+
+
Shares

वीरगञ्ज प्रकोपको सम्भावित कारण : भीडभाड, दूषित पानी र सडक खानेकुरा

संक्रमित संख्या अनुमानभन्दा १० गुणा बढी हुनसक्ने चेतावनी

वीरगञ्ज प्रकोपमा पनि हाल गणना गरिएको संक्रमितको संख्याभन्दा १०औं गुणा बढी संक्रमित भएको तर लक्षणविहीन अवस्थामा भएको हुनसक्छ । यस्ता लक्षणविहीन संक्रमितबाट पनि झन्डै १० दिनसम्म हैजाका किटाणु दिसामार्फत बाहिर निस्किने गर्छ ।

डा. शेरबहादुर पुन डा. शेरबहादुर पुन
२०८२ भदौ ९ गते १९:४२

वीरगञ्जमा कडा झाडापखालाको प्रकोप तीव्र गतिमा फैलिँदो छ । मनसुनमा झाडापखाला देखिनु अनुमानित नै हो । तर वीरगञ्जमा के कारणले प्रकोपकै रूपमा झाडापखाला फैलियो वा स्रोत के हो भन्ने विषयमा पुष्टिभन्दा बढी अनुमान गरिँदैछ ।

झाडापखालाको प्रकृति अनि विगतको अनुभवले हैजालाई प्रबल सम्भावित कारकको रूपमा हेर्न सकिन्छ । हाल केही बिरामीमा हैजाको संक्रमण देखिएको समाचारहरू आइरहेका छन् ।

यो पुष्टि सम्भवत: र्‍यापिड टेस्ट (आरडीटी) वा हेन्गिन ड्रप टेस्ट परीक्षणमा गरिएको हुनुपर्छ । हैजाको निश्चित निदान भने नमुनाको कल्चर गरेर मात्र गर्न सकिन्छ ।

यो विधिबाट (कल्चर) हैजा पुष्टि भएमा संक्रमणले प्रकोपको रूप लिएको अधिकारिक मान्न सकिन्छ । समग्रमा समाचारमा प्रकाशित संख्यालाई औसतमा हेर्ने हो भने कम्तीमा ६० प्रतिशतभन्दा बढीमा भने कडा झाडापखालाको कारण (नन कलेरा वा हैजा नेगेटिभमा) थाहा-बहस भएको देखिँदैन वा अज्ञात देखिन्छ ।

अनि प्रश्न उठ्छ, यति ठूलो संख्यामा कडा झाडापखाला देखिनुको कारण के होला ? यो प्रश्न यो मानेमा पनि महत्वपूर्ण छ कि वीरगञ्ज प्रकोपको विस्तृत जानकारी अहिले थाहा हुन सकेन, पत्ता लगाइएन भने आगामी दिनमा यस्तै प्रकृतिको प्रकोप देखिए शीघ्र नियन्त्रण गर्न कठिनाइ आउन सक्छ ।

वीरगञ्ज प्रकोपमा हैजालाई नै सम्भावित मुख्य कारक मानिएको छ । वीरगञ्जका अस्पताल वा स्वास्थ्य निकायको स्रोतलाई आधार मानेर तथ्यांकहरू प्रस्तुत भइरहेका छन् ।

यी तथ्यांकलाई समग्र आधार मानेर औसतमा हेर्दा झन्डै ३६ प्रतिशतको हाराहारीमा झाडापखालाको कारक हैजा भनिएको छ । यद्यपि, कल्चर परीक्षण विधिबाट यसको पुष्टि भने बाँकी नै छ । कल्चर परीक्षण विधिबाट हैजाविरुद्ध उपयुक्त एन्टिबायोटिकको छनोट पनि गरिन्छ ।

पछिल्लो पटक हैजा नवलपरासी अनि काठमाडौँमा देखिएको थियो । नवलपरासीमा फैलिएको हैजाबाट केही बिरामीको मृत्युसमेत भएको थियो ।

अहिलेसम्म वीरगञ्ज प्रकोपमा कम्तीमा ३ जनाको मृत्यु भएको जानकारी सार्वजनिक भएको छ । तर मृत्युको कारण हैजा हो वा कडा झाडापखाला गराउने अरू नै जीवाणु हो भन्ने निश्चित हुन बाँकी नै छ ।

हैजाका लक्षण संक्रमण भएको १२ घण्टादेखि ५ दिनसम्ममा देखिने गर्छ । १० संक्रमितमध्ये १ जनामा कडा हैजा देखिन्छ ।

वीरगञ्ज प्रकोपमा पनि हाल गणना गरिएको संक्रमितको संख्याभन्दा १०औं गुणा बढी संक्रमित भएको तर लक्षणविहीन अवस्थामा भएको हुनसक्छ । यस्ता लक्षणविहीन संक्रमितबाट पनि झन्डै १० दिनसम्म हैजाका किटाणु दिसामार्फत बाहिर निस्किने गर्छ ।

यदि शौचालय व्यवस्थित नभएको वा सो संक्रमितले व्यक्तिगत सर–सफाइमा ध्यान नदिए हैजाले निरन्तर फैलिने अवसर पाउनेछ ।

चौलानी पानी जस्तो तारन्तार दिसा हुनु, निरन्तर बान्ता हुनु र मांसपेसी (विशेषत पिँडुला वा पेटको) बाउडिनु हैजाका मुख्य लक्षण हुन् । यस्तो अवस्थामा तुरुन्त अस्पताल गई उपचार गर्नुपर्छ । उपचार छिटो गर्न सके हैजाबाट हुने मृत्युदरलाई एक प्रतिश भन्दा कममा झार्न सकिन्छ ।

नेपालमा वर्षेनीजसो जारको विभिन्न ब्रान्डबाट फेकल कोलिफोर्म भेटिने गरेको सार्वजानिक हुँदै आइरहेको छ ।

केही दिनअघि पनि काठमाडौँका विभिन्न ठाउँमा बिक्री गर्न राखिएका जारका पानीको नमुना संकलन गरी परीक्षण गर्दा फेकल कोलिफोर्म भेटिएको भनिएको थियो । यसबाट फेकल कोलिफोर्म अर्थात दिसामिश्रित पानी उपभोग गरिरहेका छौं भन्ने बुझिन्छ ।

तसर्थ, संक्रमितको दिसाबाट हैजालगायत विभिन्न प्रकारका ब्याक्टेरिया जारको पानीमार्फत पनि हाम्रो शरीरमा प्रवेश गरिरहेको अनुमान गर्न सकिन्छ । यसमध्ये इकोलाई ब्याक्टेरिया एक प्रमुख संक्रमण हो ।

काठमाडौँमा गरिएको एक अनुसन्धानले इकोलाई ब्याक्टेरिया सबैभन्दा बढी (३७ प्रतिशत) जारको पानीमा भेटिएको पुष्टि गरेको थियो । संक्रमण भएको ३ देखि ८ दिनसम्ममा यो ब्याक्टेरियाको लक्षण देखिने गर्छ। पखाला लाग्ने र मांसपेसी बाउँडिने यसको मुख्य लक्षण हो ।

कतिपयमा ज्वरो आउने अनि बान्ता पनि हुने गर्छ । दिसामा रगत देखिन सक्छ । कडा संक्रमण भए मिर्गौला फेल हुनसक्छ । समयमा उपचार नपाए मृत्युदर ५ प्रतिशतसम्म पुग्ने गर्छ ।

हाल वीरगञ्ज प्रकोपमा इकोलाई ब्याक्टेरियाको भूमिका के-कस्तो छ ? त्यो हेर्न बाँकी नै छ । नेपालमा सडक खानेकुरा अथवा स्ट्रिट फुड लोकप्रिय छ । त्यसमा पनि पानीपुरी धेरैले मन पराउँछन् । असुक्षित पानीपुरीबाट पनि झाडापखाला गराउने गरेको विगतको अनुभव देखाउँछ ।

नेपालमा गरिएका विभिन्न अनुसन्धानले पानीपुरीमा विभिन्न प्रकारका संक्रमण पुष्टि गरेका छन् । एक अनुसन्धानले काठमाडौँका विभिन्न ठाउँबाट लिएको पानीपुरीको नमुना संकलनमा सबैभन्दा बढी ‘स्टाफिलाकोकस औरियस’ ब्याक्टेरिया भेटिएको देखिएको थियो ।

यसको संक्रमणले बिरामीमा अचानक बान्ता हुने, मांसपेसी बाउँडिने र पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिन्छन् । संक्रमण भएको ३० मिनेटदेखि ८ घण्टा भित्रमा लक्षणहरू देखापर्छ । धेरैजसो संक्रमितहरू एकदेखि दुई दिनमा निको हुन्छन् ।

तर जेष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा भने संक्रमण जटिल अवस्थमा जानसक्ने सम्भावना रहन्छ । सम्भवत: वीरगञ्जमा पनि पानीपुरी लोकप्रिय स्ट्रिट फूड हो भने यो ब्याक्टेरियालाई अहिलेको प्रकोपको सम्भावनाको कारकको रूपमा नकार्न सकिँदैन ।

वीरगञ्जमा देखिएको झाडापखालालाई यो वर्षको पहिलो ठूलो प्रकोपको रूपमा लिन सकिन्छ । धेरैको ध्यान लगभग ३७ प्रतिशतजतिमा देखिएको भनिएको हैजा संक्रमणप्रति मात्र आकृष्ट भइरहँदा ६० प्रतिशतभन्दा बढी झाडापखालाका बिरामीलाई अस्पतालसम्म पुर्याउने कारक संक्रमणको बारेमा भने अनविज्ञ जस्तै वा अज्ञात नै देखिन्छ । अझ भनौं, बहससमेत भएको छैन ।

यद्यपि, माथि चर्चा गरिएका संक्रमण विशेषत: पिउने पानी अनि लोकप्रिय स्ट्रिट फुड पानीपुरीमा बढी देखिएको अनुसन्धानले देखाएकोले वीरगञ्ज प्रकोपमा पनि ती संक्रमणहरूको सम्भावित भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन ।

हाल वीरगञ्जमा देखिएको अधिकांश हैजा नेगेटिभ देखिएका (नन् कोलेरा) कडा झाडापखालाका बिरामीमा पनि संक्रमण पत्ता लगाउन सके वा लगाएमा आगामी दिनमा देखिन सक्ने ठूला झाडापखालाका प्रकोपको सटिक र शीघ्र नियन्त्रण-व्यवस्थापन गर्न मद्दत मिल्ने थियो ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)

लेखक
डा. शेरबहादुर पुन

लेखक सरुवा रोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?