News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भावस्थाको सातौं महिनामा शारीरिक र मानसिक परिवर्तनहरू देखिन्छन्, र यस समयमा स्वास्थ्य परीक्षण आवश्यक हुन्छ।
- सातौं महिनामा बच्चाको विकास, यात्रा र खानपानमा सावधानी अपनाउनु आवश्यक छ।
- सम्भावित जटिलता जस्तै उच्च रक्तचाप र मधुमेहको पहिचान र उपचार गर्नुपर्छ।
गर्भावस्थाको सातौं महिना पुग्दासम्म २९ देखि ३२ हप्ता पुगिसकेको हुन्छ । यो अन्तिम त्रैमासिकको सुरुवाती चरण हो । जुन गर्भवती महिलाका लागि एक महत्वपूर्ण कोसेढुंगा हो ।
यो समयसम्म आइपुग्दा महिलाले गर्भावस्थाका आधा भन्दा बढी चुनौतीहरू पार गरिसकेकी हुन्छिन् । यो चरणले उनलाई मातृत्वको नजिक पुर्याउँछ । पहिलेको भन्दा बच्चाप्रति बढी संवेदनशील देखिन्छन् । पाठेघरको ठूलो आकार प्रष्ट देखिन थाल्छ ।
यो महिनाको अन्तिममा बच्चा जन्मियो भने पनि सकुशल बाँच्ने सम्भावना रहन्छ । अबका दिनमा गर्भवती महिला र बच्चा दुवैमा उल्लेखनीय परिवर्तनहरू देखिन्छन् ।
कस्ता शारीरिक परिवर्तन देखिन्छ ?
सातौं महिनामा गर्भवती महिलाको शरीरमा धेरै परिवर्तनहरू देखिन्छन्। यी परिवर्तनले गर्भावस्थालाई थप जटिल र विशेष बनाउँछन् ।
अलिअलि आकार लिएको पेटको चौडाइ बढेर स्पष्टरुपमा बाहिर देखिन थाल्छ । नाइटोभन्दा अलिकति माथि पेट बाहिर निस्कन्छ, जसले गर्भवती महिलालाई असहज महसुस गराउन सक्छ । पहिलाका लुगाहरू ठिक हुँदैनन् ।
अर्को परिवर्तन भनेको यो समयमा स्तनको आकार बढ्दै जान्छ । र, वरपरको छाला कालो (डार्क प्याचेज) देखिन सक्छ । साथै, स्तनबाट पँहेलो रङको दूध (कोलोस्ट्रम) निस्कन सुरु हुन सक्छ, जुन बच्चाको लागि पहिलो पौष्टिक आहार हो ।
अब हातखुट्टा सुन्निएको आभास हुन थाल्छ । दिनभरको कामपछि वा साँझतिर हात–खुट्टा सुन्निन सक्छ । यो सामान्यतया रक्तसञ्चार र पानीको सन्तुलनमा हुने परिवर्तनका कारण हुन्छ । गर्भाशयको आकार बढ्दै जाँदा मूत्राशयमा दबाब पर्छ, जसले बारम्बार पिसाब लाग्ने समस्या लाग्न सुरु हुन्छ ।
प्रोजेस्टेरोन हर्मोनको वृद्धिका कारण आन्द्राको गति सुस्त हुन्छ, जसले कब्जियत र एसिडिटीको समस्या आउनसक्छ । बच्चाको आकार बढ्दै जाँदा फोक्सोमा दबाब पर्छ, जसले सास फेर्न अलि गाह्रो हुन सक्छ । शारीरिक परिवर्तन र हर्मोनल प्रभावले थकान र निद्रामा समस्या हुन सक्छ ।
मानसिक र भावनात्मक परिवर्तन
सातौं महिनामा गर्भवती महिलाको मानसिक अवस्थामा पनि मिश्रित भावनाहरू देखिन्छन् । यी भावनाहरूमा उमंग, उत्साह, डर, तनाव र अनिश्चितता समावेश हुन्छन् ।
बच्चाको आगमन नजिकिँदै जाँदा गर्भवती महिलामा उत्साह र खुसीको भावना बढ्छ । साथै तनाव र डरले पनि पिछा छोड्दैन । प्रसवको डर, सामान्य वा शल्यक्रिया मार्फत डेलिभरी हुने अनिश्चितता र बच्चाको स्वास्थ्यको चिन्ताले तनाव हुनसक्छ ।
शारीरिक असुविधा र हर्मोनल परिवर्तनले मानसिक थकान र झर्को लाग्ने सम्भावना बढ्न सक्छ ।
सम्भावित जटिलता
सातौं महिनामा केही स्वास्थ्य समस्या वा जटिलताहरू देखिन सक्छन् । यी जटिलताहरूलाई समयमै पहिचान र उपचार गर्नु आवश्यक हुन्छ ।
उच्च रक्तचाप : गर्भावस्थाको २० हप्तापछि उच्च रक्तचापको समस्या देखिन सक्छ । यो अवस्थाले प्रि–एक्ल्याम्पसिया वा एक्ल्याम्पसियाको जोखिम बढाउँछ । लक्षणहरूमा टाउको दुख्ने, आँखा धमिलो हुने, र चक्कर लाग्ने समावेश छन् ।
प्रि–एक्ल्याम्पसिया र एक्ल्याम्पसिया : पिसाबमा प्रोटिन देखिनु र हात–खुट्टा अत्यधिक सुन्निनु प्रि–एक्ल्याम्पसिया र एक्ल्याम्पसियाका लक्षण हुन् । यो गम्भीर अवस्था हो र तत्काल चिकित्सकीय उपचार आवश्यक हुन्छ ।
मधुमेह : २४ देखि ३० हप्ताको बीचमा ग्लुकोज च्यालेन्ज टेस्ट (जीसीटी) मार्फत मधुमेहको जाँच गरिन्छ । किनकी, यो समयमा आमामा मधुमेह हुने जोखिम हुन्छ।
यदि मधुमेह देखियो भने चिन्ता लिनुपर्दैन । चिकित्सकले सिफारिस गरेको उपचारले समयमै नियन्त्रण गरियो भने यसको जटिलताहरू कम गर्न सकिन्छ ।
प्रिटर्म लेबर : विशेष गरी पाठेघरको मुख वा पिसाबको संक्रमण, डायरिया, वा बान्ताका कारण कसैको समयअगावै प्रसव पीडा सुरु हुन सक्छ । यस्तो अवस्थामा बच्चाको पूर्ण विकास नभएको हुनाले विशेष हेरचाह चाहिन्छ ।
बच्चाको गति कम हुनु : यदि बच्चा दशपटकभन्दा कम चल्छ भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
बच्चाको विकास
गर्भावस्थाको सातौं महिनामा बच्चाको विकास आधाभन्दा बढी हुन्छ । यो समयमा बच्चाको मुख्य अंगहरू परिपक्व हुँदै जान्छन ।
तौल र लम्बाइ : बच्चामा बोसोको विकास हुन थाल्छ । बच्चा औसतमा लम्बाइ १४ ३८ देखि ४२ सेन्टिमिट र बच्चाको तौल १ देखि १.५ किलोग्राम पुग्छ ।
फोक्सोको परिपक्वता : २८ हप्तापछि बच्चाको फोक्सोले स्वतन्त्र रूपमा काम गर्न सक्ने क्षमता विकास हुन्छ ।
मस्तिष्कको विकास : मस्तिष्कको विकास तीव्र हुन्छ, जसले बच्चाको संवेदनशीलता र प्रतिक्रियालाई बढाउँछ । बच्चाले बाहिरी आवाज पूर्णरुपमा सुन्ने क्षमता विकास हुने, प्रतिक्रिया दिने र चल्ने गर्छ ।
हाडजोर्नीको विकास : यस अवधिमा बच्चाको हड्डी कडा हुन थाल्छ । यसबाहेक अन्य अंगहरू जस्तै, मुटु, आन्द्रा र अन्य अंगहरूको विकास पनि राम्रोसँग हुन थाल्छ ।
यात्रा र सावधानी
सातौं महिनामा यात्रा गर्न निषेधित त छैन । तर केही सावधानी अपनाउनु आवश्यक हुन्छ ।
छोटो यात्रा : छोटो दूरीको यात्रा गर्न सकिन्छ । तर, सवारी साधन सहज र झट्कारहित हुनुपर्छ । यसका लागि सकेसम्म आफ्नै सवारी प्रयोग गर्नु उचित हुन्छ ।
लामो यात्रा : लामो यात्रा गर्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । यदि कुनै जटिलता छैन भने यात्रा गर्न सकिन्छ ।
हवाई यात्रा : ३४ हप्तासम्म यदि चिकित्सकले अनुमति दिएमा र आवश्यक कागजातहरू पेस गरेमा हवाई यात्रा गर्न सकिन्छ ।
के कस्ता परीक्षण गर्ने ?
यो समयमा नियमित स्वास्थ्य जाँच र परीक्षणहरू गर्नु आवश्यक हुन्छ ।
रक्त परीक्षण : हेमोग्लोबिन, रगतमा चिनीको मात्रा, थाइराइड र कलेजोको कार्यक्षमता जाँच ।
पिसाबको परीक्षण : प्रोटिन वा संक्रमणको उपस्थिति पत्ता लगाउन ।
रक्तचाप जाँच : प्रत्येक भेटमा वा हरेक १–२ हप्तामा रक्तचाप जाँच गर्नुपर्छ ।
अल्ट्रासाउन्ड : बच्चाको तौल, पानीको मात्रा, स्थिति र सालनालको अवस्था जाँच गर्ने ।
खानपान कस्तो गर्ने ?
सातौं महिनामा खानपानमा विशेष ध्यान दिनुपर्छ, किनभने यो समयमा कब्जियत र एसिडिटीको समस्या बढ्न सक्छ ।
— हरियो सागपात, मौसमी फलफूल ।
— प्रोटिनमा दाल, मासु, अण्डा, दूध, र दुग्धजन्य पदार्थ ।
— दिनमा ३ देखि ४ लिटर पानी पिउने ।
— चिकित्सकले सिफारिस गरेका सप्लिमेन्टहरू आइरन र क्याल्सियम नियमित खाने ।
— दिनमा ३ पटक पेट चर्किने गरी होइन, ६ पटक गरेर ठिक्क मात्रामा खाने ।
के नखाने ?
— चुरोट र रक्सी ।
— काँचो मासु, अण्डा, र दूध ।
— अत्यधिक तेल र मसलायुक्त खाना ।
— कफी र चिया पनि सकेसम्म खानुहुँदैन । किनकी, यी पेयले मस्तिष्कलाई उत्तेजित गरी चिन्ता र मानसिक तनाव बढाउन सक्छ ।
चिकित्सकलाई तत्काल भेट्नुपर्ने अवस्था
निम्न लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
— टाउको दुख्ने, आँखा धमिलो हुने वा चक्कर लाग्ने ।
— छाती पोल्ने, वाकवाकी वा बान्ता हुने ।
— बच्चा कम चल्ने (दिनमा १० पटकभन्दा कम)।
— योनीबाट रगत बग्ने वा प्याड भिज्ने अवस्था ।
— हात–खुट्टा देखि योनी अत्यधिक सुन्निनु ।
परिवारको साथ र सहयोग
यो समयमा परिवारको भावनात्मक र शारीरिक सहयोग आवश्यक हुन्छ ।
— घरको काममा सहयोग गर्ने, गर्भवतीलाई पर्याप्त आरामको व्यवस्था गराउने, पौष्टिक खानाको व्यवस्था गर्ने र खान बेलाबखतमा सम्झाउनुपर्छ ।
— गर्भवती महिलालाई प्रेम, समझदारी र सहानुभूतिपूर्ण व्यवहारले मानसिक रूपमा बलियो बनाउँछ ।
ध्यान दिनुपर्ने कुरा
— चिकित्सकले तोकेको समयमा नियमित जाँच गर्ने ।
— हल्का फुल्का व्यायाम, जस्तै १५ देखि २० मिनेटको हिँडनुपर्छ ।
— देब्रे कोल्टे फर्केर सुत्नुपर्छ, जसले रक्तसञ्चारमा सहयोग गर्छ ।
— हल्का संगीत सुन्ने, पढ्ने वा बाहिर घुम्ने ।
— भारी सामान नउठाउने, झट्ट उठ्ने–बस्ने नगर्ने र बिस्तारै उठ्ने ।
प्रतिक्रिया 4