
News Summary
Generated by OK AI. Editorially reviewed.- तेली जातिको उत्पत्ति मिथक र इतिहासमा आधारित छ, जसले श्रम, संस्कार र सम्मानको सामूहिक स्मरण प्रस्तुत गर्छ।
- नेपालमा करिब ४ लाख ३१ हजार ३४७ जना तेली छन्, जुन कुल जनसंख्याको १.४८ प्रतिशत र १६औँ ठूलो जातीय समूह हो।
- तेली समुदायले सामाजिक सेवा, परोपकार र आर्थिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।
अन्तर्राष्ट्रिय तेली दिवस केवल कुनै एउटा समुदायको उत्सव मात्र होइन, यो श्रम, संस्कार र सम्मानको सामूहिक स्मरण हो ।जतिसुकै नयाँ सभ्यता, संस्कार र धर्म उदाए पनि श्रमको अपरिहार्यता र महत्व घटेको छैन ।
आज हामी गर्वका साथ भन्न सक्छौं, तेली जातिको कथा केवल तेल निकाल्ने वा तेल व्यापार गर्ने मात्र होइन, यसले संस्कृतिको धरोहर बोकेको छ, सेवाको परम्परा स्थापित गरेको छ र इतिहास निर्माण गरेको छ ।
तेली जातिको उत्पत्तिका विषयमा धेरै कथनहरू पाइन्छन् । रस्सेल आरभीले ‘द ट्राइब्स एन्ड कास्टस् अफ सेन्ट्रल प्रोभिन्सेस अफ इन्डिया’ मा यसबारे विस्तृत रूपमा वर्णन गरेका छन् ।
गणेश भगवान कसरी उत्पन्न भए भन्ने कथा त हामीले सुनेकै छौँ । पार्वतीले हातको मैलाबाट गणेश बनाएको, गणेशले ढोका सम्हालेको, शिवले गणेशको टाउको काटिदिएको, अनि हात्तीको टाउको जोडेर पुन:र्जीवित बनाइएको कुरा पौराणिक कथामा छ ।
तर सो कथाको अर्को गहिरो पक्ष त्यो व्यापारीसँग जोडिन्छ, जसको हात्ती शिवले गणेशको जीवनका लागि बलिदान गरेका थिए ।
व्यापारीले आफ्ना प्रिय हात्तीको निधनमा बिलौना गर्दा शिवले सान्त्वना दिने मात्र होइन, उसलाई जीवनयापनको उपाय पनि दिएका थिए । शिवले ओखल–मुसल दिएर तेल निकाल्न सिकाएका थिए । तिनै व्यापारीको ‘तेली’ समुदाय रहेको कथन छ। यसरी तेली जाति गणेश भगवानको जीवनसँग गाँसिएको धार्मिक–सांस्कृतिक मिथक हो ।
अर्कोतर्फ अंग्रेज इतिहासकार क्रुकले मिर्जापुर क्षेत्रमा चल्ने अर्को कथा उल्लेख गरेका छन् । उनका अनुसार एक व्यक्तिका तीन छोरामध्ये तेस्रो छोराले महुआका फलबाट तेल निकाल्न थाले । अनि उसैलाई तेली जातिको संस्थापक मानियो । महाभारतमा तुलाधार नामका तेल व्यापारीको चर्चा हुन्छ, पद्मपुराणमा विष्णुगुप्त नामक व्यक्तिले तेल व्यापार गरेको प्रसंग उल्लेख गरेको पाइन्छ । यी सबै सन्दर्भहरूले देखाउँछन्, तेल पेल्ने र तेल व्यापार गर्ने वर्ग केवल श्रमजीवी मात्र थिएनन्, तिनीहरूले समाजको आधारभूत आर्थिक संरचना बोकेका थिए ।
इतिहासमा तेली समुदायलाई दक्षिण भारतका मन्दिर संस्कृतिसँग पनि जोडिएको पाइन्छ । जब मन्दिरहरूको स्थापना हुन थाल्यो, पूजा–अर्चनाका लागि दियो बाल्न तेलको आवश्यकता पर्यो। फूल, माला र दियोका लागि तेल व्यवस्थापन गर्ने जिम्मेवारी तेलीहरूले सम्हाले । यसरी तेली जाति धार्मिक–सांस्कृतिक परम्पराको अभिन्न हिस्सा बन्यो ।
गुप्त वंशको चर्चा गर्दा पनि इतिहासकारहरूले तेली समुदायबारे उल्लेख गरेका छन् । लामो समयसम्म शासन गर्ने गुप्त वंशलाई वैश्य तेली वंशका रूपमा लिइने गरेको पाइन्छ । तर जैन मुनिहरूको अहिंसावादी विचारधाराका कारण तेल पेल्ने कार्यलाई हिंसात्मक भनियो र यसलाई तल्लो कामका रूपमा हेर्न थालियो ।
यतिबेला तेलहन बाली उत्पादन हुने गुजरात, महाराष्ट्र, राजस्थान क्षेत्रमा तेलीहरूले आफ्नो व्यवसाय जोगाउन संघर्ष गरे। यसरी जातीय द्वन्द्व, सामाजिक अवहेलना र संघर्षबाट ‘तेली वैश्य’ र ‘मोढ बनिया’ जस्ता जातमा वर्गीकृत भए ।
यही जातबाट इतिहासमा दुई महत्त्वपूर्ण व्यक्तित्व जन्मिए-मोढ बनिया समुदायका महात्मा गान्धी, जसलाई विश्वले अहिंसाको पुजारीका रूपमा चिन्छ । र धान्ची क्षेत्रीय मोढ तेली समुदायका नरेन्द्र मोदी, जो आज भारतका प्रधानमन्त्री छन् । यी व्यक्तित्वहरूले तेली जातिको पहिचानलाई विश्व समुदायमाझ परिचित गराएका छन् ।
२०७८ को जनगणना अनुसार नेपालमा करिब ४ लाख ३१ हजार ३४७ जना तेली समुदाय रहेका छन्, जुन कुल जनसंख्याको १.४८ प्रतिशत हो । जनसंख्या अनुपातका हिसाबले नेपालमा तेली १६औँ ठूलो जातीय समूह हो ।
विशेषगरी तराईका जिल्लामा बसोबास गर्ने तेली समुदायले कृषि, सानोतिनो व्यापार, उद्योग र सामाजिक सेवामा योगदान दिँदै आएका छन्।
तेली समुदायका ऐतिहासिक सन्दर्भहरूमा भामा साहजस्ता व्यक्तित्वको चर्चा पनि महत्त्वपूर्ण छ । समाजमा परोपकारी र नेतृत्वदायी भूमिका खेलेका भामा साह जस्ता पात्रहरूले तेली समुदाय केवल श्रमजीवी मात्र नभई समाजसुधार र नेतृत्वमा पनि अग्रसर रहेको देखाउँछन् ।
यतिबेला नेपालमा पनि तेली समुदाय सामाजिक सेवा र परोपकारमा सक्रिय छ । मोरङ जिल्लामा तेली कल्याण समाज नेपालले विगत केही वर्षयता निरन्तर समाजिक कार्यक्रम गर्दै आएको छ ।
यस वर्ष पनि भाद्र ७ गते कुशे औँसीको अवसरमा मानव सेवा आश्रममा वृद्ध तथा असहायलाई खाना खुवाउने कार्यक्रमले तेली समाजको सेवा–भावलाई देखाएको छ । त्यस्तै, लगातार तीन वर्षदेखि रक्तदान कार्यक्रम आयोजना गरेर तेली समाजले मानवतावादी मूल्यको अभ्यास गर्दै आएको छ । यी कार्यक्रमहरूले देखाउँछन्, तेली समुदाय केवल आफ्नो पहिचान र इतिहासप्रति मात्र सचेत छैन, उसले वर्तमान समाजमा पनि सेवा र योगदानलाई निरन्तरता दिइरहेको छ ।
तेली जातिको कथा श्रमसँग जोडिएको छ, तर त्यो श्रम कहिल्यै सस्तो वा तुच्छ हुँदैन । त्यो श्रम समाजलाई उर्जावान् बनाउने, जीवनलाई सहज बनाउने, संस्कृतिलाई निरन्तरता दिने आधार हो । तेल पेल्ने ओखल र मुसल केवल औजार मात्र होइनन्, तिनीहरू भगवान् शिवका प्रतीकका रूपमा लिइन्छन् । यसले देखाउँछ, तेली जातिले श्रमलाई पूज्य स्थानमा पुर्याएको छ ।
आज जब हामी अन्तर्राष्ट्रिय तेली दिवस मनाउँछौं, त्यो केवल उत्पत्तिको स्मरण होइन । त्यो हाम्रो समुदायको श्रम, संघर्ष, इतिहास, योगदान र परोपकारप्रतिको सम्मान हो । यस वर्ष विराटनगरमा महिला जागृति आश्रममा वृद्ध आमाबुबालाई खाना खुवाएर मनाइने कार्यक्रम यसको उत्कृष्ट उदाहरण हो । सेवा र सम्मानको यही भावनाले दिवसलाई अझ अर्थपूर्ण बनाउँछ ।
तेली दिवस मनाउनु भनेको समाजलाई यो सन्देश दिनु हो-श्रम नै जीवनको आधार हो, सेवा नै मानवीय मूल्य हो र सम्मान नै पहिचान हो ।
तेली जातिको उत्पत्ति मिथकमा होस् वा इतिहासमा, योगदानले भने समाजलाई सजिलो, उज्यालो र समृद्ध बनाएको छ । आज, तेली समुदायले गर्वका साथ भन्न सक्छौ-हामी श्रमिक हौं, हामी व्यापारी हौं, हामी संस्कृतिको वाहक हौं र हामी सेवाभावका अभ्यासकर्ता हौं।
हाम्रो इतिहास महात्मा गान्धीजस्ता व्यक्तित्वसँग जोडिएको छ, हाम्रो संस्कृति गणेश भगवान् र शिवसँग गाँसिएको छ । हाम्रो पहिचान श्रम र सम्मानमा स्थापित छ । यो दिवसले केवल तेली समुदायलाई मात्र होइन, सम्पूर्ण समाजलाई प्रेरणा दिन्छ ।
किनभने प्रत्येक जाति, प्रत्येक समुदायको योगदानले मात्रै समाज पूर्ण हुन्छ । तेली जातिको योगदानलाई सम्झिँदै, हामी सेवा, श्रम र सम्मानको बाटोमा अगाडि बढौँ ।
(लेखक साह तेली कल्याण समाज नेपालका मोरङ जिल्ला अध्यक्ष हुन् ।)
प्रतिक्रिया 4