News Summary
Generated by OK AI. Editorially reviewed.- मधुमेह र प्रि-डाइबेडिजका बिरामीहरूको संख्या बढ्दै गइरहेकाले रातको खानापछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न आवश्यक छ।
- रातको खाना खाएपछि १०–१५ मिनेट हल्का हिँड्दा रगतमा चिनीको मात्रा कम गर्न मद्दत मिल्छ र पाचन प्रक्रिया सुधार हुन्छ।
बदलिँदो जीवनशैली र अस्वस्थ खानपानका कारण मधुमेह र प्रि-डाइबेडिजका बिरामीहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा मधुमेहबाट पीडित व्यक्तिहरूका लागि स्वस्थ रहन रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नु आवश्यक छ । प्रायः रातको खानापछि मधुमेहका बिरामीहरूको रगतमा चिनीको मात्रा बढ्छ, जसले उनीहरूको समग्र स्वास्थ्यमा असर गर्छ ।
रातको खाना दिनको अन्तिम भोजन हो । त्यसपछि शरीरले घण्टौंसम्म आराम गर्छ, जसले गर्दा चिनीको मात्रा बढ्ने सम्भावना धेरै हुन्छ । यदि रातको खानापछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न चाहनुहुन्छ भने, आफ्नो बानीमा केही परिवर्तनहरू ल्याएर मधुमेह नियन्त्रण गर्न सकिन्छ ।
रातको खानापछि रगतमा चिनी कसरी कम गर्ने ?
रातको खानापछिको बानीलाई रगतमा चिनी नियन्त्रण गर्न निकै महत्त्वपूर्ण मानिन्छ । विशेष गरी मधुमेह वा प्रि-डाइबेटिज भएका व्यक्तिहरूका लागि । तसर्थ, रातको खानापछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न निम्न परिवर्तनहरू आफ्नो बानीमा समावेश गर्न सकिन्छ ।
१. रातको खानापछि हल्का हिँडाइ
मधुमेहका बिरामीहरूका लागि रातको खाना खाएपछि हल्का हिँड्नु आवश्यक मानिन्छ । रातको खानापछि १०–१५ मिनेट हल्का हिँड्दा रगतमा चिनीको मात्रा कम गर्न मद्दत मिल्छ । हिँड्दा शरीरका मांसपेशीहरूले ग्लुकोज अवशोषण गर्छन्, जसले चिनीको मात्रा अचानक बढ्न दिँदैन । साथै, हिँड्दा पाचन प्रक्रिया सुधार हुन्छ र निद्रा पनि राम्रो हुन्छ ।
२.रातको खानामा सन्तुलित आहार
मधुमेहका बिरामीहरूका लागि रातको खानामा पोषणको सन्तुलन हुनु अत्यन्त महत्त्वपूर्ण छ । खानामा धेरै कार्बोहाइड्रेट लिँदा रगतमा चिनीको मात्रा तीव्र रूपमा बढ्छ । त्यसैले, रातको खानामा फाइबर, कम चिल्लो र प्रोटिनयुक्त खानेकुराहरू समावेश गर्नुपर्छ । खानामा ब्राउन राइस वा मल्टिग्रेन रोटी, हरियो तरकारी र दाल समावेश गर्न सकिन्छ ।
३.मिठाइ र रिफाइन्ड कार्ब्सबाट बच्ने
खाना खाएपछि धेरैलाई मिठाइ खाने बानी हुन्छ । तर, रातको खानापछि मिठाइ, केक, कुकिज वा मैदाबाट बनेका खानेकुराहरू खाँदा रगतमा चिनीको मात्रा तीव्र रूपमा बढ्न सक्छ । रिफाइन्ड कार्ब्स छिट्टै पच्छ र रगतमा चिनीको मात्रा अचानक बढाउँछ । यदि मिठाइ खाने मन छ भने स्वस्थ ड्राई फ्रुट्स वा कम ग्लाइसेमिक इन्डेक्स भएका फलफूलहरू खान सकिन्छ ।
४.पर्याप्त पानी पिउने
खाना खाएपछि जागा रहँदासम्म थोरै-थोरै पानी पिउनुपर्छ । पानी पिउँदा शरीरबाट अतिरिक्त चिनी पिसाबमार्फत बाहिर निस्कन्छ । तर, खाना खाएको तुरुन्तै धेरै पानी पिउनबाट बच्नुपर्छ । खाना खाएको आधा घण्टापछि मनतातो पानी वा हर्बल चिया पिउन सकिन्छ ।
५.नियमित रगतमा चिनी जाँच
रातको खाना खाएको १–२ घण्टापछि रगतमा चिनीको मात्रा जाँच गर्नुपर्छ । यसले रातको खाना र जीवनशैलीले रगतमा चिनीको मात्रामा कस्तो असर पारिरहेको छ भनेर बुझ्न मद्दत गर्छ । साथै, रातको खानामा के समावेश गर्ने वा बानीमा परिवर्तन आवश्यक छ कि छैन भन्ने कुरा थाहा पाउन पनि सहयोग गर्छ ।
६.औषधिको सही समयमा सेवन
यदि नियमित रूपमा मधुमेहको औषधि वा इन्सुलिन लिनुपर्छ भने चिकित्सकको सल्लाहअनुसार औषधिको उचित मात्रा र समयमा लिनुपर्छ । औषधि खाने समय निश्चित गर्नुपर्छ, ताकि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहोस् । औषधिको मात्रा आफूखुसी परिवर्तन गर्नु हुँदैन र सधैं चिकित्सकको सल्लाह लिनुपर्छ ।
ध्यान दिनुपर्ने कुरा
रातको खानापछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न औषधिको सेवन मात्र पर्याप्त हुँदैन, रातको दिनचर्या पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले, रातको जीवनशैलीमा सानो परिवर्तन, नियमित हल्का हिँडाइ, खानामा परिवर्तन र सही बानीहरू अपनाएर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ ।
रातको खानापछि चिनीको मात्रा कति हुनुपर्छ ?
रातको खाना खाएपछि रगतमा चिनीको मात्रा सामान्यतः १४० मिलिग्राम प्रति डेसीलिटरभन्दा कम हुनुपर्छ । मधुमेह भएका व्यक्तिहरूका लागि चिकित्सकले १२० मिलिग्राम प्रति डेसीलिटरभन्दा कम राख्न सल्लाह दिन्छन् । यो माक्रा हरेक व्यत्तिका लागि फरक–फरक हुन सक्छ, त्यसैले चिकित्सकको सल्लाह लिनुपर्छ ।
रगतमा चिनीको मात्रा बढेको मुख्य लक्षणहरू के हुन् ?
रगतमा चिनीको मुख्य लक्षणहरूमा बारम्बार पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने, धेरै भोक लाग्ने, थकान महसुस हुने, धमिलो देखिने र घाउ वा चोट ढिलो निको हुने समावेश छन्।
प्रतिक्रिया 4