News Summary
Generated by OK AI. Editorially reviewed.- मान्छे बिरामी पर्ने मुख्य कारणहरू वंशाणुगत, सूक्ष्म जीवाणु, रोग प्रतिरोधात्मक क्षमता, खानपान, वातावरण, तनाव, मौसम र सामाजिक कारणहरू हुन्।
- सूक्ष्म जीवाणुहरू भाइरस, ब्याक्टेरिया, प्रोटोजोआ र फंगीले रोग फैलाउँछन् र शरीरको प्रतिरोध क्षमता कमजोर हुँदा रोग लाग्ने सम्भावना बढ्छ।
- मानव विकास र वर्तमान अवस्थालाई हेर्दा, मान्छे कहिल्यै बिरामी नपर्ने कल्पना यथार्थमा सम्भव छैन।
के हुन्थ्यो होला, यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन ।
मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । एकाध कोही अपवाद हुनसक्छन् । बिरामी भएका मान्छेलाई ठिक बनाउन र मान्छेलाई बिरामी हुनै नदिनका लागि संसारमा ठूलो धनराशी खर्च भइरहेको छ । करोडौंको संख्यामा जनशक्तिहरू त्यसमा खटिएका छन् ।
मान्छेलाई बिरामी बनाउने मुख्य कारकहरू के-के हुन त ?
संसारमा मान्छेलाई बिरामी बनाउने हजारौँ कारण हुन सक्छन् । धेरैलाई देखिने समस्याको अनुपातका आधारमा हेर्दा मान्छेलाई बिरामी बनाउने केही मुख्य कारक छन् ।
१.वंशाणुगत/जन्मजात कारण
कतिपय मान्छे जन्मदेखि नै रोग लिएर आएको हुन्छ । बुबाआमाको वंशाणुगत समस्याहरू बच्चामा सर्दा यसले जन्मजात रोग निम्त्याइरहेको हुन्छ । क्यान्सर, मधुमेह वा मुटुरोग भएका आमाबुबाबाट जन्मिएका व्यक्तिमा त्यसको जोखिम बढी हुन्छ ।
कतिपयको जन्मदेखि नै रोगसँग लड्ने क्षमता कमजाेर हुन्छ । रोगसँग लड्ने क्षमता हाम्रो सेता रक्तकोषमा हुन्छ । कुनै-कुनै मान्छेमा जन्मिएदेखि नै सेता रक्तकोषले राम्रोसँग काम नगर्ने हुनसक्छ । कसैकसैको शरीरले रोगसँग लड्ने एन्टिबडी राम्रोसँग उत्पादन गर्न नसक्ने हुन्छ ।
कसैकसैको जन्मिँदै मुटुमा प्वाल परेका हुन्छ । मुटुको कुनै भाग राम्रोसँग विकास नभएको अवस्थामा पनि मान्छेको जन्म हुन्छ । यस्तोमा उनीहरूलाई विभिन्न रोग लाग्ने जोखिम हुन्छ ।
२.हानिकारक सूक्ष्म जीवाणु
केही सूक्ष्म जीवहरू हाम्रो शरीरमा प्रवेश गरी त्यसले बिरामी बनाइरहेको हुन्छ । मान्छेलाई बिरामी बनाउनमा सूक्ष्म जीवहरूको सबैभन्दा धेरै भूमिका हुन्छ ।
मान्छेलाई बिरामी बनाउने सूक्ष्म जीवलाई ४ प्रकारमा विभाजन गरिएको छ, भाइसर, ब्याक्टेरिया, प्रोटोजोआ र फंगी । यी ४ प्रकारका सूक्ष्म जीवाणुले मान्छेलाई बिरामी पारिरहेको हुन्छ ।
भाइरस : भाइरसले लाग्ने रोग अनेकौँ छन् । जस्तो- एन्फ्लुएन्जा, फ्लू, हेपाटाइटिस, जन्डिस, एचआईभी जस्तै थुप्रै रोग भाइरसले गराउँछ । पछिल्लो पटक कोभिड भाइरसले त्यति ठूलो महामारी नै ल्यायो । कतिपय झाडापखाला पनि भाइरसकै कारण हुन्छ ।
ब्याक्टेरिया : अब ब्याक्टेरियाको कुरा गर्दा धेरैलाई हुने समस्या भनेको निमोनिया, टाइफाइड, मेनेन्जाइटिस हो । ब्याक्टेरियाले झाडापखाला पनि गराउँछ ।
प्रोटोजोआ : प्रोटोजोआले सबैभन्दा धेरै गराउने स्वास्थ्य समस्या भनेको पेटमा हो । यसले झाडापखाला गराउँछ । यौन रोग पनि गराउँछ । ट्रिकोमोनास भन्ने जीवाणुले यौनरोग निम्त्याउछ । यो प्रोटोजोआ समूहमा पर्छ ।
फंगी : फंगीबाट देखिन मुख्य समस्या भनेको दाद हो । रोगसँग लड्ने क्षमता राम्रो भएका व्यक्तिमा यसले खासै असर गर्दैन । गम्भीर बिरामी र रोगसँग लड्ने शक्ति नभएका व्यक्तिलाई भने यसले बिरामी बनाउन सक्छ ।
३.रोग प्रतिरोधात्मक क्षमतामा कमी
रोग प्रतिरोधी क्षमताको कुरा गर्दा हाम्रो शरीरमा हुने सेता रक्तकोषको बारेमा बुझ्नु जरुरी हुन्छ । शरीरको रोगप्रतिरोधी क्षमता बन्नमा यसको विशेष भूमिका हुन्छ । यदि हाम्रो शरीरमा सोता रक्तकोष कम भएमा र यसले रोगसँग लड्न एन्टिबडी बनाउन नसकेमा मान्छेलाई धेरै रोग लाग्न सक्छ।
समान्यतया सेता रक्तकोष कम भएमा बाहिरबाट शरीरमा राख्न मिल्छ । एन्टिबडी पनि राख्न मिल्छ । वंशाणुगत रुपमै सेता रक्तकोष कम भएमा बाहिरबाट शरीरमा राख्दा पनि उपचार नै नहुने खालका समस्या पनि हुन्छन् ।
सेता रक्तकोषको एउटा काम भनेको आफैँले गएर शरीरमा प्रवेश गरेका हानिकारक सूक्ष्म जीवाणुहरूलाई मार्छ । अर्को ती जीवाणुविरुद्ध लड्न एन्टीबडी पनि उत्पादन गर्छ । हाम्रो शरीरमा रहेका लिम्फ नोड्स ग्रन्थीहरूले पनि रोगसँग लड्न भूमिका खेलेका हुन्छन् ।
सेता रक्तकोषको प्रभाव र एन्टिबडी उत्पादन क्षमता सबैमा एकै नहुन सक्छ । यस कारण कमजोर रोगप्रतिरोधी क्षमता पनि मान्छेलाई बिरामी बनाइरहने एक मुख्य कारण हो।
४. खानपान/जीवनशैली
मान्छे बिरामी हुनुमा खानपानको ठूलो भूमिका हुन्छ । हाम्रो शरीरलाई अनुकुल नहुने खालका खानेकुरा, आवश्यकता भन्दा बढी खानेकुरा खाँदा मान्छे बिरामी भइरहेको हुन्छ । खानेकुराहरू सही तरिकाले नखाएमा पनि यसले बिरामी बनाउँछ । धुम्रपान, मद्यपान गर्ने, धेरै चिल्लो, नुन धेरै भएका खानेकुरा खाने, बजारका प्रशोधित खानेकुरा धेरै खाने गर्दा पनि विभिन्न स्वास्थ्य समस्या देखिन्छ ।
दैनिक व्यायम नगर्ने, तनावपूर्ण जीवनशैली हुँदा, निद्रा कम हुँदा पनि रोगसँग लड्ने क्षमता घट्न सक्छ । शरीरलाई आवश्यक मात्रामा पोषणयुक्त खाने कुरा नखाने, प्रशस्त पानी नपिउने कारणले पनि बिरामी बनाइरहेको हुन्छ ।
५.वातावरण
प्रदूषण धेरै बढिरहेको हुन्छ । मान्छेले नै गरेको फोहोर र मान्छेकै गतिविधिले उत्पन्न गराएको प्रदूषण मान्छेलाई बिरामी बनाउने प्रमुख मध्येको एक कारक भन्दा फरक नपर्ला । प्रदूषित र फोहोर वातावरणले एक स्वच्छ व्यक्तिलाई बिरामी बनाउँछ । प्रदूषणले गर्भमै रहेको बच्चालाई समेत असर गर्ने कुरा अध्ययनहरूमा देखिएको छ । अन्य विभिन्न किसिमका समस्या आउने भए।
मान्छे अहिले धेरै भीडभाड हुने शहरी क्षेत्रमा बसोबास गरिरहेका हुन्छन् । बजार जाँदा, बाटोमै हिँड्दा पनि एक-अर्कासाग ठोक्किएर हिँड्नु पर्ने अवस्था छ । यस्तोमा संक्रामक रोग लागेका व्यक्तिबाट निरोगी व्यक्तिमा फैलिन सक्छ । दूषित पानी, रासायनिक पदार्थ र विषाक्त पदार्थको सम्पर्कले पनि विभिन्न रोगहरू लाग्ने गर्छ ।
६.तनाव
अहिलेको दुनियाँमा मान्छे एकदमै हतारमा, तनावमा देखिन्छन् । धेरै तनाव हुँदा कर्टिसोल हर्मोन बढी उत्पन्न हुन्छ । यो हर्मोनले रोगसँग लड्ने शक्ति घटाइदिन्छ । तनावले उच्च रक्तचाप बढ्ने, पाचनसम्मबन्धी रोगहरू लाग्ने पनि सम्भावना रहन्छ । तनाव मानसिक रोगहरूको कारण पनि बन्न सक्छ ।
७.मौसम
मान्छेलाई कस्तो मौसम ठिक हुन्छ भन्ने कुरा त्यो कहाँ हुर्किरहेको छ भन्नेमा निर्भर रहन्छ । ऊ कस्तो वातावरणमा फिट हुन्छ भन्ने कुरा । ४५ डिग्री सेल्सियस भन्दा धेरै गर्मी, शून्य डिग्री भन्दा कमको तापक्रममा रहँदा धेरै तातो र धेरै चिसोको असरले मान्छे बिरामी पर्न सक्छ ।
एक खालको वातावरणमा बसिरहेको मान्छे अर्को ठाउँमा जाँदा त्यसमा फिट हुन नसकेर बिरामी परिरहेको हुन्छ । अति धेरे गर्मी र अति धेरै चिसोको कारणले पनि मान्छेमा स्वास्थ्य समस्याहरू देखा पर्ने गर्छ ।
८.सामाजिक कारण
धेरै मान्छे एउटा सानो घरमा कोठामा कोच्चिएर बस्ने गरिरहेका हुन्छन् । यसले पनि रोग सर्ने सम्भावना धेरै देखिन्छ । आर्थिक अभावले रोगसँग लड्नका लागि शरीरलाई आवश्यक पोषकतत्वहरू खान नपाउने अवस्थाले बिरामी बनाइरहेको हुन्छ । शरीरलाई आवश्यकता भन्दा बढी खानेकुराहरू खाने प्रचलनहरू पनि रोगी बनाउने कारण हुन् ।
पिछडिएका समाजमा रुढीवादी परम्परा, अन्धविश्वासका कारण गलत अभ्यास गर्दा पनि रोग बढिरहेको हुन्छ ।
प्रतिक्रिया 4