 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक उन्मुक्ति पार्टीले विवादमा मुछिएकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरी लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ।
- पार्टीले रञ्जितालाई विधान विपरीत कार्य गरेको, बैठक नबोलाएको र पोखराको जग्गा विवादमा संलग्न भएको भन्दै पदमुक्त गरेको जनाएको छ।
- रञ्जिताले बैठक अवैध भएको दाबी गर्दै नयाँ अध्यक्ष मान्य नहुने बताएकी छन् भने पार्टीभित्र विवाद समाधान नहुने देखिएको छ।
१५ साउन, काठमाडौं । पटक पटक विवादमा मुछिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट राष्ट्रिय भेलाले हटाए पनि पार्टीभित्रको संकट भने मत्थर नहुने देखिएको छ । पार्टी अध्यक्षलाई पदमुक्त गर्ने र उक्त स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिने एजेण्डामा नाउपाको बैठक बुधबार र बिहीबार बस्यो ।
बुधबार बसेको बैठकले रञ्जितालाई पदमुक्त गर्न गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद, पालिकामा निर्वाचित प्रमुख–उपप्रमुख सहभागी भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउने निर्णय सर्वसम्मत गरिएको भेलाका संयोजक रामलाल डगौराले दाबी गरेका छन् ।
१४ साउनमा रञ्जितालाई बर्खास्त गर्न बैठकमा सहमति जुटेपनि नयाँ अध्यक्षको चयन गर्न नसक्दा अर्को दिन (१५ साउन)का लागि बैठक सारिएको थियो । भेलाले पार्टी संरक्षक लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । लालवीर पार्टी संरक्षक रेशमका बुबा हुन् ।

अध्यक्षका लागि रामलाल डंगौरा र गंगाराम चौधरी पनि आकांक्षी थिए । पार्टी पछिल्लो समय अनिर्णयको बन्दी बनिरहेको समयमा नयाँ नेतृत्व चयन भएको भेलाका संयोजक डंगौराले बताए ।
नाउपाले रञ्जितालाई पदमुक्त गर्नका लागि मूलतः पाँच कारण रहेको जानकारी गराएको छ । नाउपाका महासचिव ठाकुरसिंह थारूका अनुसार रञ्जिताले विधान विपरीत कार्य गरेका कारणले पदमुक्त गर्नु परेको हो ।
विधानले कार्यबाहक अध्यक्ष बनाउन नमिल्ने व्यक्तिलाई मनोनीत गरेको हुँदा उनलाई हटाउनु परेको दोस्रो कारण रहेको नाउपाले जानकारी गराएको छ ।
रञ्जिताले पोखराका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । केन्द्रीय सदस्यहरूले पटक–पटक बैठक बोलाउन आग्रह गर्दा समेत उनले बेवास्ता गर्दै आएको तेस्रो कारण रहेको जनाइएको छ ।

‘पटक–पटक बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यले आग्रह गर्यौं । बैठक बोलाउन चासो देखाउनुभएन,’ महासचिव थारूले भने ।
कार्यबाहक अध्यक्ष तोकेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिनका लागि दिइएको समयभित्र जवाफ नदिएको हुँदा पदमुक्त गर्नुपरेको अर्को (चौथो) कारणमा उल्लेख गरिएको छ । पाँचौं कारण, पोखराको लिचिबारी जग्गामा चलखेल गर्न रञ्जिता संलग्न भएको प्रकरणलाई बनाइएको छ ।
दुईदिन बैठक बसेर अध्यक्ष हटाउने र लालवीर लाई जिम्मेवारी तोकपनि नाउपाभित्रको विवाद समाधान भने नहुने देखिइसकेको छ । विवाद साम्य नहुने छनक रञ्जिताले बिहीबार देखाइसकेकी छन् ।
रञ्जिताले बैठकलाई अवैध भएको दाबी गर्दै नयाँ अध्यक्ष मान्य नहुने अनलाइनखबरसँग बताइन् । रञ्जिताले भनिन्, ‘अबैध बैठक भनिसकेपछि केही प्रतिक्रिया दिनुपर्यो र ?’ बैठक/भेला बोलाउने अधिकार विधानले अध्यक्षलाई दिएको उनले उल्लेख गरेकी छन् ।
बिहीबार अध्यक्ष चुनिएका लालवीरले रञ्जिताले बाहिर बसेर आरोप लगाउने र तर बैठक सामना गर्न नसक्ने बताए । भेलालाई अवैध भन्ने रञ्जिताको बोलीको उनले खण्डन गर्दै भने,‘उहाँ के बोल्नु हुन्छ हामी सबैलाई थाहा छ । उहाँको विषयमा धेरै कमेन्ट गर्न चाहँदैनौं ।’
रञ्जिताले आजको बैठक मात्रै नभई यसअघि बसेको केन्द्रीय समितिको बैठक विधान विपरित भएकाले अस्विकार गर्ने बताएकी छन् । साउन ३, ९ र ११ गते बसेको केन्द्रीय समितिको बैठक विधान विपरीत भएको रञ्जिताको ठहर छ ।
ती सबै बैठक संसदीय दलका नेता गंगाराम चौधरीले आव्हान गरेका थिए । साउन ११ गते बसेको केन्द्रीय समिति बैठकले रञ्जितालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बैठक र निर्णय अवैध भएको भन्दै रञ्जिताले संसदीय दलका नेता गंगारामलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेकी छन् ।
‘पाटीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकार भन्दा बाहिर गई बैठक बसी गैरकानूनी निर्णयहरु गरेको पाईएको हुदाँ तपाईलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र आधार कारणयुक्त एवं चिक्त बुझ्दो स्पष्टीकरण पेश गर्नुहोला । अन्यथा पार्टीको विधान बमोजिम तपाईलाई कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ,’ रञ्जिताले गंगारामलाई स्पष्टीकरणलाई लागि पठाइएको पत्रमा भनिएको छ ।
गंगारामले पत्र लेखेर बैठकमा आह्वान गर्न विधानले नदिने रञ्जिताको दाबी छ । विधान विपरीत अनाधिकृत रुपमा बैठक बोलाएको हुँदा कारबाही किन नगर्ने ? भनी रञ्जिताले गंगारामलाई स्पष्टीकरण सोधेकी छन् ।

नाउपाका नेताहरुका अनुसार पदमुक्त पार्टीले पदमुक्त गरेकी रञ्जिताले पठाएको स्पष्टीकरणको जवाफ गंगारामले फर्काउने छैनन् । आफूमाथि अनुशासन समितिले सोधेको स्पष्टीकरण नदिई रञ्जिताले त्यही प्रक्रिया अर्कोतर्फ चालेकी छन् । पार्टी अध्यक्षकै हैसियतमा रञ्जिताले गंगारामलाई स्पष्टीकरण सोधेकी हुन् । स्पष्टीकरण सोधेको बोधार्थ निर्वाचन आयोग र पार्टीको निर्वाचन तथा अनुशासन विभागलाई बनाइएको छ ।
नयाँ अध्यक्षको नाम निर्वाचन आयोगमा अभिलेखीकरण गर्दा कानुनी अड्चन आउनसक्ने अवस्था बारे भने संरक्षक रेशम पक्षधर सशंकित छ । रञ्जितालाई पदमुक्त गरेको निर्णय र नयाँ अध्यक्ष बनाएको विषयलाई निर्वाचन आयोगले स्वीकार नगर्ने भयले बुधबार अध्यक्ष चयन गरिएन ।
निर्वाचन आयोगले अद्यावधिक गर्न विधि पुर्याउनका लागि थप छलफल आवश्यक रहेकाले बैठक एकदिन लम्बिएको संरक्षक रेशमले जानकारी गराए ।

रञ्जिताका कारणले पार्टीमा संकट पुगेको ठहर गरेका नाउपाका नेताहरु बैठक अघि नै उनलाई बर्खास्त गर्ने मनस्थिति सहित भेला भएका थिए । निर्वाचन आयोग वा अदालतले यो विषय प्रवेश पाए कानुनी उपचार खोज्न पार्टी तयार रहेर नै निर्णय गरिएको महासचिव थारू बताउँछन् ।
‘अध्यक्ष हटाएपछि अर्को व्यक्ति बनाउनै पर्यो,’ महासचिव थारूले भने,‘विधिसंगत हटाउनका लागि राष्ट्रिय भेला बोलाएका हौं । केन्द्रीय समितिले मात्रै हटाएको त होइन नि ?’ विधि पुर्याउन र पछि कानुनी अड्चन नआउनका लागि भेला गरेर रञ्जितालाई हटाइएको थारू दाबी गर्छन् ।
केन्द्रीय समितिको बैठकलाई अवैध भएको दाबी गरेकी रञ्जिताले राष्ट्रिय भेलालाई पनि मान्यता नदिने संकेत गरिसकेकी छन् । अध्यक्षले राष्ट्रिय महाधिवेशन, राष्ट्रिय भेला, केन्द्रिय कमिटी, सचिवालय कमिटिको बैठकको अध्यक्षता गर्ने प्रावधान लागु नगरिएको उनले जनाएकी छन् ।
आफू अस्वस्थ रहेको बेला बैठकहरु बोलाइएको उनले बताएकी छन् । अस्वस्थ रहेकै कारण पार्टीका काममा क्रियाशील हुन नसकेको जनाउँदै उनले कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।
२०८० पुसमा भएको महाधिवशेनको समितिलाई निर्वाचन आयोगले अद्यावधिक नगरेको हुँदा त्यसैलाई आधार देखाउँदै रञ्जिताले पार्टीभित्र समानान्तर गतिविधि गर्ने देखिएको छ ।

उक्त महाधिवेशनबाट तोकिएका पदाधिकारी गैरकानुनी भएको रञ्जिताको दाबी छ । निर्वाचन आयोगको उक्त निर्णय उपर सर्वोच्च अदालतमा विचाराधिन रहेको तथ्य समेत रञ्जिताले अर्को पक्षलाई देखाएकी छन् ।
नाउपाका नेताहरुका अनुसार अब रञ्जिताले भेलाको संयोजक डगौरालाई पनि स्पष्टीकरण सोध्न सक्नेछिन् । भेला बोलाउने वैधानिक अधिकार आफूलाई भएको रञ्जिताको दाबी छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4