News Summary
Generated by OK AI. Editorially reviewed.- डाक्टरले आफ्नो सेवा भावना र देशप्रतिको माया व्यक्त गर्दै, प्रणालीको असमानता र पीडालाई उजागर गरेका छन् ।
- उनले आफ्नो संघर्ष र निराशालाई व्यक्त गर्दै, सुधारका लागि लड्ने प्रतिबद्धता व्यक्त गरे।
म कहिलेकाहीँ आफैँलाई सोध्छु- के म यो देशको होइन, त्यो माटोको होइन ? जसका लागि दिनरात खटिएँ, सेवा गरें, जसको पीडामा मलम लगाउन खोजेँ ? के मैले रोजेको यो पेशा, यो सेवाको भावनाले पनि अब मलाई आफ्नो मान्दैन ?
म बिरामीका लागि रातभर जागा बसेको छु तर देशले मलाई अहिलेसम्म चिनेको छैन । म प्रणालीको एक साँचो अंग भएर इमान्दारीपूर्वक काम गरिरहेँ तर यही प्रणालीले मलाई कहिल्यै अँगाल्न सकेन ।
म एक डाक्टर हुँ, यो देशको नागरिक, यो देशको सपना देख्ने मान्छे तर भित्र-भित्रै कतै गहिरो छाती चिर्दै आएको प्रश्न छ जुन उतरविहीन बन्दै गएको छ । किन म आफ्नै देशमा पराईजस्तो ? देशप्रेम बाल्यकालदेखि नै थियो, तर किन यही देशमा माया गर्नेहरूलाई पराई बनाइन्छ ?
सोचेको थिएँ-डाक्टर भएपछि जिन्दगी सहज हुन्छ, परिवार खुसी हुन्छ, समाजले सम्मान गर्छ अनि सेवा गर्न पाउदा आत्मा-शान्त मिल्छ । तर, सेतो एप्रोनभित्र अस्पतालका पर्खालबीच उभिँदा बल्ल थाहा पाएँ-यो यात्रा त कल्पनाभन्दा धेरै पीडादायी, अपमानजनक र थकाइले भरिएको रहेछ ।
बिरामीका आँखामा आशा देख्दा लाग्छ-म जे गर्दैछु त्यो व्यर्थ छैन । जब बिरामीको आशिष मिल्छ मेरो आँखा रसाउँछ । मेरो प्रयासले कसैको जीवन जोगिन्छ, बिछोडिन लागेको परिवार जोडिन्छ, यही सन्तोष त हाम्रो सबैभन्दा ठूलो कमाइ हो ।
तर, मनभित्र कताकता केही कुराहरू उब्जिन्छन्-के जिन्दगी यही मात्रै हो ? घरपरिवार टाढा छन्, आफ्नासँग समय बिताउने अवसरहरू छुटिरहेका छन्, कहिलेकाहीँ छोरीको आवाज फोनबाट आउँछ…बाबा ! त्यो शब्द कानले सुन्छ, मनले चिन्छ तर भित्र कताकता शून्यता छाउँछ । छोरीको हाँसो, चाल, हुर्कँदै गरेको क्षणहरू केवल कल्पनामा देख्छु अनि लाग्छ म आफ्नै जीवनको सबभन्दा अमूल्य टुक्रा गुमाइरहेछु ।
थकान, निराशा, चिडचिडाहट यी सबै भावना हामीले दबाएर राख्नुपर्छ किनकी बिरामीलाई डाक्टर मुस्कुराउने देखिनुपर्छ र सधैं तत्पर देखिनुपर्छ । तर, हामी पनि मान्छे हौं है।
कहिलेकाहीँ आँखाभित्र आँसु उम्लिन्छ तर बाहिर झार्ने अधिकार हुँदैन ।
रातको २ बजे इमर्जेन्सीमा कोलाहल हुन्छ, कोही दुर्घटनामा परेका, कोही विष खाएका, कोही बेड खाली नभएर भुइँमा म्याटमा सुताइएका अनि छेउमा अत्तालिएका कुरुवाहरू।
एउटा हातले बिरामी सम्हाल्दै अर्कोले हातले पर्चा लेख्दै गर्दा म आफैंसँग सोधिरहेको हुन्छु ‘म सकुसल छु कि, अब म पनि बिरामीजस्तै भइसकेँ ? ‘ त्यो कोलाहलबाट बिरामीहरूलाई जोगाउन माथि पठाइएको आइसीयू चाहिँ शान्त देखिन्छ । तर, त्यो शान्तिमा लुकेको हुन्छ एक भयानक त्रास । मेसिनहरूको लगातार गुन्गुनाहट अनि जीवन र मृत्युबीच झुन्डिएका बिरामीहरूका टोलाएका आँखा, यो सबै दृश्यले मन भारी हुन्छ ।
साथीहरू आ-आफ्नो बाटो लागे। कोही विदेशिए, कोही पछुताइरहेका छन्, कोही करिअर र जिन्दगीको दोधारमा अल्झिएका छन् । कसैको गोजी रित्तो छ, कसैको मन अनि म अनिश्चित भविष्यतिर हिँडिरहेको छु ।
हामीले बिहान, राति भन्न पाइँदैन जुनसुकै बेला अस्पतालमा उपस्थिति हुनुपर्छ । कहिलेकाहीँ गाली खाँदै, आरोप सुन्दै तर सेवा निरन्तर दिरहनुपर्छ। बिरामीले त भन्न पाउँछन् डाक्टरहरू ढिलो आए, आज त बिदामा छन् रे ! तर डाक्टरलाई बोल्न र भन्न छुट छैन ।
उ बोल्न सक्दैन कि, म बिरामी थिएँ, थकित थिएँ, एकछिन आराम गर्न गएको थिएँ । हामीसँग उत्तर त छ तर सधैँ मौन बस्नुपर्छ किनकि हाम्रो सुनिदिने कोही छैन ।
म हरेक क्षण मान्छे बचाउने प्रयास गर्छु तर समाजले मलाई अधूरो देख्छ । मन झस्किन्छ- म किन अझै यो देशमा बसिरहेको छु तर देशप्रतिको मायाले देश छोड्न मन लाग्दैन । यही देशमाती अनुहारहरू छन्, जसले मलाई प्रेम गर्छन् ।
बाबुआमाको थाकेको अनुहार, श्रीमतीको मायालु साथ, छोरीको अँगालो, परिवारको हिम्मत, साथीभाइको सहयोग अनि ती बिरामीहरू जसले विश्वासका साथ मेरो आँखामा हेर्छन् । कहिलेकाहीँ लाग्छ देश मेरो त हो तर म यहाँ पराईजस्तै छु ।
साथीहरू विदेशबाट फोन गर्छन्, रमाइलो जीवनका कथा सुनाउँछन्, उत्सवजस्तै दिनहरूको बयान गर्छन् अनि म टोलाउँछु कहिले मेरो पनि यस्तो दिन आउला भनेर । देशमा केही गर्न खोज्दा सिफारिस चाहिन्छ, अवसर पाउन सेटिङ, पद पाउन सम्बन्ध र नाम कमाउन राजनीति ।
योग्यता पढाइ र अनुभवले हैन केवल नजिकको सम्बन्धको आधारमा तोकिन्छ । काम एउटाले गर्छ, जस लिन अगाडि अर्कै आइपुग्छ । फोटो कसैले खिचाउँछ, प्रतिवेदन कसैले लेख्छ अनि जसले रातभर निन्द्रा त्याग्यो, पसिना बगायो, ऊ सधैं पर्दापछाडि रहन्छ ।
राजनीतिक गुट, सत्ताको चलखेल, सिफारिसको कचौरा यी सबैले मलाई सिकायो कि नेपालमा आफैँ केही गर्छु भन्न निकै कठिन छ । हामी डाक्टरहरू जसले सेवा, आदर्श र मानवताका नाममा काम गर्छौं, अहिले त सहनशीलताको परीक्षा दिइरहेका पात्र मात्र भएका छौं ।
बिरामीको मृत्यु स्वास्थ्य प्रणालीको कारण भए पनि दोष हाम्रो काँधमा आउँछ। हामीलाई देवता मानिन्छ तर गल्ती नहुँदा पनि सजाय मागिन्छ । म त अब आफैँलाई सेवक जस्तो हैन प्रणालीको बलिको बोकोजस्तो महसुस गर्छु ।
देशप्रतिको माया अझै बाँकी छ तर प्रणालीप्रतिको गुनासो झन् गहिरिंदै गएको छ । म देशसँग रिसाएको छैन । म केवल सिस्टमसँग गुनासो गर्दैछु, अन्यायसँग बोलिरहेको छु। अझै पनि भन्छु म भाग्न चाहन्न, परिवर्तन ल्याउन चाहन्छु । म यही माटोमा उभिएर केही गरेर देखाउन चाहन्छु । म भन्न सक्दिन म कहिले सफल हुनेछु । तर म यति जान्दछु म लड्न छोड्दिन । म अझै पनि आफ्नै देशमा पराई भइरहेको छु । तर निराशामा डुब्ने छैन, देशलाई आफ्नो भन्न अझै पनि छाड्को छैन । अब म मुद्दा उठाउने मात्र होइन अब जिम्मेवारी सम्हाल्ने डाक्टर बन्ने कोसिस गर्दैछु।
म अझै लडिरहेछु,
अझै आशावादी छु,
अझै यही देशमा छु,
जहाँ म अझै पनि पराई छु,
तर देशमै बसेर केही गर्छु भन्ने सोचेको छु ।
प्रतिक्रिया 4