+
+
Shares

इजरायलले गाजामा हानेका बममा युरोपेली मिसाइल समूहका पार्टपूर्जा, मारिइरहेछन् बालबालिका

इजरायललाई बमका पाटपूर्जा बेचेर यूरोपेली कम्पनी एमबीडीएले गाजा संकटमा मुनाफा कमाइरहेको आरोप लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गार्जियनले जनाएको छ कि युरोपेली मिसाइल निर्माता कम्पनी एमबीडीएले इजरायललाई दिएको जीबीयू–३९ बमका पाटपूर्जा गाजामा प्रयोग भएका छन्।
  • इजरायललाई बमका पाटपूर्जा बेचेर यूरोपेली कम्पनीले गाजा संकटमा मुनाफा कमाइरहेको आरोप लागेको छ ।
  • एम्नेष्टि इन्टरनेशनलले गाजामा नागरिक पूर्वाधारमाथि गरिएको आक्रमणलाई युद्ध अपराधको रूपमा अनुसन्धान गरिरहेको छ ।

२ साउन, काठमाडौं । इजरायलले गाजामा प्रहार गरेका बममा युरोपेली हतियार निर्माता कम्पनीका पाटपूर्जा समेत भेटिएका छन् ।

युरोपकै सबैभन्दा ठूलो मिसाइल निर्माता कम्पनी एमबीडीएले इजरायललाई दिएका बमका पूर्जा प्रयोग गरेर गाजामा आक्रमण गर्दा सयौं बालबालिकाको मृत्यु भएको पाइएको खुलासा बेलायती समाचार संस्था गार्जियनले गरेको छ ।

इजरायललाई बमका पाटपूर्जा बेचेर यूरोपेली कम्पनीले गाजा संकटमा मुनाफा कमाइरहेको आरोप लाग्दै आएको छ ।

बोइङले निर्माण गर्ने जीबीयू–३९ नामक बममा प्रयोग हुने पखेटा अमेरिकी राज्य अलबामास्थित एमबीडीएको कारखानामा उत्पादन हुन्छन् । यी पखेटा बम प्रक्षेपणपछि खुल्ने गर्छन्, जसले लक्ष्यमा बमलाई सटिक तरिकाले पुर्‍याउँछ ।

गार्जियनले स्वतन्त्र समाचार संस्था डिसक्लोज र फलो द मनीसँग मिलेर जीबीयू–३९ बमको आपूर्ति श्रृखंला र उक्त बम युद्धमा कसरी प्रयोग भइरहेको छ भन्नेबारे खोज गरेको थियो ।

यूरोपेली कम्पनी एमबीडीएले अमेरिकाको अलाबामा हतियार उद्योग सञ्चालन गर्दै आएको छ । उक्त उद्योगमा जहाज निर्माता कम्पनी वोइङले बनाउने जीबीयू–३९ बममा प्रयोग गरिने पखेटा बन्ने गर्दछ । अमेरिकामा हतियार उद्योग रहेको एमबीडीए इनकर्पोरेटेड कम्पनीले यस्ता हतियारका पूर्जा बेचेर हुने मुनाफा बेलायतको हर्टफोर्डशायरमा अवस्थित उसैको कम्पनी एमबीडीए बेलायत हुँदै फ्रान्समा मुख्यालय रहेको एमबीडीए ग्रुपसम्म पुग्ने गार्जियनको रिपोर्टमा उल्लेख छ ।

एमबीडीएले बममा प्रयोग हुने पखेटाका लागि बोइङसँग सम्झौता गरेको पुुष्टि समेत भएको छ । उसले भनेको छ, ‘हामीले आफूले सञ्चालन गर्ने मुलुकहरुमा लागू हुने सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हतियार व्यापार सम्बन्धी कानूनहरु पालना गर्छौं, ती सबै मुलुकहरुसँग निर्यात नीति र मजबुत निर्यात नियन्त्रण प्रणाली रहेको छ ।’

एमबीडीएले गत वर्ष आफ्ना सेयरधनीहरू बेलायतको बीएइ सिस्टम्स, फ्रान्सको एयरबस र इटालीको लियोनार्डोलाई करिब ३५० मिलियन पाउण्ड लाभांश वितरण गरेको पाइएको छ ।

गाजामा ‘युद्ध अपराध’

गाजामा सर्वसाधारणको ज्यान जाने गरी जीबीयू–३९ बम प्रयोग गरिएको २४ वटा आक्रमणका घटना खुला स्रोत र हतियार विज्ञहरुबाट पुष्टि भएको गार्जियनको समाचारमा उल्लेख छ । ती आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश बालबालिका रहेको पाइएको छ ।

अधिकांश आक्रमण रातिको समयमा भएका छन् । आक्रमणपूर्व कुनै सूचना नदिइएको र विस्थापितहरुले आश्रय लिइरहेको विद्यालय भवन, टेन्ट र शिविरहरुलाई लक्षित गरेको पाइएको छ ।

केही घटनालाई संयुक्त राष्ट्रसंघ र मानव अधिकार संस्था एम्नेष्टि इन्टरनेशनलले युद्ध अपराधको आंशकामा अनुसन्धान गरिरहेको पनि समाचारमा उल्लेख छ ।

यसै वर्ष २६ मेको बिहान २ बजे गाजाको अल जर्जवी विद्यालयको छतमा एउटा बम खसेको थियो । उक्त विद्यालयमा दर्जनौं परिवार आश्रय लिएर सुतिरहेका बेला बम आक्रमण भएको थियो ।

अधिकारीहरुका अनुसार त्यो रात बम आक्रमणमा परी विद्यालयमा आश्रय लिएर सुतिरहेका ३६ जनाको मृत्यु भएको थियो, जसमध्ये आधाजसो बालबालिका थिए ।

एक प्रत्यक्षदर्शीले रेकर्ड गरेको भिडियोमा आगोको लप्काबीच एक बालिका बाहिर निस्कन खोज्दै गरेको देखिन्थ्यो । पाँच वर्षीय हनिन अल–वादी उक्त आक्रमणमा मुश्किलले बाँचेकी थिइन् ।

अत्यधिक जलनका कारण केही हप्तासम्म पनि उनी अस्पतालमै उपचारत थिइन् । उनका आमा–बाबु र बहिनीको आक्रमणमा परी मृत्यु भएको थियो ।

इजरायलको आक्रमणबाट बालबालिकाहरु मारिएका क्षेत्र ।

हनिनका काका अहमद अल–वादी भन्छन्, ‘त्यो दिन मिसाइलको आवाज र वरपरको आगो देखेर चिच्याएको भन्छिन् छोरी, जब उनी हिँड्छिन्, शवमाथि खुट्टा राख्न डर लागेको बताउँछिन् ।’ एउटी बच्चीले आफ्ना आमा–बाबुलाई आगोमा जलेको देख्दा कस्तो अनुभूति गरिन् भन्ने कल्पना गर्न भन्छन् अहमद अल–वादी ।

अन्तर्राष्ट्रिय मानवीय कानूनले विद्यालयजस्ता नागरिक पूर्वाधारमाथि गरिने आक्रमणलाई निषेध गर्दछ र क्षतिलाई कम गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिन्छ । नियम पालना नभएको पाइए युद्ध अपराध ठहरिन्छ ।

एम्नेस्टीका एक वरिष्ठ अनुसन्धानकर्ता डोनाटेला रोभेरा भन्छिन्, ‘नागरिकहरुलाई नोक्सानी नहुने गरी सावधानी अपनाउने कानूनी कर्तव्य आक्रमण गर्नेहरुकै हुन्छ, सैन्य लक्ष्यकै स्थान भएपनि नागरिकहरु भएका स्थानमा प्रहार नगर्ने शर्त हुन्छ ।’

सम्भव भएसम्म लक्षित स्थान खाली गर्न प्रभावकारी चेतावनी दिनुपर्ने भएपनि गाजाको विद्यालय अल–जर्जवीमा आक्रमणपूर्व कुनै सूचना वा चेतावनी दिइएको थिएन ।

इजरायली सेनाले भने उक्त विद्यालयमा रहेको लडाकू समूह र नियन्त्रण केन्द्रलाई निशाना बनाएर आक्रमण गरेको बताएको थियो । हमास र प्यालेस्टाइनी इस्लामिक जिहादले उक्त विद्यालयलाई गुप्तचर जानकारी संकलन गर्न प्रयोग गर्ने गरेको इजरायली सेनाको दाबी थियो ।

आक्रमणपूर्व नागरिकहरु हताहती हुनसक्ने कुरालाई मध्यनजर गरेको र आवश्यक कदम चालेको इजरायली सेनाको जिकिर थियो ।

तर , एम्नेस्टीका वरिष्ठ अनुसन्धानकर्ता रोभेरा भने घना बस्ती भएका आवासीय क्षेत्रमा सैन्य उद्देश्य राख्न नै अन्तर्राष्ट्रिय मानवीय कानूनले निषेध गर्ने बताउँछिन् ।

आक्रमण भएको उक्त विद्यालयका भग्नावशेषमा हतियार विशेषज्ञहरुले जीबीयू–३९ बमका टुक्राहरु फेला पारेका थिए ।

घटनास्थलमा खिचिएका फुटेजमा स्पष्टरुपमा बममा प्रयोग गरिएका पखेटाहरु देखिन्थे, जुन प्राय: बम विस्फोट हुँदा छुट्टिन्छन् ।

जीबीयू–३९ को विशेषता, बढ्दो प्रयोग र राफा आक्रमण 

जीबीयू–३९ बमहरू लडाकु विमानमार्फत आकाशबाट प्रहार गरिन्छ । २ सय ५० पाउन्डभन्दा कम तौलको भएपनि पनि यसले भवनको एक वा दुई तलालाई ध्वस्त पार्न सक्छ ।

यद्यपि बन्द स्थानमा विस्फोट हुँदा यसले घातक ‘फायरबल’ (आगोको गोला) सिर्जना गर्छ । नोभेम्बर २०२३ देखि यस वर्षको मे महिनासम्मका प्रमाणित २४ वटा घटनामा मृत्यु हुनेको संख्या ५०० भन्दा बढी थियो, जसमा कम्तिमा १०० बालबालिका थिए ।

अमेरिकी विदेश विभागले तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा समेत यस्ता बमको प्रयोगलाई बढावा दिएको थियो ।

२०२३ मा जीबीयू–३९ बम प्रयोग भएका केही घटनाहरू मात्र प्रमाणित भएपनि तथ्याङ्कले इजरायली सेनाले यो बमको प्रयोग नाटकीय रुपमा बढाएको पाइएको छ ।

२६ मे २०२४ को राति राफाको कुवेती पीस क्याम्प १ मा लडाकू विमानहरुले गरेको आक्रमणलाई सबभन्दा विनासकारी आक्रमणमध्ये एक मानिन्छ ।

एम्नेस्टीको प्रतिवेदन अनुसार विस्फोटक पदार्थका टुक्राहरूले एक शिशु र एक महिलाको शिर काटिएको थियो । उक्त आक्रमणमा गाजा स्वास्थ्य मन्त्रालयले ४५ जनाको मृत्यु र २ सय ४९ जना घाइते भएको जानकारी दिएको थियो ।

इजरायली सेनाले आफूले हमासको कम्पाउन्डलाई निशाना बनाएको र गोला बारुद वा अन्य कुनै ज्वलनशील पदार्थले दोस्रो विस्फोट र आगलागी गराएको आशंका गरेको बताएको थियो ।

एम्नेस्टीले सेनालाई नागरिक र सैन्य लक्ष्यहरू बीच भेद गर्न असफल भएको आरोप लगायो र घटनालाई युद्ध अपराधको रूपमा अनुसन्धान गर्न आह्वान गर्यो ।

किनकी प्रमाणित आक्रमणमध्ये १६ वटा घटनामा विद्यालयलाई निशाना बनाएको पाइएको थियो । ती विद्यालयहरुमा गाजाका विस्थापितहरुको आश्रयस्थलको रुपमा प्रयोग भइरहेकाले पढाइ हुँदैन ।

अन्य आक्रमण पाल शिविर, पारिवारिक घरहरू र बिहानको प्रार्थनाको समयमा एक मस्जिदमा भएका थिए ।

द गार्जियनले ९ वटा आक्रमणको विस्तृत विवरणसहित आईडीएफलाई पत्र लेखेको थियो । तर, आइडीएफका एक प्रवक्ताले व्यक्तिगत घटनाहरूमा टिप्पणी गर्न अस्वीकार गरे ।

आफूहरूसँग दाबीहरूको जाँच गर्न आवश्यक समय वा जानकारी नभएको भन्दै उनी पन्छिन खोजे । आईडीएफले नागरिक वा नागरिक संरचनाहरूलाई लक्षित नगरेको उनको दाबी छ ।

सैन्य आवश्यकता र अन्तर्राष्ट्रिय कानूनको कडा पालना गर्दै आक्रमण गर्ने गरेको आईडीएफको दाबी छ ।

नागरिक र आवासीय संरचना दुबैमा हुने क्षतिलाई कम गर्न सम्भावित सबै सावधानी अपनाउने आइडीएफका प्रवक्ताको भनाइ छ ।

हमासले आफ्ना हतियार र गोला बारुद मान्छेका घर, अस्पताल, विद्यालय, मस्जिदहरूमा राख्ने गरेको र त्यहींबाट आक्रमण गर्ने गरेको उनले बताए ।

जीबीयू–३९ बमको प्रयोग : विनाश र नैतिक प्रश्नहरू

आर्ममेन्ट्स रिसर्च सर्भिसेजका सहयोगी ट्रेभर बलले गाजा क्षेत्रमा भइरहेका बम आक्रमणहरूको विस्तृत सूची तयार पारेका छन् ।

युरोपेली संघ (ईयू) बाट आर्थिक सहयोग प्राप्त गर्ने बलका अनुसार जीबीयू–३९ बमका पखेटामा ‘नो लिफ्ट अन विङ्स’ लेखिएको हुन्छ र फिन तथा विशिष्ट बोल्टहरू भएको पुच्छरको भागबाट चिन्न सकिन्छ ।

अमेरिकी सैन्य सहायता कार्यक्रमअन्तर्गत अहिले पनि इजरायललाई जीबीयू–३९ बमहरू आपूर्ति भइरहेका छन् । हमासले इजरायलमा आक्रमण गरेपछि बोइङ कम्पनीबाट सीधै खरिद गरिएका र अमेरिकी सेनाको आफ्नै भण्डारबाट स्थानान्तरण गरिएका यी बमहरू प्रयोग गरेर ७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो ।

त्यसयता अमेरिकाले झन्डै ४ हजार ८ सय वटा जीबीयू–३९ बम इजरायल पठाइसकेको पाइएको छ ।

राष्ट्रसंघले गाजाको लगभग ७० प्रतिशत भाग भग्नावशेषमा परिणत भइसकेको बताइरहेका बेला पछिल्लो पटक यसै वर्षको फेब्रुअरीमा मात्रै २ हजार १ सय ६६ वटा बम पठाएको रिपोर्टमा उल्लेख छ ।

एमबीडीएले आफ्नो पेटेन्टेड डायमण्ड ब्याक विङ प्रणालीलाई बोइङ बमको ‘प्रमुख घटक’ को रूपमा चित्रण गर्ने गरेको छ ।

जीबीयू–३९ मा प्रयोग हुने विङ्स एमडीएले नै आपूर्ति गर्ने गरेको हतियार विशेषज्ञहरु बताउँछन् ।

एमबीडीए इन्कको कुनै सार्वजनिक वित्तीय खाताहरू छैनन् । त्यसैले यसले कमाउने मुनाफा सार्वजनिकरुपमा जानकारी हुँदैन ।

एमबीडीए युके वित्तीय विवरण खोजी गर्दा समग्र व्यवसायको ४० प्रतिशतभन्दा बढी राजस्वमा योगदान गरेको फेला परेको छ ।

सन् २०२४ मा एमबीडीए व्यवसायले कुल ४.२ बिलियन पाउन्ड राजस्व प्राप्त गरेको थियो ।

क्याम्पेन अगेन्स्ट द आर्म्स ट्रेडका अनुसन्धान संयोजक साम पर्लो–फ्रिम्यानले भने, ‘एमबीडीएले इजरायललाई हतियार बेचेर नाफा कमाइरहेको छ ।’ उनले एमबीडीएले इजरायलसँगको हतियार कारोबारमा संलग्न हुन नचाहेको खण्डमा एमबीडीए इन्क बेच्न सक्ने सुझाव दिएका थिए ।

बेलायत सरकारले गाजामा भइरहेको नरसंहार रोक्न आफ्नो सम्पूर्ण सामर्थ्य लगाएको हेर्न चाहेको उनले बताए ।

बन्देजहरुभन्दा बाहिर गएर इजरायललाई हतियार बेच्ने कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने र त्यस्ता कम्पनीहरूमा बेलायती लगानी रोक्नु पर्ने उनको भनाइ छ ।

तर, बेलायती प्रावधानअनुसार यस्तो प्रतिबन्ध युक्रेनमाथि रुसको आक्रमणपछि लगाइएको प्रतिबन्धको सर्तभन्दा पनि बाहिर जान्छ ।

इजरायलको हकमा भने बेलायत र अन्य पश्चिमी सरकारहरूले नरम दृष्टिकोण अपनाएको पाइन्छ । किनभने बेलायती विदेश मन्त्री डेभिड लम्मीले अन्य केही कम्पनीको निर्यातपत्र निलम्बन गर्दा बेलायती कम्पनी बीएई सिस्टम्सलाई इजरायल पठाइने एफ–३५ कम्ब्याट एयरक्राफ्टका पार्टपूर्जा उत्पादन जारी राख्न सक्ने छुट दिएका थिए ।

मार्चमा इजरायलले युद्धविराम तोडेपछि कडा शब्द र थप प्रतिबन्धहरूको धम्कीका बाबजुद यूरोपेली नेताहरुले घरेलु हतियार उत्पादक कम्पनीहरुको मुनाफा घट्ने देखेर कुनै थप कदम थालेनन् । जबकी राष्ट्रसंघले समेत गाजामा भइरहको बर्बरतालाई  नरसंहारको संज्ञा दिएको थियो ।

गत महिनाको एक रिपोर्टमा, इजरायलले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रहरूमा मानव अधिकारका सन्दर्भमा राष्ट्रसंघका अनुन्धानकर्ता फ्रान्सेस्का अल्बानीजले जारी गरेको एक प्रतिवेदनमा निष्कर्ष निकालिएको थियो कि गाजामा इजरायलको नरसंहार धेरैका लागि लाभदायक भएर जारी छ ।

राष्ट्रसंघीय अनुसन्धानकर्ता अल्बानीजले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएका ४० कम्पनीहरुमध्ये एमबीडीए र बोइङ दुवै पर्दैनन् । तर, अल्बानीजले आफ्नो प्रतिवेदन गाजामा भइरहेको बर्बरताको पूर्णरुप नभएको र एउटा छेउ मात्रै भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘निजी क्षेत्रलाई जवाफदेही नबनाई युद्ध अन्त्य हुने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?