
२६ साउन, काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् ।
हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पदमा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् । उनीहरु अहिले त्रिभुवन विमानस्थलमा छन् ।
लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उनीहरु इजरायल जान लागेका हुन् ।
इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्याएर दबाब बढाउने रणनीति लिएको हो । नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका गरेका छन् ।
उनका अनुसार उनीहरुले इजरायलका उच्च नेता, कर्मचारी र सेनाका अधिकारसँग भेटवार्ता गर्नेछन् ।
पदमा र पुष्षा इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा जानेछन् । खोजीका लागि बाँकी काम त्यहीँबाट सुरु हुनेछ । उनीहरुको टिकटको व्यवस्था पनि दूतावासले नै गरिदिएको छ ।
कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4