
९ भदौ, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा समुदायस्तरमै हैजाको संक्रमण फैलिएपछि चौतर्फी चासो र चिन्ता बढेको छ । हैजा रोकथाम तथा नियन्त्रणका लागि राज्यका तीनै तह गम्भीर भएर लागेका छन् ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली समेत आइतबारदेखि नै वीरगञ्ज परिचालित छन् । दुवै टोलीले हैजा नियन्त्रण तथा रोकथामका गतिविधिबारे नजिकैबाट अनुगमन गरिरहेका छन् ।
सोमबार हैजा प्रकोप रोकथाम तथा नियन्त्रणबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरू सहभागी थिए ।
छलफलमा मेयर सिंहले हैजा प्रभावित क्षेत्रमा जथाभावी औषधिजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिए । उनले हैजालाई ‘हौवा’ बनाएर व्यापार नगर्न सबैसँग आग्रह गरे ।
नीजि अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको देखिएको भन्दै मेयर सिंहले सरकारले नै किट निःशुल्क उपलब्ध गराउने स्पष्ट पारे ।
छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिँदै, निजी स्वास्थ्य संस्थाले झाडापखाला जन्य रोगको उपचारका लागि समान मापदण्ड अपनाउनु उपयुक्त हुने बताए ।
महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र त्यहाँ आईसीयूमा उपचाररत बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी रहेको जानकारी दिइयो ।
त्यसैगरी स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखाका प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको स्पष्ट पारे ।
प्रतिक्रिया 4