+

इंग्ल्याण्डमाथि रोमाञ्चक जित निकाल्दै भारतले गर्‍यो शृंखला बराबरी

२०८२ साउन  १९ गते १६:५८ २०८२ साउन १९ गते १६:५८
इंग्ल्याण्डमाथि रोमाञ्चक जित निकाल्दै भारतले गर्‍यो शृंखला बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्याण्डले भारतसँगको पाँचौं टेस्टमा ६ रनले हार बेहोर्दै शृंखला २-२ को बराबरीमा सकिएको छ।
  • भारतले पाँचौं दिन इंग्ल्याण्डलाई ३७४ रनको लक्ष्य दिएको थियो र मोहम्मद सिराजले ५ विकेट लिएर जित दिलाए।
  • ब्रूकले १११ र रुटले १०५ रन बनाए पनि इंग्ल्याण्डले फिनिसिङ गर्न सकेन र अन्तिममा ३६७ रनमा अलआउट भयो।

१९ साउन, काठमाडौं । जो रुट र ह्‍यारी ब्रूकले शतक बनाएपनि फिनिसिङ हुन नसक्दा इंग्ल्याण्डले भारतसँगको पाँचौं टेस्टमा हार बेहोर्दै शृंखला जित्नबाट वञ्चित भएको छ । भारतले ६ रनको जित निकाल्दै शृंखला हार टार्दा शृंखला २-२ को बराबरीमा सकियो ।

पाँचौं टेस्ट जित्न भारतले दिएको ३७४ रनको लक्ष्य इंग्ल्याण्ड पाँचौं दिन पहिलो सेसनमा ३६७ रनमा अलआउट भयो । ब्रूकले १११ रन तथा रुटले १०५ रन बनाएका थिए ।

आइतबार चौथो दिनमै सकिने अपेक्षा गरिएको खेल खराब प्रकाशका कारण सकिएको थिएन । अन्तिम दिनमा ४ विकेट बाँकी छँदा ३५ रन आवश्यक रहेको अवस्थाबाट खेल सुरु गरेको इंग्ल्याण्डले थप २८ रन मात्र जोड्न सक्यो ।

भारतका लागि मोहम्मद सिराजले ५ विकेट लिए भने प्रसिध कृष्णाले ४ विकेट लिए । इंग्ल्याण्डलाई जित दिलाउन संघर्ष गरिरहेका गस एट्किन्सनलाई बोल्ड गर्दै सिराजले ५ विकेट पूरा गर्दै भारतलाई जित पनि दिलाए ।

त्यसअघि पहिलो इनिङमा भारत २२४ रनमा अलआउट भएपछि जवाफमा इंग्ल्याण्डले २४७ रन बनाउँदै २३ रनको झिनो अग्रता बनाएको थियो ।

पहिलो इनिङमा भारतका लागि करुण नायरले सर्वाधिक ५७ रन बनाएका थिए । इंग्ल्याण्डका गस एट्किनसनले ५ तथा जोश टङले ३ विकेट लिएका थिए भने क्रिस वोक्सले १ विकेट हात पारेका थिए ।

जवाफमा इंग्ल्याण्डका ज्याक क्रलीले ६४ तथा ब्रूकले ५३ रन बनाएका थिए । बेन डकेटले ४३ रन बनाए । भारतका मोहम्मद सिराज र प्रसिध कृष्णाले ४-४ था आकाश दीपले १ विकेट लिए ।

२३ रनले पछाडि परेको भारत दोस्रो इनिङमा ३९६ रनमा अलआउट हुँदै ३७३ रनको अग्रतासहित इंग्ल्याण्डलाई ३७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

दोस्रो इनिङमा भारतका लागि यशश्वी जैसवालले ११८, आकाश दिपले ६६ तथा रविन्द्र जडेजा र वासिङटन सुन्दरले समान ५३ रन बनाए। इंग्ल्याण्डका जोश टङले ५ तथा गस एट्किन्सनले ३ र जेमी ओभरटनले २ विकेट लिए ।

पहिलो टेस्टमा इंग्ल्याण्ड विजयी हुँदा दोस्रो टेस्टमा भारत विजयी भएको थियो भने तेस्रो टेस्ट इंग्ल्याण्डले जित्दा चौथो टेस्ट ड्र भएको थियो ।

इंग्ल्याण्ड क्रिकेट टेस्ट सिरिज भारतीय क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय