
२६ साउन, काठमाडौं । अनलाइनखबर डटकमका अध्यक्ष एवं प्रबन्ध निर्देशक धर्मराज भुसालले ४० वर्षमुनिका ४० को सूची मार्फत अँध्यारो बीचका जूनकिरीहरू खोज्ने प्रयत्न गरेको बताएका छन् ।
अनलाइनखबरले २०८२ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै अध्यक्ष भुसालले समाजमा विस्तारै परिवर्तन पनि भइरहेको छ, सुधार र परिवर्तनका अगुवा पात्र पनि छन् भन्ने बाटो देखाउने प्रयास गरिएको जानकारी दिए ।
‘देशमा कतिपय नकारात्मक परिसूचक बीच आशाका किरणहरू छन् । समाजमा सुस्तरी परिवर्तन आइरहेका छन् । यो सुधार र परिवर्तनको अगुवा पात्रमा थुप्रै युवा अनुहारहरू हुनुहुन्छ’ भुसालले भने, ‘भावी नेपाललाई उहाँहरूले उज्यालो बाटो देखाउँदै जानुहुनेछ । ४० मुनिका ४० मार्फत हामीले अँध्यारोका बीचमा जूनकिरीहरू खोज्ने प्रयत्न गरेका छौं ।’
नेपालमा केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिंदै अनलाइनखबरको सूचीमा परेका सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिने अपेक्षा लिएको अध्यक्ष भुसालले बताए ।
४० मुनिका ४० को सूचीले समर्पण, लगनशीलता र आ–आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्त्वपूर्ण योगदानलाई पहिचान दिने र समाजलाई प्रगतिको दिशातर्फ डोर्याउन मद्दत गर्ने अनलाइनखबरको अपेक्षा रहेको भुसालले बताए ।
‘यस्ता पात्रहरू अरू थुप्रै हुनुहुन्छ, जसले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिंदै आ–आफ्नो क्षेत्रबाट योगदान दिनुभएको छ । यो सूची त्यसैको एक प्रतिबिम्ब हो,’ भुसालले भने ।
काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन् ।
प्रधानमन्त्री ओलीले ४० वर्षमुनिका ४० युवाहरूलाई अवार्ड वितरण गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4