुसन्धान भइरहेको छ। ब्लेसिङ माफुवा मंगलबार हुने सुनुवाइमा आफ्नो स्पष्टीकरण दिनेछन्। त्यसबीच उनी एचएमसीए अन्तर्गतका सबै गतिविधिबाट निलम्बित छन्। हामी रंगभेदप्रति कडा नीति राख्छौं र यस्ता आरोपलाई गम्भीरतापूर्वक लिन्छौं।’
राजाले पनि यस घटनाको पूर्ण अनुसन्धानको अपेक्षा राखेको बताए । यदि दोषी प्रमाणित भएमा कडा कारबाही गरिनुपर्ने राजाको भनाइ छ ।
एचएमसीएले मंगलबारको सुनुवाइपछि थप निर्णय लिने बताएको छ। यस घटनाले जिम्बावे क्रिकेटमा जातीयताको विषयलाई फेरि एकपटक चर्चामा ल्याएको छ।
उक्त खेलमा रजाले ५६ बलमा ७८ रन बनाएका थिए। उनको टोली ओल्ड हरारियन्सले ५० ओभरमा ४०२/९ रन बनायो भने रेनबो क्लबले जवाफी ब्याटिङमा ३९ ओभरमा २२५/८ रन बनायो।
खेल डिएल पद्दतिअनुसार ओल्ड हरारियन्सले १४२ रनले जित्यो।
राजा हालसालै पाकिस्तान सुपर लिग २०२५ को उपाधि जितमा लाहोर कलान्दर्सका लागि विजयी रन प्रहार गर्दै चम्किएका थिए। यो वर्ष उनको दोस्रो टी२० फ्रेन्चाइज उपाधि हो, यसअघि उनले आईएल टी२० पनि जितेका थिए।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4