News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३–२०२५ को फाइनल खेल ११ देखि १५ जुनसम्म लर्ड्स क्रिकेट मैदानमा हुँदैछ।
- अस्ट्रेलिया र दक्षिण अफ्रिका फाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
- दुवै टोली प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा पुगेका हुन्।
२६ जेठ, काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) २०२३–२०२५ को फाइनल खेल यही जुन ११ देखि १५ सम्म इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा हुँदैछ ।
फाइनल खेलका लागि तयार रंगमञ्चमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्।
यो पाँच दिवसीय महाभिडन्त दुई ठूला क्रिकेट राष्ट्रबीचको टक्कर मात्र नभएर एक गौरवशाली इतिहास, फरक शैली र उच्च स्तरका प्रदर्शनकर्ता बीचको निर्णायक भिडन्त पनि हो।
सन् २०१९ देखि सुरु भएको टेस्ट च्याम्पियनसिपको पहिलो संस्करण न्युजिल्याण्डले जितेको थियो भने दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । दुवैपटक फाइनलमा भारत पराजित भएको थियो ।
फाइनलसम्मको यात्रा
टेस्ट वरियताको शीर्ष स्थानमा रहेको टोली अस्ट्रेलिया डब्लुटिसीको यस चक्रमा अत्यन्त प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा पुगेको हो। कप्तान प्याट कमिन्सको नेतृत्वमा अस्ट्रेलियाले १९ टेस्टमध्ये १३ जित निकाल्दै कुनैपनि टेस्ट सिरिज गुमाएन।
यस क्रममा उनीहरूले इंग्ल्याण्डसँगको एशेज सिरिज २–२ ले बराबरी गरेका थिए भने पाकिस्तानसँगको शृंखला ३–० ले जित्दा न्युजिल्यान्डमा गएर २–० ले शृंखला जित्दा भारतविरुद्ध घरेलु मैदानमा ३–१ र श्रीलंकामा २–० को जित हात पारेका थिए।

गाब्बामा वेस्ट इन्डिजसँगको अप्रत्याशित हारले उनीहरूलाई झट्का दिएको भएपनि त्यसपछि टोली अझ बलियो भएर फर्कियो । तीन घातक बलरहरू स्टार्क, कमिन्स र हेजलउडको खतरनाक पेस आक्रमण र स्थिर ब्याटिङ लाइनअपको कारण अस्ट्रेलिया उपाधि रक्षा गर्न प्रबल दाबेदार बनेको छ।
त्यस्तै, दक्षिण अफ्रिकाले भने सुरुआतमै भारतसँग १–१ को बराबरी खेलेपछि न्युजिल्यान्डसँग ०–२ को हार बेहोरेको थियो। तर त्यसपछि टोलीले चार लगातार टेस्ट सिरिज जित्दै फाइनलमा पहिलोपटक स्थान बनायो।
उनीहरूले श्रीलंका र पाकिस्तानलाई घरेलु मैदानमा तथा वेस्ट इन्डिज र बंगलादेशलाई विदेशमा हराएका थिए। १२ टेस्टमध्ये ८ जित निकाल्दै टेम्बा बाभुमाको कप्तानीमा दक्षिण अफ्रिका अहिले उत्साहित छ। अस्ट्रेलिया र इङ्ल्यान्डसँग यस चक्रमा खेल्न नपाएको भए पनि फाइनलमा उनीहरू इतिहास रच्ने प्रयासमा हुनेछन्।
हालको फर्म र हेड-टु-हेड
अस्ट्रेलिया पछिल्ला ६ टेस्टमा अपराजित छ – जसमा ५ जित र १ ड्र को नतिजा रहेको छ। बोर्डर गाभस्कर ट्रफीअन्तर्गत भारतसँगको पहिलो टेस्टमा पराजित भएपनि त्यसपछि ३ पटक भारतलाई पराजित गरेको अस्ट्रेलियाले श्रीलंकालाई उसकै घरेलु मैदानमा दुवै खेलमा हरायो ।
दक्षिण अफ्रिका पनि पछिल्ला ६ टेस्टमा अपराजित नै छ । त्यसअघिको एक खेलमा ड्र को नतिजा निकालेको थियो । सो क्रममा दक्षिण अफ्रिकाले बंगलादेश, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंकाविरुद्ध अपराजित रहँदै आएको हो ।

हेड टु हेडको कुरा गर्नुपर्दा सन् २०१५ देखि यता टेस्टमा यी दुईबीच १० पटक भिडन्त हुँदा दक्षिण अफ्रिकाले ५ जित निकाल्दा अस्ट्रेलियाले ४ खेल जितेको छ भने एक खेल ड्र मा सकिएको छ। पछिल्लोपटक सन् २०२२ मा भएको सिरिज भने अस्ट्रेलियाले २–० ले जितेको थियो।
लर्ड्समा दुवै टोलीको राम्रो रेकर्ड रहेको छ – सन् २००० यता अस्ट्रेलियाले ८ खेलमध्ये ५ जितेको छ भने दक्षिण अफ्रिकाले ५ खेलमध्ये ३ जितेको छ ।
प्रभाव पार्न सक्ने खेलाडीहरू
अस्ट्रेलियाका बाँयाहाते ओपनर उस्मान खवाजा महत्वपूर्ण खेलाडी हुनेछन् । उनले यस डब्लुटिसी साइकलमा १४२२ रन बनाएका छन्, जसमा दुई शतक र ६ अर्धशतक समावेश छन्। श्रीलंकाविरुद्धको दोहोरो शतक र एशेजमा उनको पारी निकै प्रभावशाली थियो।
स्टीव स्मिथ, जसको टेस्ट औसत ५६.७ रहेको छ र ३६ शतक ठोकिसकेका छन्, उनले लर्ड्समा २ शतक बनाइसकेका छन्। दबाबका क्षणमा उनी सधैं चम्किने गर्छन्। त्यस्तै पछिल्लो समय आईसीसीका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आइरहेका ट्राभिस हेड पनि महत्वपूर्ण खेलाडी हुनेछन् ।
बलिङतर्फ जोश हेजलवूड अस्ट्रेलियाका लागि महत्वपूर्ण हुनेछन्। उनले १३ टेस्टमा ५७ विकेट लिएका छन् र हालको चक्रमा सबैभन्दा प्रभावकारी पेसर बनेका छन्।

दक्षिण अफ्रिकाका लागि बलिङमा कगिसो रबाडा मुख्य हतियार हुनेछन्। उनले १० टेस्टमा ४७ विकेट लिएका छन्। अस्ट्रेलियाविरुद्ध उनको रेकर्ड पनि प्रभावशाली छ – १० टेस्टमा ४९ विकेट।
स्पिनर केशव महाराजले ८ टेस्टमा ४० विकेट लिएका छन्, र उनी चौथो वा पाँचौं दिनमा महत्वपूर्ण बन्न सक्छन्।
ट्रिस्टन स्टब्स, जसले स्पिनविरुद्ध टेस्टमा औसत ९५.६६ राखेका छन्, दक्षिण अफ्रिकाका लागि एक्स-फ्याक्टर हुन सक्छन्।
प्रमुख म्याच अप
उसमान खवाजाले कगिसो रबाडाविरुद्ध ३१९ बलमा १५४ रन बनाएका छन् तर ५ पटक आउट पनि भएका छन् । त्यस्तै स्मिथविरुद्ध केशव महाराजको प्रदर्शन पनि हेर्नलायक हुनेछ । उनले २९० बलमा १३२ रन बनाउँदा ४ पटक आउट भएका छन् ।
दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले हेजलवूडविरुद्ध ११८ बलमा ४६ रन मात्र बनाउँदा २ पटक आउट भएका छन् । एइडेन मार्करमले प्याट कमिन्सविरुद्ध १२३ बलमा ९० रन बनाउँदा ४ पटक आउट भएका छन् ।
ट्रिस्टन स्टब्सले स्पिन बलिङमा ४२९ बलमा २८७ रन बनाएका छन् र उनको औसत ९५.६६ को छ ।

के अपेक्षा गर्न सकिन्छ?
लर्ड्सको पिच पेस बलरहरूका लागि अनुकूल हुने देखिन्छ। सन् २०२१ यता पेसरहरूले ८ टेस्टमा २३३ विकेट लिएका छन् भने स्पिनरहरूले मात्र २७ विकेट लिएका छन् ।
टेस्टको पहिलो दिन केही बादल लाग्ने सम्भावना देखिएको छ भने दोस्रो र तेस्रो दिन वर्षाको पनि सम्भावना छ, जसले पेसरहरूलाई अझ सहायता पुर्याउनेछ।
सम्भावित प्लेइङ ११ :
अस्ट्रेलिया : उस्मान खवाजा, मार्नस लाबुशेन, स्टीव स्मिथ, क्यामरून ग्रिन, ट्राभिस हेड, ब्यू वेब्स्टर, एलेक्स केरी/जोश इङ्लिस (विकेटकिपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लियोन, जोश हेजलउड
दक्षिण अफ्रिका : रायन रिकेल्टन, एडन मार्करम, टेम्बा बावुमा (कप्तान), डेभिड बेडिङहम, त्रिस्टन स्टब्स, काइल भेर्रेन (विकेटकिपर), वियान मुल्डर, मार्को जानसेन, कागिसो रबाडा, लुंगी एनगिडी, केशव महाराज
 
                    










 २०८२ जेठ  २६ गते १७:४०
                        २०८२ जेठ  २६ गते १७:४०                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4