News Summary
Generated by OK AI. Editorially reviewed.- ‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखान सन् १९१३ मा वेल्समा लेखिएको हो।
- स्याउमा पाइने पोलिफेनोल्स र फाइटोकेमिकल्सले मुटु, क्यान्सर, मधुमेह र मोटोपनजस्ता रोगहरू कम गर्न मद्दत गर्छन्।
- अनुसन्धानले देखाएको छ कि नियमित स्याउ सेवनले कोलेस्टेरोल र ग्लुकोज स्तर सुधार गर्न सक्छ, तर स्वस्थ रहन सम्पूर्ण पौष्टिक आहार आवश्यक छ।
‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस् ।’ यो उखान निकै प्रचलित छ । विश्वभर स्याउलाई निकै मन पराइन्छ । विभिन्न रङ र स्वादमा पाइने स्याउले हामीलाई स्वस्थ रहन मद्दत गर्न सक्छ भनिन्छ ।
‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखान सन् १९१३ मा वेल्समा लेखिएको एक भनाइबाट आएको हो, जसमा भनिएको छ, ‘सुत्नुअघि एक स्याउ खानुहोस्, र डाक्टरलाई काम नदिनुहोस् ।’
के अन्य फलहरूको तुलनामा स्याउ स्वास्थ्यका लागि बढी फाइदाजनक छ ?
स्याउ फ्लेभानोल्स सहित फाइटोकेमिकल्सको राम्रो स्रोत हो । यसले धेरै फाइदाहरू प्रदान गर्छ । मुटुलाई स्वस्थ राख्न र तौल घटाउन मद्दत गर्छ । यो स्पष्ट छ कि, यी तत्वहरूले मुटु रोगको जोखिम कम गर्छन् ।
स्याउ स्वास्थ्यका लागि किन यति राम्रो ?
स्याउमा विभिन्न प्रकारका पोलिफेनोल्स हुन्छन्, जसमा एन्थोसायनिन पनि समावेश छ । यो तत्वले स्याउको बोक्रालाई रातो रङ दिन्छ र मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
फ्लोरिड्जिन अर्को पोलिफेनोल हो, जो स्याउमा पाइन्छ । यो रगतमा ग्लुकोजको स्तर नियन्त्रण गर्न उपयोगी पाइएको छ ।
स्याउमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसमा पेक्टिन सबैभन्दा बढी हुन्छ । यो फाइबरले रगतमा कम घनत्वको लिपोप्रोटिन एलडीएल, खराब कोलेस्टेरोलको मात्रा कम गर्छ।
हामीले खानाबाट लिने चिनी र बोसोलाई पेक्टिनले कम गर्छ । यसले रगतमा ग्लुकोजको स्तर स्थिर राख्छ । स्याउमा पाइने यी पोषक तत्वहरू शरीरलाई स्वस्थ राख्न प्रभावकारी देखिन्छन् ।
सन् २०१३ मा गरिएको पाँचवटा अध्ययनको समीक्षाले देखाएको नतिजा अनुसार नियमित स्याउ खाँदा टाइप २ मधुमेहको जोखिम २३ प्रतिशतसम्म कम हुन सक्छ ।
सन् २०२२ मा गरिएको १० वटा अध्ययनको अर्को समीक्षा अनुसार स्याउ खाने वा स्याउको जुस पिउँदा कोलेस्टेरोलको स्तर कम हुन सक्छ । तर यो तबमात्र प्रभावकारी हुन्छ, जब यो बानीलाई एक हप्ताभन्दा बढी समयसम्म कायम राखिन्छ ।
सामान्यतया, पौष्टिक खानाले क्यान्सरको जोखिम २० प्रतिशतसम्म कम गर्छ । पौष्टिक खानामा पाइने बायोएक्टिभ कम्पाउन्ड र फाइटोकेमिकल्सले यो जोखिम कम गर्न मद्दत गर्छन् । तर ठूलो प्रश्न यो छ कि, के स्याउ अन्य बोटबिरुवाबाट प्राप्त हुने खाद्य पदार्थहरूभन्दा राम्रो छ ?
अमेरिकाको मिडिल टेनेसी विश्वविद्यालयकी पोषण र खाद्य विज्ञानकी प्राध्यापक जेनेट कोलसन भन्छिन्, ‘स्याउमा भिटामिन सी धेरै हुँदैन । आइरन र क्याल्सियम पनि धेरै हुँदैन । तर यसमा अन्य धेरै तत्वहरू छन्, जुन राम्रो स्वास्थ्य कायम राख्न प्रभावकारी हुन्छन् ।’
इटलीको भेरोना विश्वविद्यालयको प्लान्ट बायोलोजी विभागकी सहप्राध्यापक फ्लेभिया गूजो भन्छिन्, स्याउमा धेरै यस्ता कम्पाउन्डहरू छन्, जो अन्य फलफूल र तरकारीहरूमा पनि समान रूपमा पाइन्छन् । यी कम्पाउन्डहरूमा लाभदायक पोलिफेनोल्स पनि समावेश छन् ।
पोलिफेनोल्स शक्तिशाली एन्टिअक्सिडेन्ट अणुहरू हुन् । यी हाम्रो शरीरमा एन्टिअक्सिडेन्ट र फ्री रेडिकल्सको अनुपातलाई सन्तुलनमा राख्न मद्दत गर्छन् । फ्री रेडिकल्स तीव्र प्रतिक्रिया गर्ने र कोशिकालाई हानि पुर्याउने अक्सिजन अणुहरू हुन् ।
फ्री रेडिकल्सलाई नियन्त्रणमा राखेर हामी लामो समयसम्म क्यान्सर र मुटुको रोगलाई बढ्नबाट रोक्न सक्छौँ । स्याउले क्यान्सर, दम, मधुमेह र मोटोपनजस्ता समस्याहरू कम गर्न सकिन्छ ।
केही अनुसन्धानकर्ताका अनुसार स्याउमा अन्य फलहरूको तुलनामा एन्टिअक्सिडेन्ट बढी हुन्छ । एन्टिअक्सिडेन्टको हिसाबले यो दोस्रो नम्बरको फल हो ।
स्याउ फेनोलिक कम्पाउन्डको पनि राम्रो स्रोत हो, जुन फाइटोकेमिकलको अर्को रूप हो । एक अध्ययन अनुसार अमेरिकाका मानिसहरूले आफ्नो फेनोलिक आवश्यकताको २२ प्रतिशत स्याउबाट पूरा गर्छन् । अनुसन्धान अनुसार स्याउमा पाइने फेनोलिक कम्पाउन्डहरूले मुटुको रोग, क्यान्सर, दम, मधुमेह र मोटोपनजस्ता समस्याहरूलाई कम गर्न सक्छन् ।
वैज्ञानिकहरूले स्याउलाई अन्य फलहरूको तुलनामा खान सिफारिस गर्नुको कारण यो होइन कि, यसमा शक्तिशाली पोलिफेनोल्स र एन्टिअक्सिडेन्टहरू छन् । स्याउ खान सिफारिस गर्नुको कारण यो हो कि, यो सजिलै उपलब्ध हुन्छ र धेरैजसो मानिसहरूको पहुँचमा हुन्छ ।
यो स्पष्ट छ कि स्याउमा हाम्रो स्वास्थ्यलाई सुधार्ने क्षमता छ । दिनमा एक स्याउ खाँदा डाक्टरबाट टाढा रहन सकिन्छ, भन्नु ठूलो दाबी हो ।
सन् २०१५ मा गरिएको एक अध्ययनले यो प्रश्नको जवाफ दिन्छ । अनुसन्धानकर्ताहरूले ८,३९९ मानिसहरूमा अध्ययन गरे, जसमा उनीहरूले पछिल्लो २४ घण्टामा के खाएका थिए भनेर सोधिएको थियो ।
स्याउ खाने मानिसहरू स्याउ नखानेहरूको तुलनामा डाक्टरकहाँ कम जाने तथ्य यो अध्ययनले देखाएको थियो । तर यो नतिजा तथ्यांकको हिसाबले पूर्णरूपमा सही मान्न सकिँदैन । किनकी स्याउ खाने मानिसहरू बढी शिक्षित हुन सक्छन् र सामान्यतया धूम्रपान नगर्ने हुन सक्छन् ।
‘दिनमा एक स्याउ खानुहोस्, फार्मासिस्टबाट टाढा रहनुहोस्’
दिनमा स्याउ खाने र डाक्टरकहाँ जाने सम्भावनाबीच खासै सम्बन्ध नपाइएको अमेरिकाको न्यू ह्याम्पशायर स्थित डार्टमाउथ गीसेल स्कूल अफ मेडिसिनमा महामारी विज्ञानका सहायक प्राध्यापक म्याथ्यू डेभिस बताउँछन् ।
उनी भन्छन्, ‘हाम्रो विश्लेषणको आधारमा यो निष्कर्ष निस्कियो कि, स्याउ खाने मानिसहरू सामान्य रूपमा स्वस्थ हुन्छन्’
तर अनुसन्धानकर्ताहरूले दिनमा स्याउ खाने मानिसहरू औषधिमा निर्भर हुने सम्भावना कम हुन्छ भन्ने पाए । यो निष्कर्ष तब पनि महत्वपूर्ण रह्यो जब सहभागीहरूको सामाजिक–आर्थिक स्तरको आधारमा विश्लेषण गरियो ।
त्यसैले अनुसन्धानको निष्कर्ष छ कि, उखानलाई अलिकति परिवर्तन गर्न सकिन्छः ‘दिनमा एक स्याउ खानुहोस्, फार्मासिस्टबाट टाढा रहनुहोस् ।’
यद्यपि, डेभिसलाई ‘दिनमा एक स्याउ’ भन्ने उखानसँग केही आपत्ति छ । उनी भन्छन्, सम्भवतः उनीहरूले र उनका सहकर्मीहरूले दिनमा स्याउ खाने र डाक्टरकहाँ जाने बीच ठोस सम्बन्ध नपाउनुको कारण अरू कुराहरू पनि हुन सक्छन् ।’
‘यो उखानमा लुकेको धारणा यो हो-मानिसहरू डाक्टरकहाँ तबमात्र जान्छन् जब उनीहरू बिरामी हुन्छन्’ डेभिस भन्छन्, ‘तर मानिसहरू वार्षिक स्वास्थ्य जाँच र रोगहरूको रोकथामका लागि सल्लाह लिन पनि डाक्टरकहाँ जान्छन् ।’
कि स्याउ खाएर मात्र डाक्टरकहाँ जानु पर्दैन भन्ने धारणा गलत नभएको उनी बताउँछन् । स्वस्थ रहनका लागि स्याउ खाएर मात्रै नहुने सम्पूर्ण खाना पौष्टिक र स्वस्थ हुनुपर्ने डेभिसले स्पष्ट पारे।
कोलसन पनि यो कुरासँग सहमत छिन् ।
‘दिनमा एक स्याउ’भन्ने उखानको अर्थ मानिसहरूले नियमित रूपमा बोटबिरुवाबाट प्राप्त खाना खानुपर्छ भन्ने रहेको कोलसनको भनाइ छ । स्याउ यसको राम्रो उदाहरण हो किनभने यो सजिलै उपलब्ध हुन्छ, किफायती छ र लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।
दिनमा कति स्याउ खानुपर्छ ?
दैनिक स्याउ खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने कुरा अन्य अनुसन्धानहरूले पनि देखाएको छ । तर यो तबमात्र हुन्छ, जब मानिसहरूले दिनमा एकभन्दा बढी स्याउ खान्छन् ।
दिनमा तीन वटा स्याउ खाँदा मानिसहरूको तौल घटेको एक अध्ययनले देखाएको छ । सन् २०२० मा प्रकाशित एक अध्ययनमा अनुसन्धानकर्ताहरूले ४० सहभागीहरू लिए। जसको कोलेस्टेरोल स्तर अलिकति उच्च थियो र त्यसलाई दुई समूहमा विभाजन गरे ।
एउटा समूहलाई दिनमा दुई स्याउ खान भनियो, अर्को समूहलाई उही क्यालोरी भएको स्याउबाट बनेको पेय दिइयो । यो प्रयोग आठ हप्तासम्म चल्यो र सहभागीहरूले स्याउ वा स्याउको पेयबाहेक आफ्नो खानपानमा कुनै परिवर्तन गरेनन् ।
स्याउ खाने सहभागीहरूको कोलेस्टेरोल स्तर अध्ययनको अन्त्यमा उल्लेखनीय रूपमा कम भएको पाइएको थियो । यद्यपि, यो अध्ययनको एक कमजोरी के हो भने यसमा जम्मा ४० सहभागी थिए, जुन ठूलो निष्कर्षमा पुग्न आवश्यक नमुना संख्याभन्दा कम हो ।
दिनमा तीन स्याउ खाँदा तौल घट्छ र रगतमा ग्लुकोजको स्तरमा सुधार हुन्छ भन्ने अर्को अध्ययनले देखाएको थियो । यो अध्ययन ४० के.जी भन्दा बढी तौल भएका महिलाहरूमाथि गरिएको थियो ।
स्याउ खाने सबैभन्दा राम्रो तरिकाको कुरा गर्दा, अनुसन्धानकर्ताहरू भन्छन् कि, स्याउको बोक्रा ननिकाल्नु हुँदैन, किनभने स्याउको बोक्रामा धेरै पोषक तत्व र एन्टिअक्सिडेन्टहरू हुन्छन् ।
फ्लेभिया गूजो भन्छिन्, ‘स्याउको बोक्रासहित खानुपर्छ, किनभने स्याउका अधिकांश पोलिफेनोल्स त्यहीँ पाइन्छन् ।’ उनका अनुसार, जति पुरानो प्रजातिको स्याउ हुन्छ, त्यो नयाँ प्रजातिको भन्दा राम्रो हुन्छ ।
सन् २०२२ मा, उनले र उनका सहकर्मीहरूले एउटा अनुसन्धान पत्र प्रकाशित गरेका थिए, जसमा उत्तरी इटालीमा पाइने ‘पोम प्रुसियन’नामक पुरानो स्याउको अध्ययन गरिएको थियो । यो प्रजातिमा आधुनिक स्याउहरूको तुलनामा बढी पोलिफेनोल्स रहेको पाइएको थियो ।
उनी भन्छिन्, ‘तर जब स्याउका नयाँ प्रजातिहरू बनाइन्छ, सामान्यतया अन्य गुणहरूमा ध्यान दिइन्छ, जस्तै-: आकार, स्वाद र रूखको बलियोपन । रङको कुरा गर्दा, त्यसको खासै महत्व छैन । स्याउको बोक्रालाई रातो वा हरियो रङले प्रभाव पार्छ ।’
दिनमा एक स्याउ खानुले डाक्टरकहाँ जाने आवश्यकतालाई कम नगर्ला, तर यसले समग्र स्वास्थ्य र लामो समयसम्म औषधिमा निर्भरतामा अवश्य प्रभाव पार्न सक्छ ।
गूजो भन्छिन्-दिनमा एक स्याउ खानु फाइदाजनक छ, तर यो तबमात्र हुन्छ जब यो विभिन्न बोटबिरुवामा आधारित खाद्य पदार्थहरू समावेश भएको आहारको हिस्सा हो । किनभने यही नै राम्रो स्वास्थ्यको वास्तविक आधार हो ।
प्रतिक्रिया 4