+

डाइटचार्ट : मधुमेहका बिरामीले के खाने, के नखाने ?

२०८२ साउन  १८ गते १३:०५ २०८२ साउन १८ गते १३:०५
डाइटचार्ट : मधुमेहका बिरामीले के खाने, के नखाने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधुमेह भएका व्यक्तिहरूले चिनी, रिफाइन्ड कार्बोहाइड्रेट र उच्च ग्लाइसेमिक इन्डेक्स भएका खानेकुरा कम वा बन्द गर्नुपर्छ।
  • दैनिक खानामा फाइबरयुक्त खानेकुरा, प्रोटिन, चिल्लो पदार्थ र कार्बोहाइड्रेटको सन्तुलन कायम राख्नुपर्छ।

जब कसैलाई मधुमेह हुन्छ, त्यसको अर्थ शरीरमा इन्सुलिन नामक हर्मोन या त पर्याप्त मात्रामा उत्पादन हुँदैन, या त उत्पादन भए पनि इन्सुलिनले ठिकसँग काम गर्न सक्दैन ।

इन्सुलिनले रगतमा भएको चिनी (ब्लड सुगर) लाई कोषहरूमा पुर्‍याएर ऊर्जा बनाउन सहयोग गर्छ । त्यसैले इन्सुलिनको कमी वा कार्यक्षमताको बाधा हुँदा रगतमा चिनीको मात्रा बढ्न थाल्छ । यस्तोमा मधुमेह भएका व्यक्तिहरूले आफ्नो रगतमा सुगरको स्तर नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनुपर्छ ।

खानेकुराहरूको सामान्य सिद्धान्त

मधुमेह भएको व्यक्तिले सुगर लेभल बढाउने खानेकुराहरू कम खानुपर्छ । चिनी, रिफाइन्ड कार्बोहाइड्रेट र उच्च ग्लाइसेमिक इन्डेक्स भएका खानेकुराहरू कम खाने वा सकेसम्म पूर्णतया बन्द गर्नुपर्छ ।

फाइबरले रगतमा सुगरको अवशोषणलाई ढिलो गर्छ, जसले सुगर लेभल नियन्त्रित रहन्छ । त्यसैले दैनिक खानामा फाइबरयुक्त खानेकुरा समावेश गर्नुपर्छ । दैनिक खानामा प्रोटिन, चिल्लो पदार्थ र कार्बोहाइड्रेटको सन्तुलन कायम राख्नुपर्छ । साथै खानेकुराको मात्रा र खाने समयमा ध्यान दिनुपर्छ ।

के खाने ?

फलफूल

मधुमेहका बिरामीले सबै खाले फलफूल खान मिल्छ तर मात्रा भने मिलाउनुपर्छ । तर उच्च ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्त्व) भएको फलफूल कम खानुपर्छ ।

जस्तै:- स्याउ, एभोकाडो, अम्बा, ठिक्क पाकेको मेवा लगायत चिनीको मात्रा कम भएका फलफूल खान सकिन्छ ।

कम खाने : सुगर लेभल नियन्त्रित भएको बेला हप्तामा १–२ पटक, थोरै मात्रामा आधा आँप र केरा पनि खान सकिन्छ ।

अन्न 

मधुमेहको समस्या भएका व्यक्तिले दैनिक खाने अन्नमा फापर, कोदो, जौको समावेश गर्न सक्छन् । यिनीहरूमा फाइबर धेरै हुन्छ र सुगर लेभल नियन्त्रणमा मद्दत पुग्छ ।

फापर/कोदोको रोटीमा गहुँको तुलनामा फाइबर धेरै र ग्लुटेन कम हुन्छ । मकैको च्याँख्लामा भातभन्दा कम कार्बोहाइड्रेट भए पनि उच्च ग्याइसेमिक इन्डेक्स हुन्छ, त्यसैले कम खानुपर्छ । सेतो भातको सट्टा ब्राउन राइस खान सकिन्छ, तर सानो कचौरा (१०० ग्राम) मा सीमित राख्नुपर्छ ।

कम खाने : सेतो चामल, रिफाइन्ड मैदा, सेतो पाउरोटीले सुगर लेभल तुरुन्तै बढाउँछ । त्यसैले यस्ता खानेकुरा एकदमै कम खानुपर्छ ।

तरकारी

दैनिक खानामा हरियो तरकारी र सागपात जस्तै पालुङ्गो, रायो, ब्रोकाउली, सिमी, बोडी, काउली आदि समावेश गर्नुपर्छ । पोटासियम र फाइबरले धेरै भएको तरकारीले मुटुको स्वास्थ्य र सुगर नियन्त्रणमा सहयोग गर्छ ।

मधुमेहको समस्या भएका व्यक्तिहरूले दैनिक रुपमा गाजर, काँक्रो, मुला जस्ता सलाद पनि खानु लाभदायक हुन्छ । यसमा कम क्यालोरी हुन्छ जसले सुगर नियन्त्रणमा सहयोग गर्छ ।

कम खाने : आलु, पाकेको फर्सी, जस्ता तरकारीमा कार्बोहाइड्रेट धेरै हुन्छ, त्यसैले थोरै मात्रामा खानुपर्छ ।

प्रोटिन

मुगी, मुसुरो, चना जस्ता दालमा प्रोटिन र फाइबरको मात्रा राम्रो हुन्छ जसले सुगर नियन्त्रणमा सहयोग गर्छ । त्यसैले दैनिक सानो कचौरा (१०० ग्राम) दाल खाने । माछा मासु खाने हो भने त्यसबाट प्रोटिन पाइने पाइन्छ । शाकाहारीका लागि भने तोफु वा भटमासको सातु खान सक्छिन् ।

पेय पदार्थ

बिहान खाली पेटमा मनतातो पानी पिउँदा पाचन प्राणी सुधार हुन्छ । एलोवेरा जुस, अमलाको जुस घरमै बनाएर सानो मात्रा (१००–१५० मिली) पिउन सकिन्छ । साथै दालचिनी/तुलसीको चिया पनि पिउन सकिन्छ । यसले सुगर नियन्त्रण र पाचन प्रणाली सुधार गर्न सहयोगी हुन्छ ।

नखाने : कोल्ड ड्रिङ्क, एनर्जी ड्रिक खान हुँदैन यिनीहरूले सुगर लेभल तुरुन्तै बढाउँछ ।

खाजा

‘स्प्राउट्स’ टुसा उम्रिएको चना, गेडागुडी खान सकिन्छ। साथै मुगी/बेसनको गिलो रोटी पनि बनाएर खान सकिन्छ जसमा प्रोटिन र फाइबरको मात्रा प्रशस्त हुन्छ । खाजामा नुन र तेल नहालेको पपकर्न पनि खान सकिन्छ ।

नखाने : खाजामा बिस्कुट, केक, पेस्ट्री, रिफाइन्ड मैदाबाट बनेका बेकरी आइटम्स खान हुँदैन ।

मधुमेह डाइट चार्ट : बिहानदेखि बेलुकासम्म के-के खाने ? 

बिहानको खाजा

-मनतातो पानी १ गिलास वा अमलाको जुस (१०० मिली)

-मुगी/बेसनको गिलो रोटी १–२ वटा, सानो वा भेजिटेबल अम्लेट, उसिनेको १ अण्डा + गाजर/काँक्रो ।

-तुलसी/दालचिनीको चिया १ कप ।

-मध्यान्ह स्न्याक्स

-सानो एउटा स्याउ वा मेवा (१०० ग्राम) ।

-बदाम/अलस/ओखर मिक्स हातको मुठीमा अट्ने मात्रा ।

दिउँसोको खाना

-फापर/कोदोको च्याँख्ला ।

-मुगी/मुसुरोको दाल एक सानो कचौरा (१०० ग्राम) ।

-हरियो सागपात काउली, सिमी, पालुङ्गो, एक कचौरा (१५०–२०० ग्राम) ।

-सलाद गाजर, काँक्रो, मुला, ५–८ टुक्रा ।

-पेयमा पानी वा दालचिनीको चिया १ कप ।

साँझको स्न्याक्स

-भटमासको सातु ३–४ चम्चा वा तोफु सानो कचौरा ।

-ग्रिन टी रक्तचाप सामान्य भएमा वा तुलसीको चिया १ कप ।

रातको खाना

-फाफर/कोदोको रोटी १ सानो वा च्याँख्ला आधा कचौरा, (५०–७० ग्राम) ।

-दाल सानो कचौरा, (१०० ग्राम) ।

-हरियो तरकारी एक कचौरा (१५० ग्राम) ।

-सलाद गाजर, काँक्रो, ५–८ टुत्रा ।

-लो–फ्याट दही (१०० ग्राम) वा बेसार/दालचिनी मिसाएको दूध (१०० मिली)।

विशेष सुझावहरू

-इन्सुलिन लिने बिरामीले कार्बोहाइड्रेटको मात्रा र इन्सुलिनको युनिट मिलाउन चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

-रोटी, च्याँख्ला वा भात खाँदा सानो कचौरा (१००–१५० ग्राम) मा सीमित राख्ने ।

-बाहिर खाजा खाँदा चिउरा ३–४ चम्चा, सागपात र बोडी/छोइलाको संयोजन खाने वा अण्डा चना खाने । तारेको र मैदाको खानेकुरा नखाने ।

-कार्बोहाइड्रेट कम गरेर प्रोटिन तोफु, दाल, अण्डा बढाउने ।

-रगतको सुगर लेभल र अन्य स्वास्थ्य अवस्थाहरू नियमित जाँच गर्ने ।

खाना मधुमेह
लेखक
आस्था कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाइटचार्ट : मधुमेहका बिरामीले के खाने, के नखाने ?

डाइटचार्ट : मधुमेहका बिरामीले के खाने, के नखाने ?

के गर्भावस्थामा देखिने लक्षणबाट थाहा पाउन सकिन्छ छोरा छ कि छोरी ?

के गर्भावस्थामा देखिने लक्षणबाट थाहा पाउन सकिन्छ छोरा छ कि छोरी ?

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)

के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?

के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?