+

मेस्सीको शानदार फ्रिकिक गोलमा पोर्टोमाथि इन्टर मियामीको जित

२०८२ असार  ६ गते ६:५६ २०८२ असार ६ गते ६:५६
मेस्सीको शानदार फ्रिकिक गोलमा पोर्टोमाथि इन्टर मियामीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टर मियामीले फिफा क्लब विश्वकपमा पोर्टोलाई २–१ ले पराजित गरी ऐतिहासिक जित हासिल गर्‍यो।
  • मेस्सीले पहिलो पटक क्लब विश्व कपमा गोल गरे र इन्टर मियामीलाई युरोपेली टोलीविरुद्ध पहिलो जित दिलाए।
  • अर्को समूह खेलमा पाल्मेइरासले अल अहलीलाई हरायो, जसले नकआउट चरणको सम्भावना बढाएको छ।

६ असार, काठमाडौं । लियोनेल मेस्सीको उत्कृष्ट फ्रिकिक गोलमा  इन्टर मियामीले फिफा क्लब विश्वकप फुटबलमा युरोपियन क्लब एफसी पोर्टोलाई २–१ ले हराउँदै ऐतिहासिक जित हात पारेको छ ।

एटलान्टाको मर्सिडिज बेंज स्टेडियममा गएराति भएको समूह ‘ए’ को खेलमा १-० ले पछि परेको अवस्था उल्टाउँदै मियामीले जित निकालेको हो ।

खेलको पहिलो हाफमा नै पोर्टोले अग्रता बनायो। आठौं मिनेटमा सामु अगेहोवाले पेनाल्टीमार्फत गोल गर्दै पोर्टोलाई १–० को अग्रता दिलाए ।

तर दोस्रो हाफको सुरुवातमै इन्टर मियामीले बराबरी गोल फर्कायो। खेलको ४७औं मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै खेललाई १–१ मा ल्याए ।

त्यसपछि ५४औं मिनेटमा मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गरे । उनको लेफ्ट फूटेड सट पोर्टोका गोलकिपरले रोक्न सकेनन् र इन्टर मियामीले २–१ को अग्रता लियो ।

यो गोल क्लब विश्व कपमा मेस्सीकोपहिलो तथा इन्टर मियामीका लागि ५०औं हो । साथै,मेस्सीको यस गोलले मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीलाई पहिलोपटक क्लब विश्व कपमा युरोपेली टोलीविरुद्ध जित दिलाएको हो ।

यो जितपछि इन्टर मियामीले दुई खेलबाट ४ अंक जोडेको छ । ब्राजिलियन क्लब पाल्मेइरासको पनि ४ अंक नै छ । गोल अन्तरमा पाल्मेराइस शीर्ष स्थानमा छ । मियामी र पाल्मेइरासबीच अब समूह चरणको अन्तिम खेल हुनेछ । त्यहाँ जित वा बराबरीले मियामीलाई नकआउट चरणमा प्रवेश गराउनेछ ।

गएराति भएको समूह ए कै अर्को खेलमा पाल्मेइरासले अल अहली क्लबलाई २-० गोलअन्तरले हराएको छ । पोर्टो र अल-अलीको समान १ अंक छ ।

फिफा क्लब विश्वकप लियोनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय