+
+
Shares
पोखराको जग्गासँग जोडिएको घुस प्रकरण: :

देउतीको घरै खाइदिए, हाकिम मैले नै ल्याएको हुँ भन्थे सुजन

न्याय खोज्दै गृहमन्त्रीसम्म पुगिन् देउती तर उजुरी दर्ता भएन

सुजन यतिसम्म चलाख थिए सम्पत्ति फुत्काउन काहुँ डाँडाको पाखोमा रहेको आफ्नो एक रोपनी जग्गा देउतीको श्रीमान्‌को नाममा गराइदिएर अमरसिंह चोकमा रहेको घर आफ्नो कब्जामा ल्याएका थिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ असार ३२ गते २२:४९

३२ असार, पोखरा । कास्कीमा नामुद बिचौलियाको रुपमा चिनिएका सुजन लामाले छुट जग्गा दर्ता गराइदिने भन्दै पैसा र घर खाइदिएका छन् । रामबजारकी देउतीमाया गुरुङको छुट जग्गा दर्ता गराइदिने भन्दै ५० लाख रुपैयाँ पैसा र पोखरा–१० अमरसिंह चोकको एउटा घर नै आफ्नो मान्छेको नाममा गराएको भेटिएको हो ।

२०३३ सालमा राजीनामा गरेरै खरिद गरेको पोखरा–१४ छिनेडाँडाको करिब ५० रोपनी जग्गा हालसाविक गर्न छुटेको थियो । अधिकांश समय श्रीमान्‌सँगै हङकङ बसेकाले उनीहरूले दर्ता हुनबाट छुटेको जग्गा आफूले मिलाइदिने भन्दै लामाले मुक्तिनाथ विकास बैंकबाट ५० लाख रुपैयाँ र देउतीमायाको नाममा रहेको घर सुजनले यामकुमारी गुरुङको नाममा पास गराएका हुन् ।

२०३३ सालमा खरिद गरिएको जग्गा नै दर्ता छुटेपछि फेरि ल्याउन देउती भौंतारिएकी थिइन् । अन्य १/२ जना व्यक्तिहरूले पनि यो जग्गाको काम गरिदिने भन्दै कागजात र पैसा लिएका थिए । तर, काम नभएपछि अन्तिममा सुजनलाई भेटेपछि देउतीको आशा पलाएको थियो । परिवारनै सिंगापुरमा हुर्किएकाले उनी र उनका श्रीमान्‌लाईसमेत यहाँको सरकारी प्रक्रियाबारे अनविज्ञ छन् । त्यही अनविज्ञताको फाइदा उठाउँदै सुजनले पैसा र घरै खाइदिएका हुन् ।

सुजनले मालपोत कार्यालयमा रामचन्द्र अधिकारीलाई आफैं हाकिम बनाएर ल्याएको भन्दै जसरी पनि काम गरिदिने आश्वासन दिएका थिए । उनको न्युरोडमा रहेको कार्यालयमा पैसा र फाइल बोकेर मानिसहरू जग्गाको दर्ता गराउन भन्दै पुग्ने गरेको देउतीले बताएकी छन् ।

रामबजारकी देउतीमाया गुरुङ।

यामकुमारीलाई सुजनले साथी भनेर चिनाएका थिए भने सुजनका धेरै सम्पत्ति उनकै नाममा बनाउने गरेको देउतीले बताइन् । जग्गा पास गर्दा डेड करोड रुपैयाँ कर तिर्नुपर्ने र त्यसका लागि भन्दै लामाले देउतीका श्रीमान्‌बाट ५० लाख रुपैयाँको चेक लिएर गएका थिए भने काहुँडाँडामा रहेको सुजनको जग्गा देउतीको श्रीमान्‌को नाममा गराइदिएर अमरसिंह चोकको घर यामकुमारीको नाममा गराउन सफल भएका हुन् ।

लाहुरे परिवार भएकाले देउतीको पोखरामा अरू पनि घर छन् । त्यही देखेर सुजनले देउतीलाई प्रलोभनमा पार्न सफल भएका थिए । छुट जग्गा दर्ता गराइदिने भन्दै सुजनले तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीलाई पटक पटक भेटाएका थिए ।

छुट जग्गा दर्ता गराउने काम सम्पन्न भएपछि ६० प्रतिशत देउतीले र ४० प्रतिशत सुजनले लिने गरी लिखित सहमति नै उनीहरूले गरेका थिए । सुजन यतिसम्म चलाख थिए सम्पत्ति फुत्काउन काहुँ डाँडाको पाखोमा रहेको आफ्नो एक रोपनी जग्गा देउतीको श्रीमान्‌को नाममा गराइदिएर अमरसिंह चोकमा रहेको घर आफ्नो कब्जामा ल्याएका थिए ।

सुजनले यामकुमारी नाममा घर राजीनामा पास गराएर मुक्तिनाथ विकास बैंकको ५० लाखको चेकसमेत लिएर गएका थिए । सुजनको प्रलोभनमा पर्दा देउतीले घर र ५० लाख रुपैयाँ नै गुमाएकी छन् भने अहिलेसम्म हुने भनिएको छुट दर्तासमेत भएको छैन ।

देउतीमायाले २०३३ सालमा खरिद गरेको भनिएको जग्गाको पुर्जा।

माघ ११ गते मन्त्रिपरिषद्ले फिल्डबुकमा नाम, हकदार स्पष्ट खुलेको, भोकचलन गरिरहेको छुट जग्गा दर्ता गर्ने निर्णय गरेको थियो । यसअघि विभिन्न कारणले दर्तामा छुटेको, मालपोत दस्तुर बुझाइरहेको, भोकचलन सबै एकीन भएका जग्गा दर्ता गर्ने काम अहिले भइरहेको छ ।

‘गाडीभरि फाइल बोक्छ, पैसाको मुठा बोक्छ । जति पनि पैसाहरू यामकुमारीले नै चलाउने रहेछ,’ देउतीले सुनाइन् ।

त्यही छुट दर्ता गर्ने, पोखराका लिचीबारी हत्याउने खेलसहित सुजनले कास्कीमा फेरि तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई नै ल्याउन घुस डिल गरेका थिए । तिनै सुजनले भूमि समस्या समाधान आयोग कास्कीमा खमबहादुर पुनलाई प्रमुख बनाउन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग डिल गरेको अडियो सार्वजनिक भएको थियो ।

लामाले पोखराको न्युरोडमा कार्यालय नै खोलेर जग्गासम्बन्धी छुट दर्ताको काम गर्ने भन्दै गिरोह नै निर्माण गरेका थिए । पोखराको छिर्ने डाँडामा २०३३ सालमा किनेको जग्गाको लालपूर्जासमेत देउतीको साथमा छ । विभिन्न कारणले दर्ता छुट भएर फेरि आफ्नै नाममा कायम गर्न भौंतारिने क्रममै एक जना दीपा शर्मा नाम गरेकी विद्यार्थी नेतामार्फत देउतीले सुजनसँग भेटेकी थिइन् ।

सुजनले सुरुमा ३ देखि ६ महिनाभित्र काम हुने बताएका थिए । मालपोतका तत्कालीन प्रमुख रामचन्द्र आफैं एक रुपैयाँ पनि खर्च नहुने र यो जग्गाको छुट दर्ता हुने बताएका थिए । पछि अधिकारीले पोखरा र काठमाडौंमा समेत यो जग्गाको कागजात छ्यापछ्याप्ती रहेको भन्दै काम गर्न गाह्रो भएको बताएको देउतीले सुनाइन् ।

छुट दर्ता गर्ने भनिएको जग्गाको विवरण।

सुजनले देउतीलाई प्रलोभनमा पारेर पैसा र घर नै खाइदिएका छन् । तर, भाडा भने देउतीले नै उठाउँदै आएकी छन् । घर लगेपछि सुजनले भेट्नै खोजेनन् । भागेको भाग्यै गर्न थालेको देउतीले बताइन् ।

‘गाडीभरि फाइल बोक्छ, पैसाको मुठा बोक्छ । जति पनि पैसाहरू यामकुमारीले नै चलाउने रहेछ,’ देउतीले सुनाइन् । यामकुमारी खोज्दै घरै गएपछि गुण्डा लिएको गएको हो भन्दै आफूलाई धम्की दिएको उनले बताइन् ।

देउतीले सुजनको विषयमा छानबिन गर्न माग गर्दै जिल्ला प्रहरी, प्रशासनदेखि गृहमन्त्री रमेश लेखकसम्म पुगिन् । तर, पनि प्रहरीले उनले दिएको जाहेरी नै दर्ता नगरेको उनले सुनाइन् । देउतीबाट हत्याएको घर बैंकमा राखेर यामकुमारीको नामबाट ऋणसमेत निकालिएको छ । त्यो घरसमेत अहिलेसम्म ३/४ जनामा बिक्री भइसकेको उनले बताइन् ।

‘यामकुमारीले बैंकबाट जति लोन निकालेका थिए, त्यति नै फेरि बुढाको खाताको चेक निकालेर उसैले लिएर गाछ । मेरो बुढाले यहाँ आएर व्यवहार गरेको छैन । उतै (सिंगापुर) जन्मेको, हुर्केको हो,’ देउतीले भनिन् ।  जग्गा रोक्का गर्न छोरीले मुद्दा हालिन् तर त्यो पनि सफल हुन नसकेको उनले बताइन् ।

सुजनले ठगी गरेको भनेर निवेदन दिए पनि प्रहरीले नलिएको उनले सुनाइन् । गृहमन्त्री रमेश लेखकलाई भेटेपछि उनले प्रहरीलाई फोन गरेर भन्छु भने पनि फर्किएर निवेदन दिँदा फेरि पनि नलिएको उनले बताइन् । अस्तिमात्र पनि कास्कीको सीडीओलाई भेटेर फेरि ध्यानाकर्षण गराएको देउतीले बताइन् ।

सुजनले बाबुको चेकमा आफूले हस्ताक्षर गरेर देउतीलाई दिएको चेक।

घर र पैसा फिर्ता गरिदिन भनेपछि सुजनले ४९ लाखको चेक दिएका थिए । त्यो चेक उनको बाबु दाबा लामाको थियो । बाबुको चेकमा आफूले हस्ताक्षर गरेर दिन र धेरै ठाउँमा त्यसरी नै ठगी रहेको उनको भनाइ छ ।

‘१ लाख क्यास (नगद) दिएको हो । ३९ लाखको चेक दिएको हो । खल्तीबाट निकालेर दिएपछि उसकै चेक होला भन्ने सोच्यो । पछि हेर्दा पो दाबा लामा रहेछ,’ देउतीले भनिन् । पछि आफ्नो ३९ लाख खर्च भएकाले त्यो दिएर जग्गा र घर फिर्ता गराउने भनेको तर भेट्नै नमानेको उनको भनाइ छ ।

लामाले यसरी ठगी गरेका देउतीमात्रै होइनन्, अन्य कास्कीमा प्रशस्त छन् । तर, अझै पनि पैसा फिर्ता पाउने आशमा उनीहरू खुलेका छैनन् । सुजनले बाबुको नामको चेक दिने, पछिल्लो समय विभिन्न ठाउँमा जग्गा दर्ता गराउने भनेर पैसा उठाउने गरेका थिए ।

जग्गाको काम सकिएपछि ६० र ४० प्रतिशत पाउने गरी भएको लिखित सहमति

जग्गाको काम सकिएपछि सुजनबाट पैसा आउने भएकाले देउतीले एक जना आफन्तलाई चेक दिएकी थिइन् । सुजनलाई उजुरी दिन प्रहरी कार्यालय पुग्दा तिनै आफन्तलाई उचालेर उल्टै देउतीलाई मुद्दा हाल्न लगाइएको उनको भनाइ छ । अहिले देउतीको उजुरी दर्ता नभएको प्रहरी कार्यालयमा उनीविरुद्ध जाहेरी दर्ता भएको छ ।

पोखराको लिची बगैंचा नामसारी गराउने र विभिन्न ठाउँका जग्गा छुट दर्ता गरिदिने नाममा बिचौलिया लामाले करोडौं उठाएकोसमेत पाइएको छ । ४० वर्ष पुरानो फैसलाअनुसार पोखरा–१६ अमरदीपमा रहेको करिब १ सय ३५ रोपनीभन्दा धेरै जग्गा विभिन्न व्यक्तिको नाममा ल्याइदिने भन्दै विभिन्न व्यक्तिहरूसँग पैसा उठाएको गुनासो पीडितको छ ।

पोखराका विभिन्न ठाउँका जग्गा मालपोत प्रमुख अधिकारीसँग मिलेर छुट दर्ता गराइदिने भन्दै करोडौं रुपैयाँ असुलेको पाइएको हो । जग्गाको चलखेलकै लागि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता,  पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ र वर्तमान मन्त्री बलराम अधिकारीसमेतलाई सुजनले प्रभावमा पारेको उनीनिकट स्रोतको दाबी छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?