+
+
Shares

तीज : नेपाली नारीको सामूहिक पहिचान

पण्डित नारायणप्रसाद दुलाल पण्डित नारायणप्रसाद दुलाल
२०८२ भदौ १० गते ९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तीज पर्व नेपाली समाजमा नारीको सांस्कृतिक पहिचान र सामूहिक आत्माको प्रतीकका रूपमा विशेष महत्त्वका साथ मनाइन्छ।

“शिवायै वरदायै च पार्वत्यै परमेश्वरीम् ।
तपोबलसमायुक्तां वन्दे हरितालिकाम् ॥”

नेपाली समाजमा तीज पर्व विशेष महत्त्वका साथ मनाइन्छ । तीज केवल एउटा पर्व होइन, यो नेपाली नारीको हृदयमा धड्कने संस्कृतिको स्वर हो । वर्षभरि अनेकौँ पर्व आउँछन्, तर तीज आउँदा घर आँगनै रमाइलो हुन्छ, घरभरि राग र रङ घुल्दछ, अनि नारीको सामूहिक आत्मा जागृत हुन्छ ।

परम्पराको सुरिलो तालमा नाच्दै, गीतका भावपूर्ण शब्दहरूमा आफ्ना सपना उकेर्दै, नारीहरू यस दिन आफ्ना पीडा र उमङ्गलाई संसारसँग बाँड्छन् । यस दिन विवाहित र अविवाहित महिलाहरूले तीजको विशेष व्रत बस्ने, देवालय जाने, गीत गाउने, नाच्ने र सामूहिक रूपमा भेला हुने परम्परा रहेको छ । तीज केवल एक धार्मिक अनुष्ठान नभई नेपाली नारीको भक्ति, भावना र स्वाभिमानको प्रतिविम्ब हो ।

“भक्त्या समर्पिता नारी धर्मेण च समन्विता ।
हरितालिका तिजेन तस्याः सिद्धिर्भविष्यति ॥”

तीजलाई संस्कृति र परम्पराको धरोहरका रूपमा लिने गरिन्छ । तीजको गीत सुन्दा लाग्छ- यो केवल धुन मात्र होइन, एक पुस्ताले अर्को पुस्तालाई सुनाएको अनुभव हो । विशेषगरी तीज गीतहरूले नारीको जीवनमा भएका पीडा, सङ्घर्ष र आशाहरूलाई उजागर गर्दछ ।

कतै माइतीघरको तिर्खा पोखिन्छ, कतै मायाप्रेमका सपना झल्किन्छन् । पुराना तीज गीतहरूमा परिवारप्रतिको भावनात्मक सम्बन्ध, माइतीप्रतिको सम्झना र वैवाहिक जीवनका दुःखसुख अभिव्यक्त हुन्छन् ।

आधुनिक समयमा भने यी गीतहरूले नारी अधिकार, स्वतन्त्रता र सामाजिक चेतना फैलाउने काम पनि गरेका छन् । यसरी तीज नेपाली नारीलाई एउटै डोरीमा गाँस्ने सांस्कृतिक उत्सव, सामूहिक आवाज र सांस्कृतिक एकताको माध्यम बनेको छ ।

हरितालिका तीजलाई धार्मिक रूपमा देवी पार्वती र महादेवको कथासँग जोडिन्छ । मान्यता अनुसार देवी पार्वतीले कठोर तपस्या गरी शिवलाई वरका रूपमा प्राप्त गर्नुभएको स्मरणमा महिलाहरूले यो व्रत बस्ने गर्छन् । विवाहित महिलाहरूले आफ्नो वैवाहिक जीवन सुखमय होस् भन्ने र पतिको दीर्घायुको कामना गर्छन् । अविवाहित युवतीले योग्य जीवनसाथी प्राप्त होस् भन्ने विश्वासका साथ तीज मनाउँछन् ।

उपवास, पूजापाठ र भक्ति यस पर्वको प्रमुख धार्मिक पक्ष हुन्, जसले नारीलाई आत्मअनुशासन र आध्यात्मिक उन्नतिको अभ्यास गराउँछ ।

समयको परिवर्तनसँगै तीजले पनि नयाँ स्वरूप लिएको छ । डिजिटल युगमा तीज फेसबुक, टिकटक र युट्युबमा झन् चम्किलो बनेर आएको छ, जसले तीजलाई विश्वभर फैलाइदिएको छ । नयाँ पुस्ताका नारीहरूले तीजलाई मनोरञ्जन मात्र होइन, चेतना फैलाउने शक्तिका रूपमा प्रयोग गर्न थालेका छन् ।

गीत, गजल र ग्ल्यामरबीच पनि आस्थाको सुगन्ध हराएको छैन, बरु अझै नारी स्वतन्त्रताको स्वरमा परम्पराको मिठास मिसिएको छ। यसले नेपाली संस्कृति र नारी पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

तीजको गहिरो सौन्दर्य यही हो- यसले नारीलाई आफ्नो कथा भन्न दिने अवसर दिन्छ । यो पर्वमा आस्था छ, संस्कृति छ, आधुनिकताको स्पर्श छ, र सबैभन्दा ठूलो कुरा, सामूहिक आत्मपहिचान छ । तीज नारी मात्रको पर्व होइन, समग्र नेपाली समाजको गौरव हो ।

धार्मिक आस्था, सांस्कृतिक गौरव र आधुनिक चेतनाको सङ्गम भएको तीज आजको पुस्ताका लागि पनि प्रेरणादायी बनेको छ । त्यसैले तीजलाई केवल परम्परागत पर्वका रूपमा नभई नेपाली नारीको सामूहिक पहिचान र आत्मगौरवको पर्वका रूपमा संरक्षण र संवर्द्धन गर्न आवश्यक छ । यसलाई जोगाउनु भनेको हाम्रो आस्था, हाम्रो संस्कृति र हाम्रो भविष्यलाई जोगाउनु हो । अस्तु ।।

-ज्योतिषाचार्य / वास्तुविद्
पण्डित नारायणप्रसाद दुलाल

लेखक
पण्डित नारायणप्रसाद दुलाल

दुलाल ज्योतिषाचार्य र वास्तुविद्  हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?