
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतका किसानहरूले गाईको दूध गुणस्तर सुधार्न गाईलाई क्लासिकल र ज्याज संगीत सुनाउन थालेका छन्।
- न्युनिटनका किसान चार्ल्स गोडबीले करिब एक दशकदेखि गाईलाई रेडियो संगीत सुनाउँदै आएका छन्।
- गोडबीले पाभ्लोभको कुकुर सिद्धान्त अनुसार संगीतले गाईलाई मानसिक र शारीरिक रूपमा दुहुन तयार पार्ने बताए।
बेलायतका हरियाली फाँटहरूमा एउटा नयाँ किसिमको संगीत गुञ्जिन थालेको छ ।
पहिले चराको चिरबिर र ट्याक्टरको आवाज मात्रै सुनिने खेतबारीमा आजकल अलि फरक धुन सुनिन्छ । गाईको दूधको गुणस्तर सुधार्ने उद्देश्यले केही किसानले आफ्ना गाईवस्तुलाई संगीत सुनाउन थालेका हुन्।
यो चलन टिकटकमा निकै भाइरल छ । यस्ता भिडिओले लाखौँ भ्युज पाएका छन् । बेलायतको न्युनिटनमा बस्ने एक दुग्ध किसान चार्ल्स गोडबीले पनि यो नयाँ तरिका अपनाएका छन् । उनले गाईलाई संगीत सुनाउँदा किन अरूलाई पनि फाइदा हुन सक्छ भनेर बताएका छन् ।
यो चलन कहिले सुरु भयो ?
हालै टिकटकमा भाइरल भएपछि यो चलन चर्चामा आएको हो । तर, आफूले करिब एक दशकअघि नै गाईहरूलाई रेडियो सुनाउन थालेको गोडबीले बताएका छन् ।
‘हामीले एउटा रोबोटिक दुहुने मसिन जडान गरेका थियौँ । जसबाट निकै ठूला र कडा आवाज आउँथ्यो । त्यो आवाजलाई कम गरेर गाईलाई लगातार एउटै आवाज दिन चाहेका थियौँ’ उनले भने, ‘यो करिब १० वर्षअघिको कुरा हो । त्यसबेला कसैले गाईलाई क्लासिकल संगीत मनपर्छ भनिन्थ्यो । त्यतिखेरको चलन नै त्यही थियो । त्यसैले
मैले गाईलाई सुन्नका लागि क्लासिकल रेडियो स्टेसन लगाइदिएँ, जसले गर्दा गाईलाई अलिकति आराम मिल्यो’
अहिले ज्याज संगीतको चर्चा भए पनि गोडबीले वर्षौँदेखि गाईलाई सुनाउन विभिन्न प्रकारका संगीत र रेडियो प्रयोग गरेको बताए ।
‘पाभ्लोभ्स डग’ सिद्धान्त
गोडबीले सुरूमा गाईलाई शान्त पार्न संगीत सुनाए पनि यसले दूध उत्पादनमा पनि मद्दत गर्न सक्ने अनुमान गरिएको छ । किसानका अनुसार पाभ्लोभको कुकुरको प्रयोगमा आधारित सिद्धान्तअनुसार संगीतले गाईलाई मानसिक र शारीरिक रूपमा दुहुन तयार पार्न सक्छ ।
उक्त प्रसिद्ध प्रयोगमा कुकुरहरूलाई घण्टीको आवाजसँग खानालाई जोड्ने बानी पारिएको थियो ।
पछि घण्टीको आवाज सुन्नासाथ कुकुरहरूको मुखमा र्याल आउँथ्यो । यसले उनीहरूले आवाजलाई खानासँग मानसिक रूपमा मात्र नभई शारीरिक रूपमा पनि जोडेको देखाउँथ्यो।
‘हामीले दुहुने ठाउँमा सधैँ संगीत बजाउँछौँ’, गोडबीले भने, ‘यो पाभ्लोभको कुकुरको सिद्धान्तजस्तै हो । यसले उनीहरूको स्नायुलाई जगाउँछ । हर्मोन उत्पादन सुरु गर्छ । र, गाईले चाँडै दूध दिन्छन् । यसले गाई र कामदार दुवैलाई आराम दिन्छ । त्यसैले यो सबैका लागि फाइदाजनक छ ।’
गाईलाई कुन संगीत मन पर्छ ?
गोडबीका अनुसार यो चलन सुरू हुँदा किसानहरूले आफ्ना गाईलाई क्लासिकल संगीत सुनाउँथे। तर, पछिल्लो चलनअनुसार बेलायतभरिका फार्महरूमा ज्याज संगीत बजाउन थालिएको छ ।
गाईले जुनसुकै संगीतमा पनि प्रतिक्रिया दिने गोडबीले बताए । ‘मलाई लाग्छ, यदि तपाईंले यी टिकटकमा देखिएजस्तै खेतको छेउमा गएर जुनसुकै संगीत बजाउनुभयो भने पनि गाईहरू त्यतै आउँछन्’ उनले भने, ‘उनीहरू के भइरहेको छ भनेर उत्सुकतापूर्वक हेर्न चाहन्छन् । मलाई लाग्छ, जबसम्म तपाईंले कुनै डरलाग्दो काम गर्नुहुन्न, उनीहरू आएर हेर्न खोज्छन्’
सोही ठाउँका अर्का किसान रोब ह्याडली भने गाईले अन्य संगीतमा राम्रो प्रतिक्रिया दिन्छन् कि दिँदैनन् भन्नेमा निश्चित छैनन् ।
‘उनीहरू ज्याजमा धेरै शान्त हुन्छन् । तर सायद उनीहरूले जुनसुकै संगीत पनि रुचाउन सक्छन् । सायद अलिअलि ओजी ओस्बोर्न (मेटल संगीत) पनि’ उनले भने, ‘साँच्चै भन्ने हो भने ओजी ओस्बोर्नको संगीतबाट त उनीहरू डराउँछन्,’
टिकटकमा किन यति भाइरल भयो ?
पशुका भिडिओ बेलायती सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् । तर, किसानले गाईलाई संगीत सुनाएको भिडिओले विशेष गरी मानिसहरूको ध्यान तानेको छ ।
गोडबीले यो अनौठो काम मात्रै यसको कारण नहुन सक्ने बताए ।
‘मानिसहरूलाई गाई मन पर्छ । तिनीहरू राम्रा जनावर हुन् । त्यसैले गाईसम्बन्धी जुनसुकै कुरामा पनि मानिसको रुचि हुन्छ’ उनले सुनाए ।
यस्तो ‘कठिन’ पेशाले यति धेरै ध्यान पाउनु राम्रो कुरा भएको उनले बताए ।
बीबीसीबाट
प्रतिक्रिया 4