+
+
Shares

सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदन : कम्पनी, पाइलट र प्राधिकरणबाट गम्भीर लापरबाही

दुर्घटनाको मुख्य कारण ‘जहाज टेक अफ गर्ने क्रममा अत्यधिक गतिका साथ सिधा माथि उठ्नु’ थियो । त्यसले जहाजलाई ‘डिप स्टल’ मा लगेको र जहाज खसेको प्रतिवेदनको निष्कर्ष छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ साउन २ गते २१:५०

२ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा वायुसेवा कम्पनी, पाइलट र नेपाल नागरिक उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको छ ।

१ साउन २०८१ का दिन मर्मतका लागि पोखरा उडेको सौर्यको उक्त जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटना लगत्तै सरकारले छानबिन आयोग गठन गरेको थियो । आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनले सरोकारवालाको लापरबाहीका कारण जहाज दुर्घटनामा परेको निष्कर्ष निकालेको हो ।

दुर्घटनाको मुख्य कारण ‘जहाज टेक अफ गर्ने क्रममा अत्यधिक गतिका साथ सिधा माथि उठ्नु’ थियो । त्यसले जहाजलाई ‘डिप स्टल’ मा लगेको र जहाज खसेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदन अनुसार जहाज यसरी अगाडि बढाउँदा गलत ‘स्विचकार्ड’ का आधारमा गतिको समेत गलत गणना भएको देखिन्छ । जहाजको तौल १८ हजार ५ सय किलो थियो । त्यसका लागि बनाइएको स्पिडकार्डमा उडान भर्न आवश्यक ‘भी–स्पीड’ नै गलत उल्लेख भएको थियो ।

स्पिडकार्ड गलत बनेको गल्ती कसैको नजरमा नपर्नु र उक्त स्पिडकार्ड पुस्तिका स्वीकृत समेत नभएको पाइएको छ । वायुसेवा कम्पनीले उडान भर्ने क्रममा देखिएको उच्च पिच रेटका पुराना घटना पहिचान गर्दै त्यसमा सुधार ल्याएको समेत देखिएको छैन । जसले दुर्घटना निम्त्याएको पाइएको छ ।

जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ ।

यो जहाज पोखरामा सी–चेक (पूर्ण मर्मत) का लागि लैजान लागिएको थियो । जहाज दुर्घटनामा पर्नुभन्दा ३४ दिन अगाडिदेखि ग्राउन्डेड रहेको समेत देखिएको छ । जहाज उडेको एक मिनेट भित्रै दाहिने पखेटा पहिलो पटक जमिनमा ठोक्किएको प्रतिवेदनमा उल्लेख छ ।

जहाजले उडान भर्दा माथि उठ्ने प्रक्रिया (रोटेसन) सुरु गरेलगत्तै जहाजले चाहिने जति उचाइ लिन नसकेको र दाहिनेतिर ढल्किएर पखेटाले सुरुमा भुइँ छोएको देखिन्छ । जहाज जमिनमा ठोक्किएपछि छिन्नभिन्न भएको र आगलागीसँगै जलेको थियो । रोटेसन सुरु भएपछि जहाजले ५ सेकेन्डभित्र जमिनको सतहबाट ५० फिट उचाइ हासिल गरिसकेको देखिन्छ ।

यो ‘फेरी फ्लाइट’ थियो । फेरी फ्लाइट भनेको जहाज मर्मतका लागि उडाएर लाने प्रक्रिया हो । त्यसका लागि आवश्यक योजना, तयारी र सञ्चालनमा प्रचलित अभ्यास पालना गर्न अपरेटरले गम्भीर लापरबाही गरेको समेत प्रतिवेदनमा छ ।

अपरेसन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलका प्रावधान समेत उल्लंघन भएको देखिएको छ । कार्गो र ब्यागेज ह्यान्डलिङ (तौल, लोड, वितरण र व्यवस्थापन) का सबै प्रक्रियामा समेत कम्पनीको लापरबाही देखिएको छ ।

‘सामान राम्रोसँग नबाँधिएको र उडान व्यवस्थापन हतारमा गरिएको समेत देखिएको छ । सामानहरू यात्रुको क्याबिनमा समेत राखिएका थिए । यसमा लुब्रिकेन्ट, कन्ट्याक्ट क्लिनर जस्ता प्रज्वलनशील वस्तु समेत राखिएको थियो,’ आयोग प्रतिवेदनको निष्कर्ष छ, ‘औजार बाकस, खाद्यान सामान समेत राखिएको पाइएको छ । यस्ता सामान कुनै पनि सुरक्षा उपायविना सिट र गल्लीमा जथाभावी राखिएका थिए ।’

प्रतिवेदनमा यस्तो देखियो उडानपूर्वको अवस्था

जहाजको ककपिट भ्वाइस रेकर्डरका आधारमा आयोगले घटनाक्रम पुष्टि गर्ने प्रयास गरेको छ । प्रतिवेदन अनुसार ककपिटमा फस्र्ट अफिसर (कोपाइलट) उडानको तयारीका लागि जहाजको ककपिट प्रवेश गरेका थिए । स्टोर इन्चार्ज र ग्राउन्ड स्टाफले जहाजको कार्गो खण्डमा सामान लोड गरेका थिए ।

कार्गो खण्ड पूरै भरिएपछि कर्मचारीले जहाजको क्याबिनमा पनि ब्यागेज र उपकरण लोड गरेका थिए । पाइलट इन कमान्ड (पीआईसी) अर्थात् क्याप्टेन भने उडान गर्नुभन्दा ३० मिनेट अगाडि ककपिटमा प्रवेश गरेको देखिएको छ । उनले कोपाइलटसँग प्रि–स्टार्ट जाँचबारे सोधपुछ गरेका थिए ।

यो उडानमा थप कर्मचारी आउने भन्दै उडान केही ढिला गर्न चालकदललाई अनुरोध गरिएको थियो । त्यसपछि चालकदलले एयर ट्राफिक कन्ट्रोलरलाई ट्याक्सिङका लागि ३० मिनेट समय लाग्ने समेत बताएको थियो । तर, केही समयपछि नै अन्तिम कर्मचारी जहाजमा छिरेपछि क्याबिनको ढोका बन्द गरिएको थियो ।

त्यसपछि चालक दलले दुवै इन्जिन स्टार्ट गरेका थिए । सोही क्रममा देब्रे इन्जिन पहिलो प्रयासमा स्टार्ट भएको थिएन । त्यसको कारण इन्धन प्रवाह नभएको देखिएको छ । दोस्रो प्रयासमा भने सामान्य रूपमा इन्जिन स्टार्ट भएको छ । यद्यपि, जहाज जमिनमा गुड्दा र उडान भर्न गरिएको रोटेसनका क्रममा समेत दुवै इन्जिनमा भने कुनै खराबी नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

जहाज १२० नट्स गणना गरिएको एयरस्पिडमा रोटेसन गरेको थियो । जहाजले ४ सेकेन्डभित्र १३ डिग्री र ६ सेकेन्डमा १५ डिग्रीको पिचअप (माथि उठ्ने कोण) हासिल गरेको थियो । यस अनुसार अधिकतम पिचरेट ८.६ डिग्री प्रतिसेकेन्ड देखिएको छ ।

जहाज १५.५ डिग्री प्रतिसेकेन्ड अधिकतम रोल रेट (ढल्कने गति) मा २६ डिग्री दाहिनेतिर ढल्किएको थियो । जसलाई असामान्य मानिएको छ । दुर्घटनाका बेला मौसम भने सफा थियो ।

उद्धार कति छिटो ?

जहाज आकाशबाट ४ सेकेन्ड अन्तरमा १ सय ३० फिट तल झरेर जमिनमा बजारिएको पाइएको छ । शक्तिशाली ठक्कर र जहाज छरपष्ट हुनुका साथै आगलागीका कारण धेरै यात्रुको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटना लगत्तै १ मिनेट ४० सेकेन्डमा एक दमकल पुगेको देखिएको छ । उसले १५ सेकेन्डपछि नै पानी फाल्न थालेको थियो । ककपिटमा आगो लाग्नु अगाडि नै भाग्दै गरेका क्याप्टेनलाई जमिनमा रहेका कर्मचारीले उद्धार गर्न सफल भएका थिए ।

त्रिभुवन विमानस्थलमा योजनाबद्ध रनवे स्ट्रिप (सुरक्षा क्षेत्र) अभाव रहेको समेत प्रतिवेदनले जनाएको छ । त्यस्तो क्षेत्र बढी भएको भए धावनमार्ग भन्दा पछाडि वा बाहिर जाने जहाजको सुरक्षा बढाउन सकिन्छ । साथै अग्नि नियन्त्रक र उद्धार उपकरणले समेत सहज पहुँच प्राप्त गर्ने प्रतिवेदनमा लेखिएको छ ।

क्याप्टेन बाँच्नुले यदि उद्धार प्रयास राम्ररी गरिएको वा पूर्वतयारी राम्रो भएको भए कम्तीमा ककपिटमा फसेका चालक दलका सदस्य तथा क्रु मेम्बरहरू बाँच्ने अवस्था हुन सक्नेसमेत प्रतिवेदनमा उल्लेख छ ।

सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ? – Online Khabar

अग्नि नियन्त्रणका लागि आवश्यक थप उपकरण र भूगोलबारे गम्भीर अभ्यास नहुँदा समेत उद्धारको काम प्रभावकारी हुनबाट चुकेको प्रतिवेदनको निष्कर्ष छ ।

दुर्घटनास्थलको सबैभन्दा नजिकको एक आपतकालीन पहुँचद्वार बन्द र निर्माण सामग्री तथा भग्नावशेषले अवरुद्ध अवस्था रहेको पाइएको छ । यसले उद्धारको काममा असर गरेको देखिएको छ ।

विमानस्थल नजिकै भए पनि पैदल र सवारीसाधनबाट दुर्घटनास्थलसम्म पुग्न गाह्रो हुने अवस्थाका कारण आपतकालीन उद्धारमा अझै कमजोरी देखिएको छ ।

‘फेरि फ्लाइट’ मा यात्रु बोक्न नपाइने नियम उल्लंघन, प्राधिकरणको कमजोरी

यस उडानमा वायुसेवा कम्पनीले जहाज मर्मतमा लैजान लागेको थियो । सोही अनुसार उडान अनुमति समेत नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको थियो । तर, जहाजमा चालक दलका सदस्य र प्राविधिक बाहेक पनि यात्रु राखिएको थियो ।

सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय । फाइल तस्वीर ।

यात्रुहरूले सिट बेल्ट लगाएको/नलगाएको समेत यकिन नभएको पाइएको छ । विमानमा सवार व्यक्तिहरूको सामान्य चेक इन प्रक्रिया समेत पालना गरिएको थिएन । फेरी फ्लाइटमा न्यूनतम उडान चालक दल घटाइएको हवाई योग्यतासाथ जहाज उडाउनु पर्छ ।

कुन निकायको कस्तो कमजोरी ?

सौर्य एयरलाइन्सले कार्गो लोड गर्दा ग्राउन्ड ह्यान्डलिङ म्यानुअल पालना नगरेको देखिएको छ । जहाजमा सामान लोड गर्ने मानिस सोही कामका दक्ष थिएनन् । सामान राम्ररी बाँधिएको थिएन, जसले उडानका क्रममा जहाजमा जोखिम निम्त्याएको पाइएको छ ।

सौर्यले तालिम कार्यक्रममा उच्च व्यवस्थापनबाटै लापरबाही गरेको देखिएको छ । सौर्यको चालकदलले जहाजलाई तोकिएको रोटेसन मापदण्ड भन्दा निकै माथि उडाउने गरेको प्रवृत्ति देखिएको छ । यसलाई प्रतिवेदनले चिन्ताजनक प्रवृत्ति भनेको छ ।

यो जहाज उडाइरहेका पाइलटले नै सबैभन्दा उच्च पिच रेटमा जहाज उडाएको देखिएको प्रतिवेदनमा उल्लेख छ । दुर्घटनास्थलबाट ब्यागेज हटाउनु र कार्यालयमा राख्नुलाई आयोगले प्रमाण मेटाउन गरेको प्रयास भनेको छ ।

यस प्रकार जहाजको सबै पार्टपुर्जा सही सलामत अवस्थामा रहेको अवस्थामा पनि जहाज दुर्घटनामा पर्नुमा अपरेटरले सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलका प्रावधान पालना गर्न असफल हुँदा जहाज दुर्घटनामा परेको देखिएको छ ।

सौर्य एयरलाइन्स दुर्घटना : आफन्तले भोलि शव पाउने « Kathmandu Pati

‘एक त जहाजमा कति तौल थियो भन्ने मापन नै नगरी सामान भरिनु, सामानमा अति प्रज्वलनशील पदार्थ समेत लापरवाहीपूर्वक राखिनु र जहाज उडानको गतिमा तालमेल नमिल्दा जहाज दुर्घटनामा परेको देखिएको छ,’ प्रतिवेदनको निष्कर्ष छ ।

नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूबाट हुने गम्भीर लापरवाहीलाई समेत बेवास्ता गर्नुलाई नियामक निकायको लापरबाहीका रूपमा लिइएको छ ।

प्राधिकरणले नियमित जाँच गर्ने हो भने ब्यागेज÷कार्गो लोडिङ र सुरक्षामा हुने नियम उल्लंघन पहिचान हुने आयोगको भनाइ छ । आयोगले प्राधिकरणलाई सबै वायुसेवा कम्पनीका हकमा उडान डाटा अनुगमन तथा विश्लेषण गर्न सुझाव दिएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?