
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समिति सार्वजनिक गरिएको छ।
- समितिले नेकपा एमालेको वैचारिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) बारे विमर्श गर्ने लक्ष्य लिएको छ।
- विद्यादेवी भण्डारीले एमाले अध्यक्षमा आफूलाई जिम्मेवारी दिन केन्द्रीय कमिटी बैठकको निर्णयमा भर पर्ने बताएकी छन्।
३१ असार, काठमाडौं । सत्ता सन्चालक नेकपा एमालेका लागि आफ्ना वैचारिक गुरु मदन भण्डारीको जन्मजयन्ती मनाउने कुरा जहिले पनि उल्लासको क्षण बन्ने गर्थ्यो । आगामी जयन्ती भने पार्टी संस्थापनका लागि चुनौतीपूर्ण क्षण बन्ने संकेत सुरु भएका छन् ।
यसको छनक मंगलबार मिल्यो, जहाँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समिति सार्वजनिक गरियो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको समितिमा सुशील प्याकुरेल र गणेशमान गुरूङ सह–संयोजक अनि भेषराज अधिकारी सचिव छन् ।
७२ जनाको नामावली सार्वजनिक गरिएको यो समितिमा अरु सदस्य थपिंदै जाने जानकारी दिइएको छ । फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिवादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) बारे विमर्श गर्नु यो समितिको उद्देश्य रहेको बताएकी छन् ।
‘यस सिद्धान्तको आलोकमा सम्पादित कार्यहरूले जनताको मन जितिरहेका छन् र यस सिद्धान्तको कार्यान्वयन गरिरहेको पार्टी नेकपा एमाले विस्तारित र लोकप्रिय बनिरहेको छ’ अध्यक्ष भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तर सिद्धान्तले अवलम्बन गरेको लक्ष्यको सापेक्षतामा संगठन सुदृढीकरण अभियान सशक्त बन्न सकेको छैन । विस्तार र सबलताको लागि जननेताको योगदान र जबजको प्रचार अति आवश्यक छ ।’
मदन भण्डारीको हीरक जयन्ती विशेष यो समितिको संरक्षकमा पूर्वराष्ट्रपति भण्डारी एक्लै छिन् । सल्लाहकारहरूमा महेन्द्रबहादुर पाण्डे, सोमनाथ अधिकारी प्यासी, युवराज कार्की र बाचस्पति देवकोटा छन् । अर्थात् यो समितिले जबज, एमाले र एमालेभित्रको राजनीतिक कोर्सबारे विमर्श गर्ने लक्ष्य लिएको देखिन्छ ।
विशेषगरी पार्टीभित्रको लोकतान्त्रीकरणबारे यो फोरममा धेरै छलफल हुने सहज अनुमान लगाउन सकिन्छ । ‘जबजको महत्वपूर्ण आयामको रुपमा रहेको पार्टी जीवनको लोकतान्त्रीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्ने विषयलाई आत्मसाथ गर्नुपर्छ । यसबाट जननेताको बहुआयामिक व्यक्तित्व नयाँ पुस्तामा उजागर भई उहाँको योगदानबाट प्रभावित भएर त्यो पुस्ता राजनीतितर्फ आकर्षित हुनेछ’, वक्तव्यमा भनिएको छ ।
एमालेभित्र अहिले जस्तो राजनीतिक संघर्ष चलिरहेको छ, त्यो पृष्ठभूमिमा रहेर हेर्दा यो फोरमको प्रष्ट पक्षधरता पूर्वराष्ट्रपति भण्डारीतर्फ हुने लुक्दैन । समितिको संरक्षक, सल्लाहकार र सदस्यहरूमा विद्या भण्डारीलाई एमालेका भावी अध्यक्ष बनाउन वकालत गर्नेहरू राखिएका छन् ।
हीरक जयन्ती जस्तो विशेष अवसरमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई संरक्षक नराखिनुले पनि त्यही पुष्टि हुन्छ । ओली मात्र नभएर उनलाई एमाले अध्यक्षमा निरन्तरता दिन पैरवी गर्ने अरु नेता पनि यो समितिमा अटेका छैनन् । बरु विद्या भण्डारीका पक्षमा वकालत गर्ने युवाहरू धेरै समेटिएका छन् ।
यसरी भण्डारीले आफ्ना दिवंगत पति तथा एमालेका वैचारिक मार्गदर्शक मदन भण्डारीको हीरक जयन्ती मनाउन फाउन्डेसनको त्यही मञ्च प्रयोग गर्ने भएकी छन्, जुन मञ्चबाट विगतमा ओलीले पार्टीभित्र लोकतन्त्रीकरण एजेन्डा उठाएका थिए ।
फाउण्डेसनको कार्यालयमा पत्रकार सम्मेलन गरी यो समिति सार्वजनिक हुँदा पूर्वराष्ट्रपति भण्डारीले राखेको मन्तव्यबाट पनि थप कुरा प्रष्ट भएको छ । विद्या भण्डारीलाई एमाले अध्यक्ष बनाउने लबिइङ र गतिविधि अब यो फोरम मार्फत् हुनेछ ।
सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीलाई एमालेले अहिलेसम्म औपचारिक भूमिका नदिएको र दिने सम्भावना समेत कमजोर रहेकाले पनि आज सार्वजनिक समितिलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
एमाले नेतृत्व लिनेगरी बढ्न खोजिरहेकी भण्डारीको अग्रसरताको यो दोस्रो कदम हो । गत १४ असारमा मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । त्यस बीचमा एउटा टेलिभिजन अन्तर्वार्ता मार्फत् सके सहमति र नभए लोकतान्त्रिक विधिबाट एमाले अध्यक्ष बन्ने बताएकी थिइन् ।
ओलीलाई अर्को चुनौती
११औं राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष बन्न कस्सिएकी पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई बुझिनेगरी दबाब बढाएकी छन् । आजको पत्रकार सम्मेलनमा त भण्डारीले ओलीको विकल्पमा एमालेभित्र अरु थुप्रै नेता रहेको बताइन् ।
‘ओली विनाको एमाले’ कल्पना नगर्न ओलीले केही दिनअगाडि चेतावनी दिएका थिए । यो प्रसंग पत्रकारहरूले भण्डारी समक्ष राखेका थिए । जवाफमा भण्डारीले एमालेभित्रै थुप्रै विकल्प रहेको बताएकी हुन् ।
‘एउटा दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रमले पार्टी चलेको हुन्छ । कहिलेकाहीँ व्यक्तिहरूको अभाव हुन सक्दछ’ भण्डारीले भनिन्, ‘तर हामीसँग थुप्रै योग्य व्यक्तित्वहरू हुनुहुन्छ भन्ने आशा राखेर नै हामीहरू अगाडि बढ्नुपर्छ ।’
मदन भण्डारीको रहस्मय निधनपछि पनि एमाले अगाडि बढेको समेत उनको तर्क थियो । ‘जबजलाई सूत्रीकरण र सिद्धान्तका रुपमा मदन भण्डारीले प्रस्तुत गर्नुभयो, त्यसलाई लागू गर्न पाउनु भएन, रहस्यमय निधन भयो’ उनले भनिन्, ‘तर पनि पार्टी अगाडि बढ्यो, पार्टीले आफ्नो सिद्धान्त अनुसार बढ्दै जाँदा यो ठाउँसम्म आइपुगेको छ ।’
अर्थात् मदन भण्डारीकै रहस्यमय निधन हुँदा पनि सिद्धान्तकै जगमा एमाले अगाडि बढेकाले कुनै व्यक्ति विशेषलाई आधार मानेर व्याख्या नगर्न नहुने सन्देश दिइन् । आजको एमालेभित्र ओलीलाई यो तहको जवाफ दिने हैसियत अरु नेताले राखेका थिएनन् ।
यही पत्रकार सम्मेलन मार्फत् भण्डारीले आगामी केन्द्रीय कमिटी बैठकका निम्ति आफ्नो सुझाव पनि राखेकी छन् । आगामी ५ साउनमा तोकिएको केन्द्रीय कमिटीले आफूलाई जिम्मेवारी दिने अपेक्षा भण्डारीले राखेकी छन् ।
‘महाधिवेशन अगाडि केन्द्रीय कमिटी नै सर्वोच्च अंग हुन्छ, केन्द्रीय कमिटीले के जिम्मेवारी दिन्छ कस्तो निर्णय लिन्छ त्यसमा भर पर्छ भन्ने जानकारी गराउँछु’, पत्रकारहरूलाई पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।
विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीलाई सहभागी नै नगराउने एमालेका कतिपय नेताहरूको अभिव्यक्तिप्रति बुझिनेगरी आक्रोश पनि व्यक्त गरेकी छन् । दशौं महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनको प्रतिनिधि हुने भएकाले भण्डारीले सहभागिता जनाउन नसक्ने एमाले महासचिव शंकर पोखरेलले बताउँदै आएका छन् ।
विधानत: पोखरेलले बोलेको सही भएपनि दशौं महाधिवेशनपछि मनोनीत केन्द्रीय सदस्य, जिल्ला र जनसंगठनहरूमा आएको नेतृत्वबारे पार्टीले छलफल गर्नुपर्ने भण्डारीले माग राखेकी छन् । ‘नयाँ आएकाहरूको प्रतिनिधित्व कसरी हुन्छ ? त्यसबारेमा केन्द्रीय कमिटीमा छलफल हुन सक्छ, यहाँबाट मैले यही सल्लाह दिन सक्छु’ उनले भनिन्, ‘अब मेरो उपस्थिति कसरी गराउनु हुन्छ, त्यो चाहिँ केन्द्रीय कमिटीमै भर पर्ने कुरा हो ।’
पत्रकारहरूलाई जवाफ दिने क्रममै प्रतिनिधि सभा विघटनको सन्दर्भ पनि उठेको थियो । तर दुईदुई पटक प्रतिनिधि सभा विघटन गर्ने निर्णयको राजनीतिक जवाफ उनले दिइनन् । भनिन्, ‘यसले पछ्याइरहनेछ भन्नेमा जानकार नै छु, संसद विघटनका कुरा ।’
प्रतिक्रिया 4