
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मितेरी सहकारी ठगी प्रकरणबाट सीआईबीको अनुसन्धानपछि उन्मुक्ति पाएका छन्।
- मितेरी सहकारीको रकम अपचलनमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ महाप्रबन्धक थिइन् र उनीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
- सहकारीले १४ करोड २९ लाख रुपैयाँ ठगी भएको दाबी गर्दै ठगी, लिखत सम्बन्धी, अभौतिक मुद्राको, राष्ट्र बैंक अन्तर्गतको र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ।
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणबाट उन्मुक्ति पाएका छन् ।
धनराजलाई उन्मुक्ति दिंदै ८ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जबकि, यो सहकारीको रकम अपचलनमा धनराज जोडिएको भन्दै उजुरी परेको थियो ।
यस विषयमा प्रहरीले करिब दुई महिना लगाएर अनुसन्धान गरेको थियो । तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनबाटै धनराजले उन्मुक्ति पाएका थिए ।
यो सहकारीको रकम ठगी हुँदा धनराजकै श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । रकम ठगी भएको थाहा पाएपछि धनराज आफैं उपस्थित भएर श्रीमतीले लगेको रकम तिर्ने प्रतिबद्धता जनाएका थिए ।
यो कुरा ललितपुर जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा समेत उल्लेख छ । तर पछि उनी धनराजले श्रीमतीसँग डिभोर्स गरिसकेकाले यसबारे आफू जवाफदेखि नहुने जानकारी गराएका थिए ।
सगोलमा हुँदा श्रीमतीले सहकारीको रकम अपचलन गरेको जानकारी हुनु, त्यसपछि आफू स्वयं उपस्थित भएर रकम तिर्ने प्रतिबद्धता गर्नु, सहकारीको रकम ठगी भएको थाहा पाएपछि डिभोर्स हुनु तर यसबारे लामो समयसम्म सहकारीलाई जानकारी नै नगराउनुले धनराजको भूमिका शंकास्पद देखिएको थियो ।
तर, यी आधार र पृष्ठभूमिलाई अनदेखा गर्दै प्रहरीले प्रतिवेदन बुझाएको र सोहीअनुसार मुद्दा दर्ता भएपछि धनराज यो ठगी प्रकरणबाट उम्किएका छन् ।
ज्योतिले ठूलो रकम अपचलन गरेको थाहा पाएपछि यसबारे सहकारीले धनराजलाई समेत जानकारी गराएको थियो । त्यसपछि १६ पुस २०७६ मा धनराज गुरुङसहित मगर समाज सेवा केन्द्र ललितपुरमा सहकारीका पदाधिकारीहरुसँग बैठक बस्यो । जहाँ धनराजकी श्रीमती पनि उपस्थित थिइन् ।
महाप्रबन्धकको हैसियतले सहकारीको सबै जिम्मा ज्योति गुरुङको थियो । सहकारी संस्थाको खातामा जम्मा हुनुपर्ने मुद्दती बचत रकम ज्योतिले जम्मा नै नगरी आफैंले लगेर हिनामिना गरेकी थिइन् । यसबारे धनराजलाई सम्पूर्ण जानकारी भएको अभियोगपत्रमा उल्लेख छ ।
‘त्यतिबेला धनराजले उक्त रकम तिर्ने मौखिम प्रतिबद्धता समेत जाहेर गर्नुभयो,’ सहकारीका अध्यक्ष कुम्भराजले बयानमा भनेका छन् ।
धनराजले नै प्रतिबद्धता जनाएपछि सहकारीले विश्वास गर्यो । त्यसपछि केही समय घटना सामसुम भयो । पहिला तिर्ने प्रतिबद्धता जनाएका धनराजले रकम तिरेनन् । यसबारे सोधपुछ गर्दा भनेराजले फेरि तिर्छु भन्दै केही समय माग गरेको अभियोगपत्रमा उल्लेख छ ।
‘धनराजले रोइकराइ गर्दै केही समय दिनुस् रकम तिर्छु भने । छोरा अष्ट्रेलिया गएर इन्जिनियरिङ अध्ययन सँगै काम पनि सुरु गरेकाले छोराले पठाएपछि रकम तिर्छु भनेका थिए । तर रकम फिर्ता भएन,’ बयानका क्रममा विभिन्न व्यक्तिले भनेका कुरा अभियोगपत्रमा उल्लेख छ ।
रकम तिर्छु केही समय दिनुस् भनेका उनै धनराज पछि सम्पर्कमा आएनन् । यता ज्योति गुरुङ पनि फरार रहेको सूचना पाएपछि सहकारीले धनराजलाई सम्पर्क गरेको थियो ।
पहिला रकम तिर्छु भनेका धनराजले पछि भने ज्योतिसँग डिभोर्स भइसकेकाले रकमबारे आफूलाई केही जानकारी नभएको बताउन थालेका थिए ।
‘श्रीमती कार्यालय आउन छाडेपछि धनराजलाई २०७७ सालमा कार्यालय बोलाएर सोध्दा २९ फागुन २०७६ मै मैले डिभोर्स गरे भन्ने जवाफ दिए । रकम र श्रीमतीबारे केही थाहा नभएको बताइयो,’ अभियोगपत्रमा उल्लेख छ ।
यो सहकारीको रकम अपचलन भएकोबारे सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सहकारीका अध्यक्ष कुम्भराज राईलाई सोधपुछ गरेको थियो । त्यतिबेला पनि कुम्भराजले समितिसँग धनराजले रकम तिर्छु भन्ने मौखिक प्रतिबद्धता गरेको तर पछि रकम नतिरेको बताएका थिए ।
यता धनराजले भने आफूले रकम तिर्छु नभनेको दाबी गर्दै बयान दिएका छन् । ‘त्यतिबेला ३ करोड रुपैयाँ मिटरब्याजमा ज्योतिबहादुर भण्डारीलाई दिएको भन्ने थाहा पाएँ । सहकारीको छलफलमा मैले यत्रो रकम एउटा व्यक्तिलाई विश्वास गरेर किन दिएको, तपाईंहरुको गल्ती हो भनेको थिएँ । कानुनी सहायता लिएर संस्थाको रकम उठाउनुपर्छ भनेको हुँ । रकम तिर्छु भनेको छैन,’ धनराजले बयानमा भनेका छन् ।
आफू पनि सहकारीको सदस्य रहेको र आफूले लिएको सम्पूर्ण ऋण चुक्ता गरेको धनराजको भनाइ छ ।
यति हुँदाहुँदै धनराजले किन उन्मुक्ति पाए भन्नेबारे अभियोगपत्रमा केही उल्लेख छैन । धनराजलाई सीआईबीले बोलाएर दुई पटकसम्म घटना विवरण कागजसम्म गराएको छ । तर उनको भूमिकाबारे केही पनि बोलिएको छैन । अनुसन्धानमा संलग्न अधिकृतहरु भने प्रतक्ष्य रुपमा सहकारी ठगीमा नजोडिएकाले मुद्दा नचलेको दाबी गर्छन् ।
‘पहिला डिभोर्स नहुँदाको अवस्थामा श्रीमतीले रकम अपचलन गरेको भनिएको छ । तर डिभोर्स भएपछि त्यसको दायित्व धनराजलाई लगाउने अवस्था रहेन,’ ती अधिृकत भन्छन् ।
तर डिभोर्स भए पनि केही समय भने धनराजले श्रीमतीको नाममा लगेको ऋण तिर्नेदेखि आफूले ऋण लिँदासमेत हकवालाको नाममा श्रीमतीको नाम उल्लेख गरेका थिए ।
यसबारे धनराजको दाबी छ, ‘डिभोर्स पहिला नै ऋण लिँदा हकवालामा म थिएँ । हाम्रो साढे २ तले पक्की घर धितो राखिएको थियो । हकवाला आफैं भएकाले डिभोर्स भएपछि पनि ऋण तिरेको हुँ । डिभोर्सपछि हकवालको नाममा श्रीमतीको नाम भने संस्थाकै मान्छेले राखेका हुन् ।’
८ जनाविरुद्ध मुद्दा
मितेरी सहकारीको रकम अपचलनको आरोपमा धनराजकी पूर्वपत्नी तथा सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ, सहकारीका अध्यक्ष ८१ वर्षीय कुम्भराज राई, कम्बोडियाबाट पक्राउ परेका ज्योतिबहादुर भण्डारी, भण्डारीलाई सहयोग गर्ने धादिङका सुवास खत्री, बर्दियाका सुरेश अधिकारी, खोटाङका विजयुकुमार राई, बाग्लुङका प्रतिम अधिकारी र सिन्धुपाल्चोकका अर्जुन अरामलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ ।
प्रहरीले ११ जनालाई मुद्दा चलाउनुपर्ने राय दिए पनि तीन जनाविरुद्ध भने सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ । मुद्दा चलाइएकामध्ये भण्डारी, खत्री र अधिकारी गरी तीन जना पक्राउ परेका छन् । बाँकी पाँचजनालाई भने फरार प्रतिवादी बनाइएको छ ।
उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, अभौतिक मुद्राको कसुर, राष्ट्र बैंक अन्तर्गतको कसुर, संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ ।
यो समूहले सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ । त्यसैगरी सहकारीको रकम तिर्ने भन्दै उल्टै रकम हाल्न लगाएर ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेकाले उक्त रकम बराबरको बिगो पनि माग दाबी गरिएको छ ।
६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ९ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको पाइएको भन्दै राष्ट्र बैंकअन्तर्गतको कसुरमा पनि मुद्दा चलाइएको छ ।
प्रतिक्रिया 4