
२३ साउन, काठमाडौं । साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । हाल पनि राहत तथा उद्धार कार्य जारी छ ।
मजदुरीका लागि गएका श्रमिक काली देवी र उनका श्रीमान् विजय सिंहले बाढीको त्यो डरलाग्दो अनुभव भारतको एक अनलाइन मिडियालाई सुनाएका छन् । उनीहरू आफैंले ज्यान जोगाए तापनि, नेपालीसहित अरु थुप्रै मानिसहरुलाई बगाएको उनीहरुले बताए ।
विजय सिंहले आफ्नो छोरासँगको दुई मिनेटको अन्तिम फोन कल सम्झँदै भने, ‘उसले भन्यो– बुवा, हामी बाँच्छौं जस्तो लाग्दैन; यहाँ ठूलो बाढी आएको छ ।’
सिंह भारतमा सडक तथा पुल निर्माणमा खटिएका नेपालका २६ जना श्रमिकको समूहमा काम गर्दै आएका थिए । उनीहरुले आफ्नो छोरालाई आफू बसेको ठाउँमै छाडेर काममा गएका थिए ।
विजय सिंहकी श्रीमती काली देवीले भनेकी छन्, ‘हामी काममा निस्किने बेलासम्म यति ठूलो विपद् आउला भन्ने कल्पनै गरेका थिएनौं । यदि बाढीको पूर्वजानकारी हुन्थ्यो भने म आफ्नो सन्तानलाई यहाँ छोड्ने थिइनँ ।’
उनले सरकारसँग भनिन्, ‘हामीलाई बाढीपहिरो प्रभावित हर्षिल उपत्यकासम्म पुर्याइदिनुस्, ताकि हामी आफैं आफ्ना छोराछोरी खोज्न सकौं ।’
नेपालको ठेगाना खुलेको छैन काली देवी र विजय सिंहको
काली देवी र विजय सिंहलाई भारतीय मिडियाहरुले नेपाली नागरिक भने पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन ।
समाचार संकलनका लागि उत्तराखण्ड पुगेका भारतीय पत्रकार सौरभ शर्माका उनुसार उनीहरुले आफूहरु नेपाली नागरिक भएको बताएका छन् । अनलाइनखबरको सम्पर्कमा आएका शर्माले उनीहरूबारे अधिक जानकारी लिने प्रयास गरिरहेको बताए ।
शर्माले आफ्नो फेसबुक रिल्समा काली देवीसँगको भिडियो कुराकानीको छोटो अंश राखेका छन् । त्यसमा काली देवीले भनेकी छन्– हामी २६ जना नेपाली थियौं । त्यो समूहमा मेरा छोरा, बुहारी र नातिनी पनि थिए । उनीहरु सबै बगे ।
अहिलेसम्म कति नेपाली परे ?
नेपालका अधिकारीहरुका अनुसार हालसम्म उत्तराखण्डको बाढीपहिरोमा कम्तिमा १७ जना नेपाली नागरिक परेको विवरण सार्वजनिक भएको छ । जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको भनिएको छ ।
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार वडा नम्बर २ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, निम सिंह, रविन सिंह र परिचय नखुलेका अरु ७ जना बाढीपहिरोमा परेको जानकारी त्यहाँ रहेका नेपालीहरुले दिएका छन् ।
यसैगरी बर्दिया मधुवनका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक पनि बाढीमा परेर बेपत्ता भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।
यस्तै जुम्लाको तिला गाउँपालिका निवासी जनकबहादुर शाही पनि पहिरोमा परी वेपत्ता भएको जानकारी आएको त्यहाँका जनप्रतिनिधिहरुले बताएका छन् ।
स्थानीय पालिकाहरुले नेपालीहरु हताहत भएको सूचना आएको भन्दै उनीहरुको खोज तथा उद्धारका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले भने- दूतावासमार्फत् कूटनीतिक छलफल भएको छ
तुर्कमेनिस्तान भ्रमणबाट आज स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको अवस्था बुझ्ने र उनीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल गरेको जानकारी फेसबुकमार्फत् दिएका छन् ।
भारतीय मिडियाहरुका अनुसार गेग्रानसहितको बाढीले सडक, पुल सहित भौतिक संरचना तहसनहस भएको छ । त्यसैले हवाई उद्धार एकमात्र विकल्प बनेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार प्रभावित क्षेत्रबाट करिब तीन सय व्यक्तिलाई हवाई उद्धार गरिएको छ ।
उत्तरकाशीमा हालसम्मको उद्धार कार्यअन्तर्गत कम्तीमा ७० जना सर्वसाधारणलाई जीवितै उद्धार गरिएको छ, भने कम्तिमा ६ जनाको शव फेला परेको छ । सो क्षेत्रमा अझै १५० जना जति सम्पर्कविहीन भएको अनुमान गरिएको भारतीय अधिकारीहरुले बताएका छन् ।
भारतीय सेनाका अनुसार, एक जुनियर कमिसन्ड अफिसर र आठ जना सैनिक समेत बेपत्ता छन् । घाइते अवस्थामा भेटिएका ९ जना सैनिक र तीन जना सर्वसाधारणलाई हवाईमार्गबाट देहरादून लगिएको छ, जहाँ उनीहरूको थप उपचार भइरहेको छ ।
यसका अतिरिक्त, गम्भीर घाइते भएका तीन जना नागरिकलाई एम्बुलेन्समार्फत एम्स ऋषिकेश लगिएको छ भने अन्य आठ जना उत्तरकाशी जिल्ला अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया 4