
News Summary
Generated by OK AI. Editorially reviewed.- हाइड्रोपावर सेक्टरले एक महिनामा ७.८९ प्रतिशत वृद्धि गरेको छ, बजारको कुल कारोबारको ६६ प्रतिशत हिस्सा हो।
- वित्तीय सुधार र चौथो त्रैमासिक रिपोर्ट सकारात्मक अपेक्षा कारण यस सेक्टरमा आकर्षण बढेको छ।
- बुटवल पावरको मूल्य हालसम्मकै उच्च भएको छ, तर नियामकले सेयर बिक्री रोक्न भनेको छ।
५ असार, काठमाडौं । विगत एक महिनामा सेयर बजारमा सबैभन्दा धेरै बढेको सेक्टर हो –हाइड्रोपावर । समग्र बजारको परिसूचक नेप्से एक महिनामा जम्मा १.६८ प्रतिशत मात्रै बढ्दा हाइड्रोपावर समूह ७.८९ प्रतिशत बढ्यो ।
कतिपय सेक्टर घटेका बेला हाइड्रोपावरमा एक महिनामा राम्रै वृद्धि देखिएको छ । यो समूहमा पनि कुनै कम्पनीको मूल्य एक महिनाकै अवधिमा ९२ प्रतिशतसम्म बढेको छ ।
बुटवल पावर र पियोर इनर्जीको मूल्य हालसम्मकै उच्च भएको छ । पियोर इनर्जी भने हालै सूचीकृत भएर कारोबारमा आएको कम्पनी हो ।
हाइड्रोपावर सेक्टरको सूचक बढेको मात्रै छैन, कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । एक महिना पहिलेसम्म कुल कारोबारमा ५० प्रतिशत हाराहारी हाइड्रोपावर सेक्टरको हुने गरेकोमा अहिले ७० प्रतिशतसम्म पुग्न थालेको छ । बुधबार कुल ९ अर्ब ८ करोडको कारोबार भएकोमा हाइड्रोपावर सेक्टरको मात्रै ६ अर्ब ३ करोडको भयो, जुन ६६ प्रतिशत हो ।
हाइड्रोपावर सेक्टरमा आकर्षण बढ्नुको प्रमुख कारण हो : वित्तीय विवरण सुधारिँदै जानु र थप सुधारको संकेत पाउनु । ‘बैंकको घट्दो ब्याजदरले आयोजनाको ब्याज लागत घटिरहेको छ, यसले गर्दा वित्तीय लागत घट्न गई कम्पनीको नाफामा सकारात्मक प्रभाव देखिँदै आएको छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले भने ।
यहीं कारण कारोबारी र लगानीकर्ता दुबैको आकर्षणमा यो सेक्टर देखिएको उनले बताए । त्यस्तै अब सार्वजनिक हुने चौथो त्रैमासिक वित्तीय विवरण झनै सकारात्मक आउने अनुमान छ ।
‘बर्खाका कारण विद्युत् उत्पादनसँगै आम्दानी बढ्ने भएकाले चौथो त्रैमासिक रिपोर्ट झन् सबल आउने गर्दछ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।
विगतमा पनि चौथो त्रैमासिक रिपोर्ट राम्रो आउने गरेको उनले बताए । हाइड्रोपावर कम्पनीको दुई त्रैमास बराबरको कमाइ वैशाख, जेठ र असार (चौथो त्रैमास)मै हुने गरेको छ ।
बजारमा बैंक र हाइड्रोपावर सबैभन्दा शक्तिशाली सेक्टर हुन् । विगतमा बुलको चरणमा बैंक नचल्दा, हाइड्रोपावरले साथ दिने र हाइड्रोपावर नचल्दा बैंकले साथ दिने गरेको छ । ‘विगतमा पनि बजारमा हाइड्रोपावर र बैंकको प्रदर्शन एकअर्कासँग विपरित देखिने गरेको छ’ ढुंगानाले भने ‘यो पटक पनि त्यस्तै देखिएको छ।’
एकातिर ब्याज घट्दा हाइड्रोपावरको वित्तीय विवरण सुधारिँदै जाने अर्कोतर्फ बैंकको कर्जा असुली नहुँदा निष्क्रिय कर्जा (एनपीएल) बढ्दै जानु र नोक्सानी व्यवस्थापन (लोन लस प्रोभिजन) थपिँदै गएपछि वित्तीय विवरण बिग्रिँदै गएको छ । बजारले यसकै प्रतिविम्ब देखाइरहेको र यो स्वभाविक रहेको लगानीकर्ता बताउँछन् ।
चौथो त्रैमासमा अरु सेक्टरका कम्पनीलाई नाफा बढाउन ठूलो चुनौती छ । बैंक, विकास बैंक तथा फाइनान्सको निष्क्रिय कर्जा, नोक्सानी व्यवस्थापन रकम बढ्दा नाफामा सिधा असर पर्दछ ।
त्यस्तै चुक्ता पूँजी वृद्धिका कारण केही जीवन र निर्जीवन बीमा कम्पनीको सेयर संख्या बढेको छ । विभिन्न कम्पनीले हकप्रद तथा बोनस सेयरमार्फत चुक्ता पूँजी बढाए, तर सोअनुसार व्यवसाय वृद्धि नहुने भएपछि चौथो त्रैमासमा प्रतिसेयर आम्दानी घट्न जानेछ । यसकारण बीमामा पनि आकर्षण छैन ।
उत्पादन तथा प्रशोधन कम्पनीको बिक्री आम्दानी नै सुस्ताइरहेको छ । मागमा आएको संकुचनका कारण सो क्षेत्रको नाफा पनि बढ्न सकेको छैन ।
रकम असुली तथा बिजनेस घटबढको झन्झट हाइड्रोपावरमा छैन । उत्पादन भएको विद्युत् सम्झौताअनुसार नै बिक्री हुने र आम्दानी तत्कालै हुने भएकाले यस सेक्टरका कम्पनीको कमाइप्रति लगानीकर्तामा शंका रहँदैन । आम्दानी भइसकेपछि पैसा नउठ्ने झन्झट पनि रहँदैन ।
अरु सेक्टर खास चल्न नसकेका बेला ठूला कारोबारी यहीं सेक्टरमा लागेका छन् ।
पछिल्लो समय ठूलो पूँजीका हाइड्रोपावर कम्पनीहरू नै धेरै कारोबार हुनेमा परिरहेका छन् । त्यस्ता कम्पनीको कारोबार रकमसँगै मूल्य समेत बढ्दै गएकाले लगानीकर्ता सकारात्मक छन् ।
बजारमा हाइड्रोपावरको अर्को विशेषता भनेको सानोदेखि ठूलो पूँजीका कम्पनी छन् । जम्मा १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजीदेखि ८ अर्ब ७२ करोड रुपैयाँसम्मका कम्पनी यसमा छन् ।
जसले गर्दा ठूला कारोबारी, संस्थागत लगानीकर्ता र सर्वसाधारणका लागि रोजाइअनुसारका कम्पनी यस सेक्टरबाटै छनोट हुने गर्छन् । त्यस्तै मूल्यमा पनि विविधता छ ।
बजारमा प्रतिकित्ता अधिकतम साढे १८ सयदेखि न्यूनतम २ सयमुनिसम्मका हाइड्रोपावर कम्पनी बजारमा सूचीकृत छन् । जसले गर्दा यस सेक्टरमा आकर्षण बढेको छ ।
महँगियो बुटवल पावर
यतिबेला बजारमा बुटवल पावर सबैभन्दा चम्किएको कम्पनी हो । यो कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । कारोबारमा पनि टप फाइभभित्र पर्दै आएको छ । बुटवल पावरले न्यादी हाइड्रोपावरमा गरेको ३१ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर नियामक धितोपत्र बोर्डले बुटवल पावरका सञ्चालक न्यादीमा पनि रहेको भन्दै धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार बेच्न नपाइने भन्दै रोक्यो ।
बोर्डले कम्पनीको धारणासहित यथार्थ विवरण पेश गर्न भनेको छ । तर बजारमा भने कम्पनीले सो सेयर ४ गुणा बढीमा बेचेर भारी मात्रामा लाभांश दिने हल्ला चलेको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले न्यादीमा गरेको लगानी मूल्य अहिले ४४० रुपैयाँ हाराहारीमा छ ।
प्राप्त सबैजसो नाफा हाइड्रोपावरले लगानीकर्तालाई वितरण गर्न सक्छन् । बुटवल पावरले न्यादीको सेयर बेच्दा १ अर्बभन्दा बढी नाफा हुन जान्छ ।
बुटवल पावर मात्रै नभई अरु केही हाइड्रोपावर कम्पनीले अरु कम्पनीका सेयर बेच्ने तयारी गरेको र नाफामा छलाङ मार्ने होहल्ला बजारमा चलिरहेको छ । सम्पत्ति बिक्रीबाट हुने नाफा उच्च हुने भएकाले चौथो त्रैमासिक रिपोर्टमा झल्किने चर्चा बजारमा चलिरहेको एक लगानीकर्ताले बताए ।
प्रतिक्रिया 4