
News Summary
Generated by OK AI. Editorially reviewed.- यो साता सेयर बजार ३.९ प्रतिशत अर्थात् ११२ अंक बढेर २९८२ अंकमा पुगेको छ, जुन गत वर्ष साउन ३० यताकै उच्च हो।
- बजार पूँजीकरण बिहीबार ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ र हाइड्रोपावर समूह सूचकले नयाँ रेकर्ड ३९४१ अंक बनाएको छ।
- नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य उच्च दरले बढ्दा अन्य समूह सूचकले १०.१९ प्रतिशत वृद्धि गरेको छ।
९ साउन, काठमाडौं । यो साता सेयर बजार ३.९ प्रतिशत अर्थात् ११२ अंक बढेको छ । गत साता २८७० अंकमा रहेर बन्द भएको बजार यो साता २९८२ अंकमा पुगेको छ । बजारको यो अंक गत वर्षको साउन ३० यताकै उच्च हो । गत वर्षको साउन ३० गते बजार ३ हजार अंक पुगेको थियो ।
असारको मध्य (१५ गते)बाटै बजारले वृद्धिको रफ्तार समातेको छ । सातामा ५ दिन कारोबार हुँदा सबै दिन बजार बढ्यो । आइतबार जम्मा ०.३२ अंक बढेको बजार सोमबार २१.७६, मंगलबार ८०.९७, बुधबार ५.१७ र बिहीबार ३.७६ अंक बढ्यो ।
यो साता कारोबार रकम पनि उल्लेख्य छ । आइतबार २१ अर्ब ४६ करोडको कारोबार भयो । यो कारोबार रकम ११ महिना (२ भदौ)यताकै उच्च हो । त्यस्तै सोमबार १६ अर्ब ३२ करोड, मंगलबार २० अर्ब ८ करोड, बुधबार १९ अर्ब ५७ करोड र बिहीबार १८ अर्ब ४९ करोडको भयो ।
यो साता सेयर बजारमा बने तीन नयाँ रेकर्ड
यो साता बजारमा तीन वटा नयाँ रेकर्ड बनेको छ । पहिलो रेकर्ड हो बजारको पूँजीकरण । बिहीबार बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । अब बजार बढ्दै जाँदा हरेक दिन पूँजीकरणले नयाँ रेकर्ड बनाउँदै जानेछ ।
त्यस्तै बुधबार अन्य समूहले नयाँ रेकर्ड बनाएको छ । यो समूह सूचक बुधबार हालसम्मकै उच्च २७२७ अंकमा पुग्यो । यो साता सबैभन्दा धेरै बढ्नेमा पनि यहीं समूह रह्यो ।
बिहीबार हाइड्रोपावर समूह सूचकले नयाँ रेकर्ड बनाएको छ । हाइड्रोपावर ३९४१ अंकमा पुगेको छ । हाइड्रोपावरमा नयाँ कम्पनी थपिने क्रम बढ्नु र लगानीकर्ता पनि आशावादी भएकाले यो सेक्टरले उचाइ लिएको छ ।
बैंकलाई तिर्नुपर्ने ब्याज घट्दा वित्तीय लागत घट्न गई कम्पनीहरुको नाफामा सुधार भइरहेको छ । चौथो त्रैमासमा हाइड्रोपावर कम्पनीको रिपोर्ट तुलनात्मक रुपमा राम्रो आउने लगानीकर्ताको विश्वासले यो समूह सूचकले नयाँ रेकर्ड बनाएको छ ।
अन्य समूहमा उच्च वृद्धि, बैंकिङ सुस्तायो
गत साता ६.१२ प्रतिशत बढेको बैंकिङ समूह यो साता जम्मा ०.२५ प्रतिशत मात्रै बढ्यो । बैंकिङको वृद्धिदर नेप्सेकोभन्दा न्यून हो । गत साता उल्लेख्य बढेकाले बैंकिङ सेक्टरबाट नाफा बुक भइ अन्यन्त्र सरेको अनुमान छ ।
यो साता अन्य समूह सबैभन्दा धेरै १०.१९ प्रतिशत बढेको छ । अन्य समूहमा रहेका ९ कम्पनीमध्ये केहीको मूल्य उच्च दरले बढेसँगै सूचकले गत बुधबार नयाँ रेकर्ड नै बनायो।
मुख्यतः दुई ठूला कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरले बढ्दा समूह सूचकले उचाइ लिएको छ । यो साता नेपाल पुनर्बीमाको मूल्य १६.९२ प्रतिशत बढेर १५९८ रुपैयाँ पुगेको छ भने हिमालयन रिको ८.८८ प्रतिशत बढेर १ हजार ६७ रुपैयाँ पुगेको छ ।
त्यस्तै अंकित मूल्य १ सयको ट्रेड टावर यसै समूहमा सूचीकृत भएर मूल्य ६४८ मा पुग्दा पनि प्रभाव पर्यो । यीबाहेक अन्य कम्पनीले भने समूह वृद्धिलाई खास योगदान दिन सकेका छैनन् ।
धेरै कारोबार भएका कम्पनी
यो साता रकमका आधारमा धेरै कारोबार भएकामा कम्पनीमा नेपाल पुनर्बीमा रह्यो । गत साता बुटवल पावर थियो । नेपाल पुनर्बीमाको साताभर ३ अर्ब ४९ करोडको कारोबार भयो ।
त्यस्तै दोस्रोमा रहेको हिमालयन रिको ३ अर्ब १७ करोडको भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, राधि विद्युत्, फस्र्ट माइक्रोफाइनान्स, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा छन् ।
कारोबार संख्याका आधारमा भने हिमालयन रिइन्स्योरेन्स, निफ्रा, शिवम् सिमेन्ट, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप, नेपाल पुनर्बीमा, साहस ऊर्जा, माथिल्लो तामाकोशी, सिंगटी हाइड्रोपावर र कुमारी बैंक रहे ।
आईपीओ, एफपीओ तथा हकप्रद सेयर खुलेका छन् ?
आम सर्वसाधरणका लागि हाल कुनै पनि कम्पनीको आईपीओ/एफपीओ खुलेको छैन ।
त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई खुलेको बन्दीपुर केबुलकार र स्वस्तिक लघुवित्तको आईपीओ भर्ने म्याद शुक्रबार नै अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारमा रहेकाकै लागि खुलेको बुंगल हाइड्रोपावरको आईपीओ भर्ने म्याद आइतबार अन्तिम दिन रहेको छ ।
तनहुँका प्रभावित स्थानीयका लागि पनि बन्दीपुर केबुलकारको आईपीओ खुलिरहेको छ । साउन २० गतेसम्म प्रभावितले आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितका रुपमा तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका ७ का स्थानीय पर्दछन् ।
बझाङ जिल्लाका प्रभावित स्थानीयका लागि बुंगल हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । प्रभावित स्थानीयले छिटोमा साउन ११ गतेसम्म र ढिलोमा २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
४ कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । बरुण हाइड्रोपावर, पिपुल्स पावर, नेपाल इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ ।
बरुणमा साउन १९ गतेसम्म, पिपुल्समा साउन ११ सम्म, नेपाल इन्स्योरेन्समा साउन २६ सम्म र एसियन लाइफमा साउन १३ सम्म आवेदन दिन सकिनेछ । बरुणको शत प्रतिशत, पिपुल्सको ५० प्रतिशत, नेपाल इन्स्योरेन्सको ३४.७८, एसियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयर खुलेको हो ।
विश्वका ठूला बजार उकालोतिरै
विश्वका ठूला बजार पनि उकालो गतिलाई निरन्तरता दिएका छन् । अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स यो साता ०.२७ प्रतिशत बढ्यो । यद्यपि विगत एक महिनामा यो सूचक ३.९८ प्रतिशत बढिसकेको छ । अमेरिकाकै एसएण्ड पी ५०० सूचक एक महिनामा ४.४५ प्रतिशत बढेको छ ।
चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता १.५५ प्रतिशत बढ्यो । विगत एक महिनामा यो सूचक ४.१३ प्रतिशत बढिसकेको छ । जापानको निक्की २२५ इन्डेक्स यो साता ३.४६ प्रतिशत बढेको छ । विगत एक महिनामा यो सूचक ६.४६ प्रतिशत बढेको छ ।
लण्डनको एफटीएसई १०० सूचक साताभर १.८५ प्रतिशत बढेको छ । विगत एक महिनामा यो सूचक ४.८१ प्रतिशत बढेको छ । भारतको बीएसई सेन्सेक्स यो साता ०.५० प्रतिशत घटेको छ । विगत १ महिनामा यो सूचक १.३४ प्रतिशत घटेको छ ।
प्रतिक्रिया 4