+
+
Shares

लोडसेडिङ कुनै टेक्निकल मानिसले अन्त्य गरेको होइन : प्रचण्ड

‘तर मान्छेहरू टेक्निकल्ली भयो भने त्यसैलाई मान्यता दिएर उही यो सबै उसैले गर्‍यो भनेको जस्तो गरी प्रचार गर्ने जो भएको छ, त्यो पनि त्यति न्यायसंगत भए जस्तो मलाई लाग्दैन।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १६:४९

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कहालीलाग्दो लोडसेडिङ कुनै टेक्निकल मान्छेले अन्त्य नगरेको जिकिर गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२’ कार्यक्रममा बोल्दै प्रचण्डले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको नाम नलिइकन लोडसेडिङको नेतृत्व राजनीतिक नेतृत्वले गरेको बताएका हुन् ।

उनले आफ्नो नेतृत्वमा पटक-पटक सरकार बन्दा आफ्नो भिजन र सपनाको कारण लोडसेडिङ हटेको तर्क गरे । उनले राजनीतिक नेतृत्वको सपना र भिजन नभई कुनै प्राविधिक नेतृत्वले लोडसेडिङ अन्त्य गर्न नसक्ने दोहोर्‍याए ।

‘लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्तितिर गएपछि त्यसले एउटा गयो … तर, यहाँनिर कहिलेकाँही के लाग्छ मलाई भने मानिसहरू कस्तो विवेक पुर्‍याउने कुरामा कहिलेकाँही कसरी चुक्छन् ?’ उनले भने, ‘यो आखिरमा पोलिटिकल लिडरसिपको भिजन, उसको सपना र समर्पण नभइकन कुनै टेक्निकल मान्छेले मात्रै गरेर यो हुन्थ्यो भने त टेक्निकल मान्छे त धेरै वर्षदेखि छन् नि !’

उनले थपे, ‘सक्षम मान्छे नेपालमा नभएको होइन, नभएको त पोलिटिकल लिडरसिप र उसको भिजन र उसको सपना हो नि ।’

सम्बोधनको क्रममा प्रचण्डले कुलमानको नाम नलिई नागरिकले लोडसेडिङको अन्त्य गरेको जस प्राविधिक नेतृत्वलाई दिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘तर मान्छेहरू टेक्निकल्ली भयो भने त्यसैलाई मान्यता दिएर उही यो सबै उसैले गर्‍यो भन्या जस्तो गरी प्रचार गर्ने जो भएको छ, त्यो पनि त्यति न्याय संगत भए जस्तो मलाई लाग्दैन।’

उनले भने, ‘त्यसमा त आइडियोलोजी हुन्छ, पोलिटिक्स हुन्छ, त्यहाँ एउटा स्ट्राटेजी हुन्छ, एउटा भिजन हुन्छ । त्यसो भएर त्यस अनुसारको सेटिङ गर्ने पनि पोलिटिकल लिडरसिपले गर्ने सेटिङ हो। अगाडि बढ्ने भनेको नि पोलिटिकल लिडरसिपले नै हो ।’

उनले आफ्नो नेतृत्वमा ऊर्जा क्षेत्रमा बढी मिहिनेत गर्नुपर्छ भनेर भारतसँग साझेदारीको कुरा अगाडि बढाएको बताए । ‘भारतसँगको साझेदारीको कुरा या बंगलादेशसँग मेरो दुई पटक कुरा भएको छ, विदेशमा राष्ट्र संघको महासभामा जाँदा खेरि पनि, अर्को कोपको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि’ उनले भने, ‘बंगलादेशसँग त्यो व्यापारको ढोका खोल्नको लागि धेरै मेहेनत भएको छ । भारतसँग धेरै मेहेनत भएको छ।’

कार्यक्रममा प्रचण्डले गरेको सम्बोधनको अंश-

नयाँ संविधानका मर्म र भावना अनुसार कैयौं आवश्यक कानुनहरू अझै पनि बन्न सकेका छैनन् । त्यहाँ समस्या छ । हाम्रो ब्युरोक्रेसीको समग्र एप्रोच र सोच परम्परावादी नै छ। यसलाई गति दिने खालको छैन। अहिले हामी कहाँ बडो अस्वस्थ खालको प्रतिस्पर्धा जन्मेको छ- सबैले आफूलाई सर्वेसर्वा ठान्ने ।

तपाईं हेर्नुभयो भने जुन संस्थामा गयो भने पनि, निकुञ्जमा गयो भने निकुञ्जले नै पूरै नेपाल चलाउने हो जस्तो गरी त्यहाँभित्र उसले अरू कसैलाई छिर्न पनि नदिने । त्यहाँ केही कुरा रचनात्मक र सकारात्मक काम अगाडि बढाउन पनि नदिने । त्यहाँको राजा हामी नै हौं जस्तो हुन्छ त्यहाँ ।

तपाईं नोकरशाहीतन्त्र- सचिवहरूतिर हेर्न जानु भयो भने त्यहाँ पनि सबै भयभरको अधिकार हामीसँगै छ भनेको जस्तो गरी काम गर्ने छ । त्यसकारण त्यो पुरानो सेट भत्काएर नयाँ सेट खडा नगरिकन ऊर्जा क्षेत्रमा रहेको हाम्रो असीमित संसाधनलाई सदुपयोग गर्न सकिंदैन भन्ने बुझेर नै मैले दोस्रोपटक प्रधानमन्त्री हुँदा ब्युरोक्रेसीमा पनि नयाँ सेट ल्याएकै हो ।

सरकारको नेतृत्वमा पनि अलि ऊर्जावान, नयाँ र गतिशील मन्त्री बनाउन खोजेको हो । त्यतिबेला जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने कुरा र कुलमानलाई एमडी बनाउने कुरा ऊर्जा क्षेत्रमा परम्परागत मान्यता तोड्ने कुरासँग सम्बन्धित थियो ।

तपाईंहरूले खाली मन्त्री भयो, प्रधानमन्त्री भयो, एएमडी भयो भन्ने मात्रै बुझ्नु भएको जस्तो लाग्छ । मलाई धेरै मानिसहरूले यसभित्र अन्तर्निहित गहिराईलाई लिडरसिपले कसरी सोचेको थियो भन्ने कुरालाई जस्ताको तस्तै बुझेको जस्तो लाग्दैन । मलाई बडो हल्काफुल्का बडो सतही ढंगले नै लिने गरिएको छ।

जबकि मैले त्यही ब्युरोक्रेसीलाई जस्ताको तस्तै चलाउन चाहेको भए थालेको भए कुलमानलाई एमडी बनाउन सकिने स्थिति थिएन। जस्ताको तस्तै गर्न खोजेको भए जनार्दनलाई ऊर्जा मन्त्री बनाउन सकिने पनि थिएन । त्यो स्थिति पनि हुँदैन थियो। यो सबै तोडेर नयाँ प्रक्रियातिर जानुपर्छ, त्यो आँट गर्नैपर्छ भनेर जोखिम उठाएर गरिएको सेटिङ हो त्यो । पुरानो सेटिङ भत्काउने र नयाँ जनपक्षीय सेटिङ, जनताको भावना र हित अनुसारको सेटिङ बनाउने उद्देश्यद्वारा भयो र त्यो प्रक्रियामा नै फेरी हामी ऊर्जा क्षेत्रमा गयौं ।

यसको अगाडि यसको पृष्ठभूमिको रूपमा म पोष्टबहादुर बोगटीलाई नै सम्झिन चाहन्छु। किनभने पोस्ट बहादुर बोगटीलाई हामीले मन्त्रिमण्डलमा पठाउँदै गर्दा र ऊर्जा मन्त्रालयको जिम्मै तपाईंले लिनुपर्छ भनेर मैले ऊर्जा क्षेत्र छोड्न हुँदैन सकेसम्म भन्ने मलाई पहिलादेखि नै थियो। मैले जुन कुरा अहिले तपाईहरूलाई स्मरण गराएँ, पहिलो गणतन्त्र नेपालको सरकार हुँदा नै एउटा भिजन र एउटा सपनाका साथ काम अगाडि लान खोजिएको थियो।

अर्कोपटक पनि हामीले क्याबिनेट भित्र प्रवेश गर्न पाउँदा प्राथमिकता ऊर्जालाई नै दिइयो र पोष्ट बहादुर बोगटी एउटा असाध्यै इमान्दार निष्ठावान र क्रान्तिकारी योद्धाको रूपमा हुनुहुन्थ्यो भन्ने अब सिंगै नेपालले पनि अहिले त महसुस गरिसकेको छ र उहाँलाई यो क्षेत्रमा लगिसकेपछि नीतिगत स्थिरताको एउटा वातावरण पोलिसी सिफ्ट गर्ने एउटा वातावरण त्यहाँबाट बनाइयो बन्यो ।

केही त्यस्ता परियोजनाहरू अलि ऐतिहासिक ढंगले अगाडि बढाउने जमर्को पनि पोस्ट बहादुरजीले गर्नुभयो । छिमेकीहरूसँग भ्रमणको क्रममा पनि त्यसमा धेरै मेहनतहरू भएको छ चाहे वेस्ट सेतीको कुरा गरौं या अन्य नीतिगत कुरा गरौं । धेरै महत्वपूर्ण सैद्धान्तिक र नीतिगत सिफ्ट त्यतिबेला गरियो ।

अर्को पटक सरकारको नेतृत्व हामीले गर्दा यो क्षेत्रमा धेरै चिज गर्ने अवसर प्राप्त भयो र त्यसले ऊर्जाको क्षेत्रमा त्यसको सदुपयोग गर्ने कुरामा माओवादी केन्द्र त्यसको नेतृत्व धेरै गम्भीर छ भन्ने एउटा सन्देश गयो पनि ।

झन् लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट, त्यसबाट मुक्तितिर गयो ।

तर यहाँनिर कहिलेकाही के लाग्छ मलाई भने मानिसहरू कस्तो विवेक चाहिँ पुर्‍याउने कुरामा कहिलेकाही कसरी चुक्छन् ? यो आखिरमा पोलिटिकल लिडरसिपको भिजन, उसको सपना र उसको समर्पण नभैकन कुनै टेक्निकल मान्छेले मात्रै गरेर यो हुन्थ्यो भने त टेक्निकल मान्छे त धेरै वर्षदेखि छन् नि ! सक्षम मान्छे नेपालमा नभएको होइन । नभएको त पोलिटिकल लिडरसिप र उसको भिजन, उसको सपना हो नि !

तर मान्छेहरू टेक्निकल्ली भयो भने त्यसैलाई मान्यता दिएर उही यो सबै उसैले गर्‍यो भनेको जस्तो गरी प्रचार गर्ने जो भएको छ, त्यो पनि त्यति न्यायसंगत भए जस्तो मलाई लाग्दैन।

त्यसमा त आइडियोलोजी हुन्छ । पोलिटिक्स हुन्छ । त्यहाँ एउटा स्ट्राटेजी हुन्छ । एउटा भिजन हुन्छ । त्यसो भएर त्यस अनुसारको सेटिङ गर्ने पनि पोलिटिकल लिडरसिपले गर्ने सेटिङ हो। अगाडि बढ्ने भनेको नि पोलिटिकल लिडरसिपले नै हो ।

अर्को पटक आउँदा हामीले ऊर्जा क्षेत्रमा अझ बढी मेहेनत गर्नुपर्छ भनेर नै भारतसँगको साझेदारीको कुरा या बंगलादेशसँग मेरो दुई पटक कुरा भएको छ विदेशमा । राष्ट्रसंघको महासभामा जाँदा पनि, अर्को कोपको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि बंगलादेशसँग । त्यो व्यापारको ढोका खोल्नको लागि धेरै मेहेनत भएको छ। भारतसँग धेरै मेहेनत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?