News Summary
Generated by OK AI. Editorially reviewed.- दाँत खिइने, टुक्रिने वा गिजा समस्या भएमा दाँत उखेल्नु पर्ने वा कृत्रिम दाँत राख्नु पर्ने अवस्था आउन सक्छ।
- कृत्रिम दाँत दुई प्रकारका हुन्छन्, अस्थायी झिक्ने–लाउने र स्थायी फिक्स्ड, जसले चपाउने र बोल्न सहज बनाउँछ।
दाँत खिइने, कीराले खाने, टुक्रिने वा गिजाको समस्या भएमा दाँतको स्वास्थ्य बिग्रन सक्छ । यसले गर्दा दाँत उखेल्नु पर्ने वा कृत्रिम दाँत राख्नु पर्ने अवस्था आउन सक्छ ।
टुटेको दाँतको समस्या हुन सक्छ । यस्तो अवस्थामा कृत्रिम दाँत राख्ने विकल्प हुन्छ, जसले चपाउने, बोल्ने र मुस्कुराउने कार्यलाई सहज बनाउँछ । कृत्रिम दाँत मुख्य रूपमा दुई प्रकारका हुन्छन् । अस्थायी झिक्ने–लाउने र फिक्स्ड अर्थात स्थायी ।
कृत्रिम दाँतका प्रकार
अस्थायी कृत्रिम दाँत
कृत्रिम दाँतहरू दाँतको अवस्था, संख्या र व्यक्तिको आवश्यकताअनुसार छानिन्छन् । यस खालका दाँत झिकेर सफा गर्न सकिन्छ र फेरि लगाउन सकिन्छ । यो पुरानो विकल्प हो, जसको प्रयोग लामो समयदेखि हुँदै आएको छ ।
कम्प्लिट डेन्चर ‘पूर्ण सेट’
जब मुखमा कुनै पनि दाँत बाँकी हुँदैन, तब यो प्रयोग गरिन्छ । यो तल र माथिको मुखको हड्डीमा राखिन्छ ।
प्रक्रिया : दन्त चिकित्सकले मुखको नाप लिन्छन्, मोडेल बनाउँछन् र एक्रिलिकबाट दाँतको सेट तयार गर्छन् । यसलाई मुखमा फिट गरेपछि व्यक्तिले झिकेर लगाउन सक्छन् । यो सामान्यतया २ देखि ६ हप्तामा तयार हुन्छ ।
पार्सियल डेन्चर ‘आंशिक सेट’
एक वा बढी दाँत नभएमा यो प्रयोग हुन्छ । यो एक्रिलिक बन्छ, जसले बाँकी दाँतहरूसँग जोडिन्छ।
प्रक्रिया : दन्त चिकित्सकले बाँकी दाँतहरूलाई जाँच गर्छन्, नाप लिन्छन् र हुकबाट दाँत अड्काउँछन् ।
कास्ट पार्सियल डेन्चर
यो धातु र एक्रिलिक मिश्रणबाट बन्छ, जसले बढी मजबुत हुन्छ । यो पनि एक वा बढी दाँत नभएमा प्रयोग हुन्छ ।
प्रक्रिया : मुखको इम्प्रेसन लिएर ल्याबमा तयार गरिन्छ, जुन बाँकी दाँतहरूसँग मजबुत रूपमा जोडिन्छ ।
स्थायी कृत्रिम दाँत
यो मुखभित्रै फिक्स गरिन्छ, जसलाई झिक्नु पर्दैन । यो बढी आरामदायी र प्राकृतिक जस्तो लाग्छ ।
इम्प्लान्ट रिटेन कम्प्लिट डेन्चर
पूर्ण दाँत नभएमा इम्प्लान्ट ‘टाइटानियम स्क्रु’ तल र माथिको मुख हड्डीमा राखेर दाँतको सेट फिक्स गरिन्छ ।
प्रक्रिया : सर्जरीबाट इम्प्लान्ट राखिन्छ, हिलिंग पछि दाँतको सेट जोडिन्छ । यो तल र माथिको जरामा गर्न सकिन्छ ।
डेन्टल ब्रिज
नभएको दाँतको छेउका दाँतहरूलाई थोरै काटेर (ट्रिमिङ) ब्रिज जोडिन्छ ।
प्रक्रिया : छेउका दाँतहरू तयार गरिन्छन्, इम्प्रेसन लिएर ल्याबमा ब्रिज बनाइन्छ, र सिमेन्टले फिक्स गरिन्छ । यो एक वा बढी दाँत नभएमा उपयुक्त हुन्छ ।
मेरिल्याण्ड ब्रिज
मुख्य रूपमा अगाडिको दाँतमा प्रयोग हुन्छ । यो एउटा दाँत दभएमामा छेउका दाँत नकाटी रेजिनबाट टाँसिन्छ ।
प्रक्रिया : छेउका दाँतमा धातुको फ्रेम टाँसेर ब्रिज फिक्स गरिन्छ । यो एउटा दाँतमा मात्र प्रभावकारी हुन्छ, बढी दाँतमा कम मजबुत हुन्छ ।
डेन्टल इम्प्लान्ट
यो सबैभन्दा आधुनिक र लोकप्रिय विकल्प हो ।
प्रक्रिया
पहिलो चरण : सर्जरीबाट टाइटानियम स्क्रु जराको हड्डीमा राखिन्छ । यो स्थानीय एनेस्थेसिया दिएर गरिन्छ ।
दोस्रो चरण : ३ देखि ६ महिना हिलिङ समय दिइन्छ, जसमा स्क्रु हड्डीसँग जोडिन्छ ।
तेस्रो चरण : अभुटमेन्ट ‘कनेक्टर’ जोडेर माथि क्राउन कृत्रिम दाँत राखिन्छ ।
यो एक, दुई दिनमा सकिँदैन पूर्ण रूपमा ३ देखि ६ महिना लाग्न सक्छ । अहिले ‘इमिडियट इम्प्लान्ट’ पनि उपलब्ध छ, जसमा तुरुन्तै क्राउन राख्न सकिन्छ, तर यो सबै केसमा मिल्दैन ।
यो कति भरपर्दो र दिगो हुन्छ ?
कृत्रिम दाँतहरूको दिगोपन व्यक्तिको मुख स्वास्थ्य, हेरचाह र प्रकारमा निर्भर हुन्छ । इम्प्लान्ट सबैभन्दा भरपर्दो हुन्छ धेरै व्यक्तिमा यो १० वर्ष भन्दा लामो समय टिकेको पाइन्छ । सफलता दर पनि बढी हुन्छ । तर जस्तो कृत्रिम दाँत राखे पनि त्यो कति लामो समय टिक्छ भन्ने कुरा दाँतको हेरचाह राम्ररी गरेको छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ ।
कुन राम्रो भन्ने कुरा केस अनुसार हुन्छ । फिक्स्ड दाँतहरू बढी रुचाइन्छ किनकि यो आरामदायी र दीर्घकालीन हुन्छ । कृत्रिम दाँत कहिलेकाँही छोटो अवधिका लागि वा फिक्स्ड दाँत हाल्न नमिल्ने अवस्थामा राखिन्छ । त्यसैले कस्तो दाँत राख्ने भनेर दन्त चिकित्सकको सल्लाह लिनुपर्छ।
दाँत झर्न नदिन के गर्ने ?
दाँत झरेपछि कृत्रिम दाँत राख्नु भन्दा आफ्नो दाँत झर्न नदिनु राम्रो हो । यसका लागि दिनमा दुई पटक ब्रस गर्नुपर्छ र फ्लस प्रयोग गर्नुपर्छ ।
गिजा र दाँतको समस्या भएमा तुरुन्त उपचार गर्नुपर्छ । धेरै गुलियो र दाँतमा टाँस्सिने खानेकुरा कम खानुपर्छ र नियमित दन्त जाँच गर्नुपर्छ, यसले कृत्रिम दाँतको आवश्यकता नै पर्दैन ।
प्रतिक्रिया 4