
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन २०८२ मा निर्यात २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको तुलनामा ९५.७५ प्रतिशत बढी हो।
- साउनमा आयात १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ, जसमा ११.४२ प्रतिशत वृद्धि भएको भन्सार विभागले उल्लेख गरेको छ।
- साउनमा व्यापार घाटा १ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ, जुन गत आवको तुलनामा २.५५ प्रतिशत बढी हो।
६ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मा निर्यात दोब्बरले बढेको छ ।
भन्सार विभागका अनुसार साउनमा निर्यात २३ अर्ब ९३ अर्ब रुपैयाँ बराबरको भएको छ । यो गत आव २०८१/८२ को तुलनामा ९५.७५ प्रतिशत धेरै हो । गत आव साउनमा १२ अर्ब २२ करोड बराबर वस्तु निर्यात भएको थियो ।
निर्यात व्यापारले गत आव कीर्तिमान बनाएको थियो । त्यसबेला कुल २ खर्ब ७७ अर्बको निर्यात भएको थियो । गत आव औसत मासिक २३ अर्ब रुपैयाँ बराबर निर्यात भएको देखिन्छ । यस अनुसार नयाँ आवमा समेत यो क्रम दोहोरिने देखिएको छ ।
साउनमा वस्तु आयात भने १ खर्ब ४३ अर्ब बराबर भएको छ । आयातमा ११.४२ प्रतिशत वृद्धि भएको छ । भन्सार विभागका अनुसार अघिल्लो आव साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबर आयात भएको थियो ।
निर्यात दोब्बरले बढे पनि आयातमा समेत भएको वृद्धिले व्यापार घाटा भने १ खर्ब १९ अर्ब बराबर उक्लिएको छ । यो गत आवको तुलनामा २.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष साउनमा १ खर्ब १६ अर्ब बराबर व्यापार घाटा थियो ।
कुल वैदेशिक व्यापार आकारमा भने यस वर्ष उल्लेख्य वृद्धि भएको छ । साउनमा कुल वैदेशिक व्यापार आकार १ खर्ब ६६ अर्ब ९७ करोड देखिएको छ । गत वर्ष साउनमा १ खर्ब ४० अर्ब ६० करोडमात्र थियो ।
पहिलो महिनामै २२ अर्बको इन्धन आयात
तथ्यांक अनुसार पहिलो महिना (साउन) मै २१ अर्ब ९९ करोड रुपैयाँ बराबर इन्धन आयात भएको देखिन्छ । यसबाट सरकारले ८ अर्ब ७२ करोड बराबर राजस्व संकलन गर्न सकेको छ ।
त्यस्तै वनस्पति तेल तथा त्यसको कच्चापदार्थ आयात दोस्रो स्थानमा छ । साउनमा १३ अर्ब ४५ करोड बराबर वनस्पति तेल र कच्चापदार्थ आयात भएको देखिन्छ ।
यस्ता वस्तुको निर्यात भने सबैभन्दा धेरै छ । निर्यात १२ अर्ब ३१ करोड बराबर छ । आइरन र स्टिल आयात ११ अर्ब ९ करोड र निर्यात २९ करोड बराबर भएको छ ।
एक महिनामा सवारीसाधन आयातमा ८ अर्ब १ करोड रुपैयाँ विदेशिएको देखिन्छ । राज्यले ७ अर्ब ३० करोड राजस्व संकलन गरेको छ । इलेक्ट्रिक मेसिन र यसका पार्टपुर्जामा ९ अर्ब रुपैयाँ विदेशिएको छ । तरकारीजन्य वस्तु आयातमा २ अर्ब ६० करोड विदेशिएको छ ।
आयात र निर्यात दुवैमा सबैभन्दा ठूलो हिस्सा भारतसँग छ । तथ्यांक अनुसार साउनमा भारतबाट ८३ अर्ब ५३ करोडको वस्तु नेपाल आएको छ । नेपालबाट १९ अर्ब ४५ करोडको निर्यात भारतमा भएको छ । निर्यातमा सबैभन्दा धेरै वनस्पति तेलको हिस्सा देखिन्छ ।
चीनबाट २७ अर्ब ९९ करोडको वस्तु आएको छ । चीनतर्फ निर्यात नगन्य छ भने ५ करोड ४५ लाख बराबरको मात्र वस्तु निर्यात भएको छ ।
साउनमा नेपालको तेस्रो ठूलो व्यापार साझेदार देश अर्जेन्टिना देखिएको छ । त्यहाँबाट ९ अर्ब १२ करोडको वस्तु आयात भएको छ । चौथो स्थानमा कतार छ । पाँचौंमा यूएई छ । त्यसपछि क्रमश: इन्डोनेसिया, अमेरिका, ब्राजिल, थाइल्यान्ड, मलेसिया र जापान छ । साउनमा ८६ देशसँग व्यापार भएको छ ।
वस्तुगत आयातमा सबैभन्दा ठूलो हिस्सा कच्चा सोयाबिन तेल पहिलो स्थानमा छ । साउनमा १० अर्ब ८० करोड बराबर कच्चा सोयाबिन तेल आयात भएको छ ।
दोस्रो स्थानमा डिजेल छ । ५ अर्ब ८८ करोडको डिजेल आयात भएको छ । तेस्रो स्थानमा पेट्रोल छ । साउनमा ५ अर्ब ७७ करोडको पेट्रोल आयात भएको तथ्यांक छ ।
चौथो स्थानमा खाना पकाउने ग्यास छ । ४ अर्ब ६६ करोडको एलपीजी ग्यास आयातको तथ्यांक विभागसँग छ । ३ अर्ब ४१ करोडको स्मार्ट फोन र १ अर्ब ५२ करोडको सुन आयात भएको छ ।
वस्तुगत निर्याततर्फ पहिलो स्थानमा सोयाबिन तेल छ । यो १० अर्ब ६९ करोड बराबर छ । कार्पेट र टेक्सटायल दोस्रो स्थानमा छ । जुन ८२ करोड बराबर निर्यात भएको छ । पाम आयल तेस्रो स्थानमा छ । सूर्यमुखी तेल चौथो स्थानमा छ ।
प्रतिक्रिया 4