+
+
Shares

बनेपा फिल्म स्टुडियोको माटो अवैधरुपमा बेचबिखन, तत्काल रोक्न पत्र

माटो निकाल्दै गरेको सूचना पाएपछि बोर्ड अध्यक्ष दिनेश डीसी आफै केही दिनअघि उक्त स्थानमा पुगेका थिए । ‘रातीराती माटो निकालेर अन्यत्र लगेर बेच्ने गरेको रहेछ । हाम्रो एरियाको टुप्पाको डाँडातिरको सबै माटो लगिसक्या छ’ अध्यक्ष डीसीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बनेपामा निर्माणाधिन सिनेपाः फिल्म स्टुडियोको जग्गामा माटो अतिक्रमण र उत्खनन गरी अन्यत्र विक्री गर्ने कार्य भइरहेको छ।
  • चलचित्र विकास बोर्डले माटो निकाल्ने कार्य रोक्न जिल्ला प्रशासन, प्रहरी र वन कार्यालयमा निवेदन दिएको छ तर प्रशासनले बेवास्ता गरेको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३० गते उक्त स्टुडियो निर्माणको औपचारिक घोषणा गरेका थिए र सन् २०२६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

काठमाडौं । बनेपामा निर्माणाधिन ‘सिनेपाः फिल्म स्टुडियो’को जग्गालाई अतिक्रमण र उत्खनन गरेर त्यहाँको माटो अन्यत्र विक्री गर्ने गरेको पाइएको छ ।

रातको समयमा माटो निकालेर स्थानीय हाउजिङ, प्लटिङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लैजाने गरेको पाइएको हो ।

प्रधानमन्त्रीले स्टुडियो शिलान्यास गरेपछि केही समय रोकिएको त्यहाँको माटो चोरेर अन्यत्र लैजाने कार्य रोकिए पनि पछिल्लो ३ दिनयता यस्तो कार्य पुनः सुरु भएको चलचित्र विकास बोर्डले जनाएको छ ।

अहिले बनेपा १० र १३ मा पर्ने ४२ रोपनी जग्गामा स्टुडियो निर्माण कार्य सुरु भएको छ । त्यहाँको भौगोलिक अवस्था मात्र होइन, टेलिकमको टावर लगायत वरपरका संरचनालाई जोखिम तुल्याउने गरि डोजर लगाएर माटो निकाल्ने काम भइरहेको हो ।

माटो निकाल्दै गरेको सूचना पाएपछि बोर्ड अध्यक्ष दिनेश डीसी आफै केही दिनअघि उक्त स्थानमा पुगेका थिए । ‘रातीराती माटो निकालेर अन्यत्र लगेर बेच्ने गरेको रहेछ । हाम्रो एरियाको टुप्पाको डाँडातिरको सबै माटो लगिसक्या छ’ अध्यक्ष डीसीले भने ।

बनेपा १० का वडाध्यक्ष चन्द्र खड्काले पनि आफूहरूको अनुमति बिना स्थानीय केही व्यक्तिले माटो निकालेको बताए । उनले तत्काल यो कार्यलाई रोक्न भन्ने अनलाइनखबरलाई बताए ।

स्थानीय विष्णु थापाले सार्वजनिक बाटो बनाउँछु भनेर आफूसँग मौखिकरुपमा कुरा गरेर गएको तर स्टुडियो क्षेत्रको माटो झिकिएको कुरा बोर्डको उजुरीपछि थाहा पाएको वडाध्यक्ष खड्काले बताए । ‘हामीले लिखितरुपमा कसैलाई माटो झिक्ने अनुमति दिएका छैनौं’ वडाध्यक्ष खड्काले भने ।

माटो झिक्ने कार्य तत्काल रोक्न आग्रह गर्दै बोर्डले जिल्ला प्रशासन कार्यालय, प्रहरी, वन कार्यालय र वडामा निवेदन दिइसकेको छ । तर, सबै पक्षले सरकारी जग्गा संरक्षणमा बेवास्ता गरेको अध्यक्ष डीसीले बताए ।

‘सीडीओलाई दुईतीनपटक भन्यौं । उहाँहरुबीच समन्वय नभएको देखियो । विकास बोर्डको काम हो भनेर पन्छिन खोजेजस्तो देखियो । सरकारी जमिन मिच्ने र अतिक्रमणको काम हेर्ने स्थानीय प्रशासन र वडाको हो’ डीसीले भने ।

प्रशासन र प्रहरीले नजरअन्दाज गरेपछि शक्तिकेन्द्रको दबाबमा माटो लैजाने कार्य सुरु भएको बोर्डले बताएको छ । ‘प्रहरी प्रशासनले यो कार्यलाई नजरअन्दाज गरिरहेको छ’ अध्यक्ष डीसीले भने ।

माटो खोस्रिने मान्छेलाई बोर्डले अख्तियारमा समेत उजुरी दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक सीडीओ तथा सूचना अधिकारी सुदर्शन श्रेष्ठले यसबारे आफूलाई थाहा नभएको बताए ।

गत दशैंमा माटो उत्खनन गर्दा स्थानीयबासी समेत आक्रोशित थिए । त्यसपछि केही समय उत्खनन रोकिएको थियो । तर, अहिले पुनः सुरु भएपछि जोखिम बढेको हो ।

बैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित समारोहमा उक्त स्टुडियो निर्माणको औपचारिक घोषणा गरेका थिए ।

बनेपा नगरपालिकाको वडा १० र १३ को ४२ रोपनी जग्गामा अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण हुन लागेको हो । सन् २०२६ भित्र निर्माण पुरा हुने लक्ष्य राखिएको स्टुडियोको बजेट ३९ करोड नेरु छ । ठेक्का प्रक्रिया स्वीकृत गरेसँगै अहिले निर्माण प्रक्रिया सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?