News Summary
Generated by OK AI. Editorially reviewed.- चेल्सीले बेनफिकालाई ४-१ गोलअन्तरले पराजित गरी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्यो।
- खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा चेल्सीले तीन गोल थप्यो।
- अर्को प्रिक्वाटरफाइनलमा पाल्मेइरासले बोटाफोगोलाई १-० ले पराजित गर्यो।
१५ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेनफिकालाई ४-१ गोलअन्तरले हराउँदै चेल्सी अगाडि बढेको हो ।
खराब मौसमका कारण ढिला गरी सुरु भएर आइतबार विहान मात्र सम्पन्न खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।
निर्धारित ९० मिनेटको खेलमा चेल्सीले अग्रता बनाएपनि इन्जुरी समयमा गोल बेहोरेको थियो । त्यसअघि रीश जेम्सले ६४औं मिनेटमा गोल गरेपछि चेल्सीले खेलमा अग्रता बनाएको थियो भने इन्जुरी समयमा पाएको पेनाल्टीमा एन्जल डिमारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।
अतिरिक्त समयमा चेल्सीले ३ गोल थप्यो । १०८औं मिनेटमा क्रिस नुकुकुले, ११४औं मिनेटमा पेड्रो नेटोले तथा ११७औं मिनेटमा कियरनान दसबरीले गोल गरेपछि चेल्सी ४-१ को जित निकाल्दै अन्तिम ८ मा प्रवेश गर्यो ।
त्यसअघि ९१औं मिनेटमा जियानलुका प्रेस्टानीले रातो कार्ड पाएपछि बेनफिका अतिरिक्त समयमा १० खेलाडीमा सीमित भएको थियो ।
गएराति भएको अर्को प्रिक्वाटरफाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेइरासले ब्राजिलकै प्रतिद्वन्द्वी बोटाफोगोलाई १-० ले हराएर अन्तिम ८ मा पुगेको छ ।
अब क्वाटरफाइनलमा चेल्सी र पाल्मेइरासकै बीचमा खेल हुनेछ ।
प्रतिक्रिया 4