
३ साउन, गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा एमाले गाउँ कमिटीले लगाएको ताला प्रशासनको निर्देशनमा खोलिएको छ ।
जिल्ला सुरक्षा समितिले निर्देशन दिएपछि पालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा लगाइएको ताला शुक्रबार खोलिएको हो ।
ताला खोलिएपछि एमालेले भने आपत्ति जनाउँदै विरोध गरेको छ । स्मार्ट बोर्ड खरिद प्रक्रियामा अनियमितता भएको भन्दै गत असार ३० गते उपाध्यक्ष मीना गौतमसहितका जनप्रतिनिधिहरूले हस्ताक्षर गराएर एमालले ताला लगाएको थियो ।
ताला लगाउन हस्ताक्षर गर्ने मीना एमालेबाटै निर्वाचित उपाध्यक्ष हुन् । गाउँपालिका अध्यक्ष भने माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन् ।
नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूको आन्दोलन र मागको बेवास्ता गर्दै प्रशासनले ताला खोल्नु अलोकतान्त्रिक र हस्तक्षपपूर्ण रहेको जनाएको छ ।
गाउँकमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीमाथि कारबाहीको माग गर्दै, दोषी उम्कन खोजे जनप्रतिनिधि र जनताले थप आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।
प्रतिक्रिया 4