
११ साउन, काठमाडौं । नेपाल आयल निगमले उपभोक्तामाथि भार थपिने गरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा बढाउने तयारी गरेको छ ।
आयल निगमले उपभोक्ता हित विपरीत ट्यांकरको भाडा बढाउने तयारी अगाडि बढाएको हो । विगतमा विभिन्न सुझाव समितिले ट्यांकरको भाडा महँगो भएकाले घटाउन दिएका सुझाव विपरीत निगमले भाडा वृद्धि गर्न लागेको हो ।
निगमले ट्यांकरको ढुवानी भाडा बढायो भने यसको सिधा प्रभाव उपभोक्तामाथि पर्छ । किनकि, यसरी भाडा बढाइए उपभोक्ताले खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्यमा जोड्ने गरिन्छ ।
निगम प्रवक्ता मनोज ठाकुरले भाडा बढाउने विषयमा छलफल भएको तर निर्णय भइनसकेको बताए ।
उनका अनुसार अहिले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरले लिँदै आएको भाडा २०७८ सालमा लागु भएको हो । २०७८ देखि ट्यांकरको भाडा बढेको छैन ।
‘हामीले अहिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलाई दिँदै आएको भाडा २०७८ सालमा लागु भएको हो,’ उनले भने, ‘ढुवानीकर्ताहरूले पनि बारम्बार भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आउनुभएको थियो । भाडा वृद्धि गर्ने विषय छलफलकै क्रममा छ ।’
उनका अनुसार भाडा वृद्धिको बारम्बार माग आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयस्तरमै छलफल गरेका थिए । छलफलपछि यस विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति बनेको थियो ।
‘यस विषयमा अध्ययन समितिले मन्त्रालयमा प्रतिवेदन पेस गरेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘कति बढाउने भन्ने विषय छलफलकै क्रममा रहेको छ, निर्णय आइसकेको छैन ।’
अहिले श्रमिकको पनि पारिश्रमिक बढिसकेको छ । राज्यले नै दुई पटक सार्वजनिक यातायातको भाडा समायोजन गरिसकेको छ । तर, पेट्रोलियम ढुवानी गर्नेको भाडा समायोजन किन नहुने भनेर उनीहरूले बारम्बार प्रश्न गर्दै भाडा बढाउन माग गरेको निगमको भनाइ छ ।
आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भाडा वृद्धिसम्बन्धी प्रतिवेदन मन्त्रालयमा पेस भएको र छलफलकै क्रममा रहेको बताए ।
प्रतिक्रिया 4