+
+
Shares

कुस्ती खेलाडीका छोरा कसरी भए बाँसुरी सम्राट ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीत क्षेत्रमा बाँसुरी वादनमा उनले आफ्नो अनौठो स्थान बनाएका छन् र विश्वभर चर्चा पाइरहेका छन्।
  • उनले बाल्यकालदेखि नै संगीतप्रति आकर्षित भएर बाँसुरीलाई आफ्नो मुख्य बाजा बनाएका हुन्।
  • उनको बाँसुरी वादनले आत्मिक अनुभूति र आध्यात्मिक प्रभाव प्रदान गर्दछ।

संगीत वृत्तमा बाँसुरी वादनको चर्चा होस् र पण्डित हरिप्रसाद चौरसियाको नाम नआओस्, यो असम्भवजस्तै छ । किनकि बाँसुरी वादनमा उनले आफूलाई जमाएका छन् । परिपूरक बनाएका छन् । लिप्त बनाएका छन् ।

उनको बाँसुरी वादनको चर्चा भारत मात्र नभएर विश्वभर नै हुन्छ । अनि पण्डित चौरसियामा आज पनि बाँसुरीप्रति त्यही जोश र समर्पण देखिन्छ, जुन उनका सुरुवाती दिनहरूमा हुन्थ्यो ।

हिन्दीसहित उनले तामिल, तेलुगु र मलयालम चलचित्रहरूमा संगीत भनेरका छन् । अझ फिल्म तथा संगीत वृत्तमा त उनको सांगीतिक जोडीको पनि उत्तिकै चर्चा हुने गर्छ ।

उनले प्रसिद्ध सन्तूर वादक पण्डित शिवकुमार शर्मासँग मिलेर ‘शिव-हरि’ नामको सांगीतिक जोडी बनाएका थिए । यस जोडीले ‘सिलसिला’, ‘चाँदनी’, ‘लम्हे’ र ‘डर’ जस्ता सुपरहिट चलचित्रहरूमा संगीत दिएका छन् ।

त्यति मात्र होइन ‘द बिटल्स’ सहितका विश्वचर्चित कलाकारहरूसँग पनि उनले धेरै कन्सर्टहरू गरेका छन् ।

बाल्यकाल र संगीत

उनको जन्म भारतको उत्तर प्रदेशमा अवस्थित प्रयागराजमा भएको थियो । बुबा कुस्ती खेलाडी थिए । स्वभाविक रूपमा उनले छोरालाई आफू जस्तै बनाउन चाहन्थे । उनले छोरालाई कुस्ती देखाउन पनि लैजाने गर्थेँ ।

खेल हुने समयमा बाहिरबाट ठूल्ठूला शरीर भएका कुस्ती खेल्ने मान्छेहरू आउँथे । म सानै थिएँ । बुबाले मलाई पाखुरामा बोकेर खेल देखाउन लैजानुहुन्थ्यो । तर मलाई कुस्ती पटक्कै मन पर्दैनथ्यो,’ उनी भन्छन्, ‘मलाई त्यो एक प्रकारको लडाइँ जस्तो लाग्थ्यो’

त्यसमा बुबाको सोच ठिक विपरीत उनी संगीतमा केही गर्न चाहन्थे । उनको संगीतप्रतिको मोहलाई प्रकट गर्ने विद्यालयमा थियो । उनका अनुसार विद्यालयमा कुनै अफिसरहरू आउँदा वा कार्यक्रम हुँदा प्रिन्सिपल केदारनाथ गुप्ताजीले उनलाई गाउन लाउथे ।

‘म पढाइमा खासै राम्रो थिइनँ । तर संगीतकै कारण म पास हुन्थें । म्याट्रिक पछि मलाई जागिर पनि मिलेको थियो’ उनी सुनाउँछन् । तर जागिरमा पनि उनले संगीत छाडेनन् । यदि कार्यालयमा भेटिएनन् भने उनलाई खोज्न स्टुडियो पुग्दा हुन्थ्यो । त्यहाँ उनी बाँसुरी बजाइरहेका भेटिन्थे ।

सांगीतिक करियरमा जागिर बाधा बनेपछि उनले काम नै छाडिदिए ।

बाँसुरी नै किन ?

पण्डित हरिप्रसाद चौरसियाले भारतीय शास्त्रीय संगीतमा बाँसुरीलाई नयाँ परिचय दिएका छन् । अनि उनका लागि बाँसुरी सामान्य बाजा होइन । देवता हो । उनी आफैंले भनेका छन्, ‘म बाँसुरीको पूजा गर्छु’

किन ? यसको उत्तर पनि रोचक छ । बाल्यकालदेखि नै उनी संगीतमा केही गर्न चाहन्थे । गाउन खोज्थे । तर उनको सुर लाग्दैनथ्यो । त्यसो हुँदा उनले बाँसुरी रोज्न पुगे ।

‘भगवानले मलाई राम्रो स्वर दिएनन् । सरोद वा सितारजस्ता महँगा बाजा किन्न पैसा थिएन ।

बाँसुरी मात्र एक विकल्प थियो,’ बाँसुरी नै किन भन्ने प्रश्नमा उनी भन्छन्, ‘भगवान श्रीकृष्णसँग पनि पैसा त थिएन होला । उनले पनि बाँसको एउटा टुक्रा लिए । प्वाल पारे अनि बजाउन थाले । न तार चाहियो, न धेरै खर्च । मेरो मन त्यतैतिर गयो’

विशेषत: अभाव र आवश्यकताले उनले बाँसुरी बजाउन पुगे । ‘बाँसुरीको सुर अन्य बाजाहरू जस्तो मिलाइरहनु पर्दैन । यसको विशेषता नै यही हो,’ उनी भन्छन् ।
तर बाँसुरीप्रतिको उनको लगाव व्यवहारिक नभई आत्मिक पनि छ । जब उनले बाँसुरी बजाउँछन्, त्यसले कानमात्र प्रसन्न बनाउँदैन, आत्मालाई नै छोइहाल्छ ।

सांगीतिक भ्रमण

पण्डित चौरसियाको पहिलो सांगीतिक विदेश यात्रा पनि कम्ता चाखलाग्दो छैन । किनकि कार्यक्रममा जानेबेलासम्म उनले पासपोर्ट बनाएका थिएनन् । तर, उनको कार्यक्रम रोयल अल्बर्ट हल, लन्डनमा हुँदै थियो । भलै सांगीतिक टुर त हेमन्त कुमारको थियो ।

त्यहाँ उनीहरूलाई सुन्न जर्ज हेरीसन, टम स्कोल्ज र बिली प्रेस्टन जस्ता चर्चित व्यक्तिहरू आएका थिए । यसरी सुरु भएको उनको सांगीतिक भ्रमण कालान्तरमा विश्वभर हुन गयो ।

चलचित्रमा प्रवेश

पण्डित चौरसिया ओडिशाको कटकबाट मुम्बईमा भर्खरै सरेका थिए । त्यहाँ उनले अल इण्डिया रेडियोमा काम गर्थे । मुम्बई आएको केही हप्तामै त्यहाँ बस्न सजिलो नहुने उनले बुझे । किनकि उनको तलब मात्र १६० रुपैयाँ थियो । त्यो पैसा यातायातमै सकिन्थ्यो । बाँकी खर्च पुर्‍याउन धौधौ पर्थ्यो ।

संयोगवश एकदिन उनले रेकर्डिङमा बाँसुरी बजाउने मौका पाए । त्यो बेला मदन मोहनको रेकर्डिङ चलिरहेको थियो । गायक तलत महमूद थिए । बाँसुरी वादक आइपुगेका थिएनन् ।

त्यसैले उनलाई बाँसुरी बजाउन अवसर आयो । उनले कुनै नाईं नास्ती नगरी बाँसुरी बजाए । त्यसपछिका दिनमा फिल्मी गीतहरूमा पनि उनको बाँसुरीको धुन गुञ्जिन थाल्यो । ‘त्यो दिनदेखि अहिलेसम्म यात्रा रोकिएको छैन । सबै फिल्मी कलाकारहरूले माया दिनुभयो । सबैजनाले ‘हरिप्रसाद’ नआए रेकर्डिङै हुँदैन भन्नुहुन्थ्यो’ उनी आफ्नो गौरव सुनाउँछन् ।

हुन पनि हो, उनले उद्योगका सबै चर्चित नामका लागि बाँसुरी बजाएका छन् ।

विशेषत: उनको संगीत गहिरो, आत्मीय, शुद्ध र भावनाले भरिएको हुन्छ । उनले बजाउने बाँसुरीको धुनले शान्त, ध्यानमग्न र आध्यात्मिक अनुभूति दिन्छ । ती सुनिरहँदा लाग्छ, उनी बाँसुरी नै बजाउन लागि धर्तीमा आएका हुन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?