
१ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको चौथो र पाचौं ठूलो दल अवरोध र विरोधमा रहँदा संसद्लाई चलाएको भनेर उनले प्रश्न उठाएका हुन् ।
‘यो संसद्मा कुनै अमुक पार्टी आफ्नो सिटमा उभिए संसद् अवरोध हुने, बैठक स्थगित तर कुनै पार्टीले नै वेल घेराउ नै गर्दा पनि अवरोध नहुने यो कस्तो विभेद हो ? म जान्न चाहन्छु,’ साहले भने ।
सभामुखले सबै दल र सबै सांसदको कुरा सुन्नुपर्ने उनको आग्रह छ । ‘सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ । तर, आज सभामुखको यो व्यवहार हेर्दा आश्चर्य लागेको छ, म दुखित छु,’ साहले भने, ‘सबै सांसद बराबर हुन् । सबै दल बराबर हुन् । आज चौथो र पाँचँैं दल विरोधमा नरहँदा जुन व्यवहार भइराखेको छ, गलत भइराखेको छ ।’
प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वेल घेराउ र नाराबाजी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारकाबीच चलेको थियो ।
वेलमा रास्वपाका सांसदहरू नाराबाजी गरिरहेका थिए । राप्रपाले बैठक नै छाडेर हिंडिसकेको थियो ।सांसदहरू बजेटमाथिको सामान्य छलफलमा भाग लिइरहेका छन् । यो दृश्य अमिल्दो रहेको भनेर उनले सभामुख र सत्तारुढ दलहरूको ध्यानाकर्षण गरे ।
‘पहिला पनि संसद्मा नाराबाजी हुन्थ्यो, संसद् चल्थ्यो । विगतमा छोटो समयका लागि हुन्थ्यो । तर, आज एउटा नयाँ रेकर्ड कायम भयो । यसको लागि म शुभकामना दिन चाहन्छु,’ उनले व्यङ्ग्य गरे । संसद्को वातावरण शान्त र सहज बनाउन फेरि पनि सभामुख र सत्तापक्षले पहल लिनुपर्ने आग्रह उनले गरे ।
‘एउटा सहज वातावरण बनाउनुस् । सरकार दुई तिहाइ छ भने संसद् शान्त बनाउन सक्दैन ?,’ उनी भन्छन्, ‘दुई दुई अंक हो कि परिणाम हो ? सरकार दुई तिहाइको छ । संसद्को वातावरण यस्तो छ । अलिकति पनि संवेदशनशीलता छ भने पहल लिन आग्रह गर्दछु ।’
भोजपुरीमा ‘हडबडीको विवाह, कन्पटीमा सिन्दुर’ भन्ने भनाइ रहेको उल्लेख गर्दै उनले यो भनाइ चरितार्थ हुने व्यवहार उचित नरहेको आग्रह गरे ।
सभामुखले साहलाई बजेटमाथिको छलफलमा बोल्न समय दिएका थिए । विषय भन्दा बाहिर गएको भनेर सभामुखले बोल्दा बोल्दै साहलाई विषयलमा केन्द्रित हुन आग्रह गरे । त्यसक्रममा सामान्य सवाल जवाफ नै भयो ।
सभामुख : वक्ता माननीय सदस्य यहाँ के विषयमा बोलिरहनुभएको छ ?
प्रभु साह : सभामुखज्यू आज यहाँको वातावरण छलफलको लागि छैन । के गर्ने त मैले ? कुन विषयमा बोल्ने ?
सभामुख : माननीय सदस्यज्यू, विषयवस्तुमा केन्द्रित भएर बोल्नका लागि म निर्देश गर्दछु ।
प्रभु साह : म सम्माननीय सभामुखजीसँग सोध्न चाहन्छु– संसद्को अवरोध कुन अवस्थामा भन्छन् ? एउटा कुनै पार्टी उभिराख्दा संसद् अवरुद्ध हुने, अर्को पार्टी वेलमा नाराबाजीमा हुँदा अवरोध नहुने ! म संसद् अवरोधको परिभाषा खोजिरहेको छु ।
सभामुख : माननीय सदस्य, विषय केन्द्रित आफ्नो अभिव्यक्ति दिनुहोला ।
प्रभु साह : यहाँ नाराबाजीकाबीच मैले के बोल्ने भन्ने प्रश्न गरिरहेको छु ।
सभामुख : माननीय सदस्य, आफ्नो विषय केन्द्रित गर्नुस् । तपाईंलाई ५ मिनेट समय दिएको छ, ३ मिनेट समय गइसकेको छ ।
प्रभु साह : मलाई बोल्ने वातावरण दिनुस्, सभामुख महोदय । म बजेटमा बोल्न चाहन्छु । बजेटमा छलफल गर्न चाहन्छु । देशको बजेट बिचौलियालाई खुसी बनाउने खालको छ । बिचौलियाले उत्सव मनाइरहेको छ । नेताहरूको घर–घरमा भोजभतेर गर्दै हिडेँको छन् । नेपाली जनता चिन्तित छन् । नेपाली जनता निराश छन् । यो बजेट कसको लागि आएको हो ? सायद यसैलाई गुमराह बनाउन, यसैलाई ओझेलमा पार्न संसद्को छलफललाई दुषित गरिरहेको छैन भन्ने प्रश्न आएको छ ।
सभामुखले पटक–पटक विषयमा केन्द्रित हुन भनेपछि सांसद साह बजेट जनता केन्द्रित नआएको भनेर मोडिए । तर, बजेटमाथिको छलफल प्रभावित पार्न नियतवश संसद्मा छलफलको वातावरण नबनाइएको हो कि भनेर आशंका गरे ।
नेपालबाट पैसा विदेश लैजान सहज हुने गरी सरकारले बजेट ल्याएको आरोप लगाए । बजेटले नेपालको प्राकृतिक स्रोतको दुरुपयोग हुने गरी बजेट आएको बताए । बजेटमाथि अनेकन प्रश्न उठ्न सक्ने भएकाले संसद्को वातावरण बिगारेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको आरोप लगाए ।
प्रतिक्रिया 4