
News Summary
Generated by OK AI. Editorially reviewed.- पछिल्लो साढे २ वर्षमा झार मार्ने पाराक्वेट विषादी सेवन गर्ने बिरामीको संख्या र मृत्यु दर बढेको छ।
आईसीयूमा बिरामीका विभिन्न अवस्थाहरू देखिन्छन् । केही महिनाअगाडि पाराक्वेट नामको विषादी खाएपछि मकवानपुरकी २२ वर्षीया महिलालाई उपचारका लागि ल्याइएको थियो । उनकी दुई वर्षीया अवोध छोरीले आमाप्रति देखाएको प्रेमभावले मेरो मथिंगल अझै पनि हल्लिरहन्छ ।
उनका श्रीमान्, दुई वर्षीया छोरी र ६ महिनाको छोरा थिए । श्रीमान ट्याक्टर चलाउँदा रहेछन् । हेर्दा लाग्छ, उनको परिवार सानो र सुखी थियो । सुखदुःख त जीवनमा आइ नै रहन्छन् । तर, ती महिलाले सामान्य घरायसी विवाद हुँदा खेतको झार मार्न भनेर ल्याएको पाराक्वेट नामको विषादी खाएकी थिइन् । पाराक्वेट विषादी यति खतरनाक हुन्छ कि, यो खाएर बाँचेको सायदै रेकर्ड होला ।
ती महिलाको अवस्था जटिल बन्दै गयो । विषादीले उनको मिर्गौला, कलेजो र फोक्सो क्षति गर्दै लगेको थियो । उनी नबाँच्ने निश्चितजस्तै भएपछि श्रीमानले छोरा–छोरीलाई आमासँग भेटाउन अस्पताल ल्याएका थिए ।
अस्पतालको आईसीयू बेडमा ६ महिनाको छोरो काखमा लिएर उभिइरहेका थिए, श्रीमान् । छोरा अन्जान थिए । उनलाई के भइरहेको छ थाहा हुने कुरा पनि भएन ।
उनकी २ वर्षीया छोरी आमाकै छेउमा बसिन् । अवोध आँखाले आमालाई हेर्दै तोते बोलीमा भनिन्, ‘मामु, छिट्टै सन्चो भएर घर आऊ हस्, ।’ यति भनेर उनले जीवन र मृत्युको दोसाधमा पुगेकी आमाको हातमा चुप्पा खाइन् । छोरा लिएर उभिएका बाबु बर्बर आँसु झारेर रोए ।
मलाई यो दृश्यले मुटु फुट्ला जस्तो भयो । मैले आफूलाई सम्हाल्न सकिनँ । मेरी ३ वर्षकी छोरीलाई सम्झिएँ । मलाई थाहा थियो, त्यो अवोध नानी र काखे छोराको मामु अब कहिल्यै पनि फर्किएर आउँदिनन् । यो भेट नै उनीहरूको अन्तिम थियो ।
हामीलाई घरमा एकछिन बच्चा छाड्दा त कस्तो हुन्छ, उनले त सधैंलाई छाडेर जाँदै थिइन् । उनीहरूले अब कहिल्यै पनि आमाको स्नेह र माया पाउने छैनन् । कहिले बिरामी होलान्, कतै ठोक्किएर लड्लान्, मामु भन्दै रोलान् । अरू आफ्नो मामुसँगै हिँडेको देख्दा उनीहरूलाई पनि मामु भइदिएको भए भन्ने लाग्छ होला । यी यावत कुराहरू मेरा मथिंगलमा घुमे । त्यो दिन मलाई निकै गाह्रो भयो ।
केही दिनपछि असाध्यै कष्टपूर्ण तरिकाले ती महिलाको मृत्यु भयो । एउटा सामान्य विषयले उनीहरूको परिवारमा वियोग आयो । विषादीले दिएको पीडा अथाह छ ।
अस्पतालको रेकर्डअनुसार विषादी सेवन गर्ने अधिकांश १६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरू छन् । तीमध्ये अधिकांश मकवानपुरका छन् । ४५ वर्ष उमेरका आमाका घरमा १०/१२ वर्षका बालबच्चा पक्कै हुन्छन् ।
ती बालबच्चा सदाका लागि टुहुरा भएका छन् । सिङ्गो परिवार नै लथालिङ्ग भएको छ । खुसीहरू उजाडिएका छन् । दुःख थपिएका छन् ।
पछिल्लो एक वर्षमा झार मार्ने पाराक्वेट विषादी खाएका झण्डै १२ जना बिरामीहरूको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । पछिल्लो साढे २ वर्षमा यस्ता बिरामी अत्यधिक बढेका छन् । यो विषादी सेवन गरेर अहिलेसम्म कोही बाँचेको मैले थाहा पाएको छैन ।
गोडमेल गर्ने झन्झटले झार मार्ने विषादीको प्रयोग बढेको छ । मानिसहरूले खेतबारीमा मात्रै होइन घरआँगमै विषादी प्रयोग गर्दै आएका छन् । हामी किन यस्तो भयौं ? घर अगाडि आँगनमा उम्रिएको झारसमेत उखेल्न नसक्ने गरी हामी व्यस्त भयौं कि वा सजिलोका लागि जे पनि गर्न तयार भयौं !
यसले त मानिस, पशुप्राणी सबैलाई नकारात्मक असर पुर्याएको छ । घर वरपर विष छर्किंदा बालबालिका त्यहीँ पुग्छन्, खेल्छन्, श्वासप्रश्वासबाट पनि असर गर्छ । विषादी पानीमा पनि पुग्छ । यस्तो खतरनाक रासायनिक विषादीको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न चासो दिइएको देखिँदैन । यो निकै चिन्ताजनक कुरा हो ।
त्यो भन्दा पनि ठूलो कुरा यसरी किनेर ल्याएको विषादी घरमा राख्दा कहिले झुक्किएर त कहिले आवेगमा आएर खाइदिने क्रम बढेको देखिन्छ । यो विषादी खाएपछि सुरुको १÷२ दिनसम्म सामान्य घाँटी मात्रै पोलेको जस्तो हुन्छ । न त यसको गन्ध आउँछ न त खाएको १/२ दिनसम्म केही हुन्छ । जब ४/५ दिन हुन थाल्छ, त्यसपछि सुरु हुन्छ यसको असर । मिर्गौला, कलेजोमा असर गर्न थाल्छ । मुखभरी घाउ आउँछ । खानेकुरा खान नसक्ने हुन्छ ।
फोक्सोका सेलहरू मर्न थाल्छन् । कोरोना हुँदा त्यसको भाइरसले जसरी हाम्रो फोक्सो खाएको देखिन्थ्यो, त्यही तरिकाले विषादीले फोक्सो नै सकाइदिन्छ र अन्तिममा बिरामीको मृत्यु हुन्छ ।
यो विषादी खाएपछि कुनै उपचारले छुँदैन । आजसम्म यसलाई काट्ने एन्टिडोट बनेको छैन । सरकारले यसलाई बन्दमात्रै गराएर हुँदैन बजारमा भएका सबै स्टकहरू तानेर नष्ट गर्नुपर्छ ।
धेरै देशमा यो प्रतिबन्धित छ । नेपालमा पनि जबसम्म सरकारले यसको प्रयोग बन्द गराउँदैन तबसम्म यस्ता विकराल अवस्था रहिरहने छ । त्यसैले यसलाई रोक लगाउन स्थानीय पालिकाहरूले पहल लिनुपर्छ । नेपालमा विषादी कहाँ प्रयोग गर्ने, कसरी सुरक्षित रुपमा प्रयोग गर्र्ने भन्नेबारे सचेतना जगाउनुपर्छ ।
(अधिकारी चितवन मेडिकल कलेजकी आईसीयू सुपरभाइजर हुन् । उनले क्रिटिकल केयरमा मास्टर्स गरिरहेकी छन् ।)
प्रतिक्रिया 4