+

यू–१६ इस्ट जोन कप विजेतालाई लुम्बिनी प्रदेश सरकारद्वारा सम्मान

२०८२ असार  २६ गते १३:३० २०८२ असार २६ गते १३:३०
यू–१६ इस्ट जोन कप विजेतालाई लुम्बिनी प्रदेश सरकारद्वारा सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यू–१६ इस्ट जोन कप जितेका दुई खेलाडी र एक प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ।
  • प्रदेश खेलकुद परिषद्ले प्रति खेलाडी एक लाख र प्रशिक्षकलाई पचास हजार रुपैयाँ प्रदान गरेको छ।
  • प्रदेश खेलकुद परिषद्का सदस्य सचिव टिरनदाज गौतमले खेलाडी र प्रशिक्षकलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका छन्।

२६ असार, दाङ । लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यू–१६ इस्ट जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्ले प्रति खेलाडी एक लाख र प्रशिक्षकलाई पचास हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो ।

बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित एक कार्यक्रममार्फत प्रदेश खेलकुद परिषद्का सदस्य सचिव टिरनदाज गौतमले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लमहीका शुभम खनाल, कृष्णनगर कपिलवस्तुका रौनक श्रीवास्तव र घोराहीका प्रशिक्षक पुरणसिंह खत्रीलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका हुन् ।

खेलाडी खनाल र श्रीवास्तवले जनही एकलाख रुपैयाँ तथा प्रशिक्षक खत्रीले पचास हजार रुपैयाँ सम्मान स्वरूप प्राप्त गरेका छन् । सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरलगायतको उपस्थिति थियो ।

सदस्य सचिव गौतमले खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह थप्नका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए । ‘खेल क्षेत्रको विकासका लागि खेलाडीहरूमा उत्साह थपिन जरुरी छ । प्रदेश सरकारले सबै खेल क्षेत्रलाई समान दृष्टिकोणले सहयोगको हात बढाइरहेको छ । प्रदेश सरकारले यसैगरी खेल क्षेत्रको विकासमा भूमिका बढाइरहेको छ’ उनले भने ।

सम्मान प्राप्त खेलाडी तथा प्रशिक्षकहरूले प्रदेश सरकारको यो कदमले आफूहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।

यू-१६ इस्ट जोन कप सम्मान
लेखक
शिवु खनाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय