
पछिल्लो समय छिमेकी मुलुक चीनका सहरी युवावर्गमा एउटा नयाँ तर अनौठो ट्रेण्ड चलिरहेको छ। युवायुवतीहरुले बच्चाले झैं गरी प्यासिफायर चुस्न तछाडमछाड गरिरहेका छन् ।
वास्तवमा चिनियाँ युवाहरुले तनाव कम गर्नका लागि त्यस्तो विचित्रको उपाय अपनाएका हुन् । ती वयस्क प्यासिफायरहरु बच्चाले चुस्ने प्यासिफायरभन्दा ठूलो आकारका हुन्छन् र विभिन्न रंग र डिजाइनमा उपलब्ध छन् ।
इ-कमर्श प्लेटफर्महरूमा ती वयस्क प्यासिफायरहरूको मूल्य १० देखि ५०० युआनसम्म रहेको छ । केही खुद्रा अनलाइन विक्रेताहरूले महिनामा २ हजार गोटा भन्दा बढी यस्ता प्यासिफायर बिक्री हुने दाबी गरेका छन्।
युवाहरूका अनुसार, यी प्यासिफायरहरू चुस्दा उनीहरूलाई मानसिक शान्ति र सान्त्वना मिल्छ। जुन बाल्यकालको सम्झनासँग जोडिएको अनुभव हो ।
प्यासिफायर चुस्ने केही युवाका अनसार यसले उनीहरुलाई धूम्रपान छोड्नसमेत मद्दत गरेको छ। साथै त्यस्तो चुस्ने कुराले मानसिक शान्ति दिने, काममा दबाब हुँदा रिल्याक्स महसुस गराउनुका साथै बाल्यकालको जस्तो सुरक्षाको अनुभूति गराउने बताएका छन् ।
तर, चिकित्सकहरूले भने यी प्यासिफायरहरूको लामो समयसम्मको प्रयोग स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चेतावनी दिएका छन्। चीनको छेंगदुका दन्त चिकित्सक ताङ काओमिनका अनुसार दैनिक तीन घण्टाभन्दा बढी समयसम्म प्यासिफायर चुस्नाले यसले दाँतलाई विकृत बनाउने वा मुख खोल्नमा कठिनाइ उत्पन्न हुनेजस्ता समस्या निम्त्याउन सक्छ ।
त्यस्तै चिनियाँ मनोवैज्ञानिक झाङ मोका अनुसार प्यासिफायर चुस्ने यस प्रकारको व्यवहार देखाउनु व्यक्तिको भावनात्मक आवश्यकता परिपूर्ति नभएको प्रमाण हो । त्यसैले यस्तो समस्यालाई बाल्यकालको आदतमा फर्केर समाधान गर्नु उपयुक्त हुँदैन ।
युवायुवतीमा प्यासिफायर चुस्ने पछिल्लो ट्रेण्डले चिनियाँ सामाजिक मिडियामा व्यापक बहसको सिर्जना गरेको छ ।
कतिपयले बच्चाहरूको प्यासिफायर प्रयोग गर्ने युवायुवतीहरुको दुनियाँ पागल भएको टिप्पणी गरेका छन् भने केहीले यसलाई मूर्खहरुको कार्य भनेका छन् ।
तर, यो अनौठो ट्रेण्डले चिनियाँ युवाहरूमा मानसिक स्वास्थ्य तथा तनाव निवारणका लागि नयाँ उपायहरूको खोजी गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।
प्रतिक्रिया 4