
‘गुरु गोविन्द दोउ खडे, काके लागूं पाय । बलिहारी गुरु आपने, गोविन्द दियो बताय ।’
तीन वर्षअघिको कुरा हो । म एक अनभिज्ञ, अलमलिएको, डराएको बालरोग रेसिडेन्ट थिएँ । हात काँपिरहेको थियो जब मैले पहिलोपटक एक नवजात शिशुलाई छुन खोजें । स्टेथोस्कोपको धड्कनभन्दा बढी मेरो मुटुको धड्कन सुनिन्थ्यो ।
तर त्यो क्षणमै, मलाई एक जोडी नजरको अनुभूति भयो– गम्भीर, करुणामय र आत्मविश्वासले भरिएको । उहाँ हुनुहुन्थ्यो– मेरो गुरु ।
आज गुरु पूर्णिमाको पावन अवसरमा, म श्रद्धाले नतमस्तक भएर ती गुरुलाई सम्झन्छु, जसले मलाई केवल किताब पढ्न होइन, जीवन बुझ्न सिकाउनु भयो ।
गुरु पूर्णिमा के हो ?
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । त्यसैले हिन्दू धर्मग्रन्थहरूमा लेखिएको छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर:
गुरु: साक्षात् परब्रह्म तस्मै श्री गुरवे नम:
माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानिन्छ र ‘आचार्यदेवो भव’ भनिन्छ । अर्थात्, गुरु तपाईंको जीवनमा सबैभन्दा पूजनीय हुनुहुन्छ ।
गुरु पूर्णिमा हिन्दू, बौद्ध र जैन धर्ममा अत्यन्तै महत्वपूर्ण दिन हो । यो दिन ऋषि वेदव्यासको जन्म भएको दिन मानिन्छ– जसले वेदलाई वर्गीकरण गरी मानव समाजलाई ज्ञानको अमूल्य उत्तराधिकार दिए । त्यसैले उहाँलाई आदि गुरु मानिन्छ । हिन्दू धर्ममा, आजकै दिनलाई ‘गुरु वन्दना’को पावन समय मानिन्छ ।
बौद्ध धर्ममा, बुद्धले आफ्नो पहिलो उपदेश यही दिन दिएका थिए–धम्मचक्र प्रवर्तन ।
जैन धर्ममा, भगवान महावीरका शिष्य गौतमगणधरले ज्ञान प्राप्त गरेको दिन पनि यही हो ।
यस दिन हामी ती सबै गुरुप्रति आभार प्रकट गर्छौं, जसले हाम्रो जीवनमा उज्यालो ल्याए । यो पर्व श्रद्धा हो, शिक्षाको सम्मान हो र आत्मा स्पर्श गर्ने प्रेरणा हो ।
गुरु पूर्णिमा र बाल स्वास्थ्यको सम्बन्ध
बालस्वास्थ्य भनेको केवल बिरामीको उपचार होइन, भविष्यको बनोट हो । बालबालिकाको हरेक सासमा, उनीहरूको विकास, पोषण, मनोविज्ञान र भविष्यको आधार समेटिएको हुन्छ ।
तर के डाक्टर मात्र भएर त्यो जिम्मेवारी पुरा गर्न सकिन्छ ? हुने थिएन, यदि गुरुहरूले मलाई केवल औषधिको मात्र होइन, बालबालिकाको संवेदनालाई बुझ्ने आँखा नदिएको भए ।
उहाँहरूले सिकाउनुभयो– हरेक रुँदै आएका बच्चा पछाडि एउटा कथा हुन्छ, हरेक लाज मान्ने आमा पछाडि स्वास्थ्य शिक्षा अभाव हुन्छ, हरेक कुपोषित बच्चा पछाडि एउटा सामाजिक पृष्ठभूमि हुन्छ ।
गुरुहरूले मलाई सिकाए– बाल स्वास्थ्यलाई उपचार होइन, संरक्षण र प्रेरणा चाहिन्छ । र त्यसका लागि, डाक्टरले शिक्षकको मन, अभिभावकको दृष्टि र सेवकको मनोवृत्ति राख्नुपर्छ ।
आज म जसरी बच्चालाई हेरिरहेको छु, त्यो केवल एमबीबीएस वा एमडीबाट होइन, मेरा गुरुहरूले देखाएको दृष्टिकोणबाट सम्भव भएको हो । बालस्वास्थ्यमा हरेक परिवर्तनको बीउ, गुरुको शिक्षाबाट रोपिन्छ ।
उहाँ शिक्षक मात्र होइन, अभिभावक हुनुहुन्थ्यो
एकदिन २४ घण्टे निन्द्राविहीन ड्युटीपछि म थकित थिएँ । त्यत्तिकैमा एउटा गम्भीर बिरामी बच्चा ल्याइयो । मेरो निर्णय ढिलो भयो, गल्ती भयो । म कच्याक्क गलेको थिएँ ।
तर आश्चर्य ! उहाँ चिच्याउनु भएन, कराउनु भएन । उहाँले मलाई शान्त रूपमा कुनामा लगेर भन्नुभयो– थकाइ त शरीरको हो, जिम्मेवारी त आत्माको हो । बच्चाले तिमीमा डर होइन, आशा देख्नुपर्छ । डाक्टरको सबैभन्दा ठूलो औषधि भनेकै विश्वास हो ।
त्यसपछि म भित्रभित्रै परिवर्तन हुँदै गएँ । मैले पाठ्यपुस्तकमा नभएको एउटा अध्याय पढ्न थालें– संवेदनाको चिकित्सा ।
बुबा–आमा : मेरा पहिलो गुरु
गुरु पूर्णिमाको दिन मेरा बुबा–आमा पनि श्रद्धाका पात्र हुनुहुन्छ ।
उहाँहरूले मलाई अक्षर मात्र होइन, जीवनको पहिलो मूल्य र आस्था सिकाउनु भयो– ईमानदारी, परिश्रम र नम्रता ।
बुबाले सिकाउनु भएको थियो– तिमी जुनसुकै ठूलो बन्नु, तर मानिसलाई सानो नठान्नू ।
आमाले हरेक बिहान म पढ्न निस्किँदा भन्नुहुन्थ्यो– आज कोही तिमीबाट उपचार होइन, सम्बोधनको आशा लिएर आउँछ ।
यी संवादहरू मसँग सधैं छन्– हस्पिटल कोट भित्र, स्टेथोस्कोपको डोरीसँग गाँसिएका ।
आज म एक परिपक्व र जिम्मेवार बालरोग विशेषज्ञ हुँ । ती हिच्किचाएका हातहरू, डरले भरिएको हृदय र आत्मविश्वासको अभाव भएको विद्यार्थी ।
आज म अनुभवी छु, ज्ञानमा समृद्ध छु, निर्णयमा निडर छु । आज म एक सम्पूर्ण, आत्मविश्वासी र संवेदनशील पेडेट्रिसियन बनेको छु– जहाँ डिसिजन एभिडेन्स बेस्ड हुन्छ, तर व्यवहार दिलबाट ।
तर यो रूपान्तरण केवल डिग्रीले आएको होइन, गुरुका शिक्षाले र बुबा–आमाको संस्कारले सम्भव भएको हो ।
मेरो सपना : ज्ञान होइन, संस्कार बाँड्ने गुरु बन्नु
अब मेरो पनि सपना छ– मेरा गुरुले जस्तो म पनि एउटा प्रेरणादायी शिक्षक बनूँ जसले केवल ‘पाठ’ होइन, ‘पथ’ देखाओस् ।
एक डराएको विद्यार्थीलाई न्यानो आत्मबल दिऊँ, ताकि ऊ पनि कुनै दिन ‘उपचारक’ मात्र नभएर ‘उपस्थिति’ बनोस् ।
अन्त्यमा: गुरु र अभिभावक सम्झनु मात्रै होइन, उहाँजस्तो बाँच्न सक्नुपर्छ । आज म जुनसुकै बिरामीको उपचारमा व्यस्त छु, त्यसको हरेक धड्कनमा गुरुले दिएको आत्मबल र बुबा–आमाले दिएको संस्कार मिसिएको हुन्छ । गुरुलाई फूलले होइन, व्यवहारले सम्मान गर्नु हो ।
बुबा–आमालाई धन्यवाद भन्न पत्र लेख्नुपर्दैन । उहाँहरूको सपना पूरा गरेर देखाउनु नै साँचो श्रद्धाञ्जली हो ।
गुरुदेव, तपाईंलाई नमन । बुबा–आमा, तपाईंलाई नि:शब्द धन्यवाद ।
र मेरो जीवनमा परिवर्तन ल्याउने हरेक व्यक्तित्व– मेरा शिक्षक, सिनियर, क्लिनिकल गाइड, सहपाठी, र बिरामी बालबालिका समेत– जस–जसले मलाई आजको म बनाउनु भयो, ती सबै गुरुहरूलाई श्रद्धा र नमन ।
मेरो हरेक सफल उपचार तपाईंहरूको छायाँ हो । मेरो हरेक सही निर्णय तपाईंहरूको शिक्षा हो । र, आज म जुन छु– त्यो तपाईंहरूको आशीर्वाद हो ।
(डा. पाण्डे बालरोग विशेषज्ञ हुन् ।)
प्रतिक्रिया 4