
१८ भदौ, काठमाडौं । रहस्यमयी देश उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन यतिबेला चीनमा छन् ।
चीनको सैन्य परेडमा भाग लिन प्योङयाङबाट आफ्नै रेल चढेर बेइजिङ उत्रिएका किमले आफ्नी छोरीलाई पनि साथमा लिएर आए ।
किमको विदेश भ्रमणमा पहिलो पटक किम जू आए साथमा देखिएकी हुन् ।
पिता किमका साथमा बेइजिङमा विश्वका शीर्ष नेताहरूसँगै मञ्च साझा गर्ने मौका पाएकी किम जू आएलाई उत्तर कोरियाको उत्तराधिकारीका रूपमा हेर्न थालिएको छ । उनी किमकी कान्छी छोरी हुन् ।
दक्षिण कोरियाको गुप्तचर संस्था नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले किम जू नेता किमको उत्तराधिकारी हुनसक्ने सम्भावना रहेको बताएको छ ।
देशभित्रै पितासँग विभिन्न मञ्चमा देखिने किम जू आए यसपटक आफ्ना पितासँगै बेइजिङमा देखिएकी हुन् ।
किम जू आए : रहस्यमयी छोरी
नेता किम जोन उनले आफ्नो परिवारबारे उच्च गोपनीयता राख्ने गरेका छन् । त्यसैले पनि उनको पारिवार सार्वजनिकस्तरमा धेरै जानकारी उपलब्ध छैन ।
बिहेको केही समयमा आफ्नी पत्नीबारे समेत किमले गोपनीयता राखेका थिए । सन् २०१२ पहिलो पटक किम पत्नी री सोल–जू एक सार्वजनिक समारोहमा देखिएकी थिइन् ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किम री सोल–जूको विवाह सन् २००९ मा भएको थियो । सन् २०१० मा किम दम्पत्तिको पहिलो सन्तान भयो ।
री सोल– जू कै कोखबाट जन्मिएकी हुन् भन्ने विश्वास गरिन्छ । पहिलो सन्तानको जन्मको केही समयपछि भनिए पनि किम जू को जन्म मिति खुल्दैन ।
अवकाश प्राप्त अमेरिकी बास्केटवल खेलाडी डेनिस रोडम्यानको उत्तर कोरिया भ्रमणका क्रममा सन् २०१३ मा पहिलो पटक किमकी कान्छी छोरीको नाम किम जू आए हो भन्ने खुलेको थियो तर, उनलाई सार्वजनिक गरिएको थिएन ।
बास्केटवल खेलाडी डेनिस रोडम्यानले आफूले किमको परिवारका साथ समय बिताएको, समुद्री किनारमा ‘रिल्याक्स गरेको’ र किमका बच्चालाई काखा लिएको बताएका थिए ।
दक्षिण कोरियाको राजधानी सिओलको कूकमिन युनिभर्सिटीमा उत्तर कोरियाको राजधानी प्योङयाङबारे अध्ययन गरिरहेका फायडर ट्रेटिस्कीका अनुसार उत्तर कोरियाका सञ्चारमाध्यमले पनि किम जू आएको नाम लिँदैनन् ।
किमकी छोरी मात्र भन्छन् । उत्तर कोरियाली सञ्चाारमाध्यमले किम जू आएको उमेर पनि उल्लेख गर्दैनन् । उनी भन्छन्, ‘सार्वजनिकरूपमा यो भन्दा धेरै केही जानकारी उपलब्ध छैन ।’ ट्रेटिस्कीका अनुसार किम जू आए को उमेर करिब १० वर्ष हुनसक्छ ।
दक्षिण कोरियाको गुप्तचार संस्था नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस)का अनुसार किम जू आए को नाम कुनै पनि शैक्षिक संस्थामा दर्ज भएको भेटिँदैन ।
उनी प्योङयाङस्थित घरमै बसेर पढ्छिन् । किम जू आए लाई घोडसवारी, पौडी र स्किइंगमा रूची छ । एनआईएसको बिफ्रिङमा उपस्थित एक अधिकारीले पत्रकारलाई बताएअनुसार नेता किम छोरी किम जू आए को घोडसवारी कौशलाप्रति सन्तुष्ट थिए ।
एनआईएसको दाबी अनुसार किम जू आएको एक ठूला दाई र एक सानो भाई वा बहिनी छन् । किम जू आए बाहेक अन्य दुई छोरा वा छोरी के हुन् भन्ने स्पष्ट खुल्दैन । किम जू आए बाहेक अन्यलाई सार्वजनिक गरिएको समेत छैन ।
किम जू आए पहिलो पटक सन् २०२२ मा सार्वजनिक समारोहमा देखिएकी थिइन् । उनी आफ्नो पिता किमसँगै मिसाइल परीक्षणका दौरान उपस्थित भएकी थिइन् ।
त्यसयता उनी केही सैन्य र गैर सैनिक कार्यक्रमहरूमा पितासँगै देखिन थालिन् ।
सन् २०२३ को मे १ मा पनि प्योङयाङस्थित एक रंगशालामा आयोजित कार्यक्रममा पिता किमसँगै किम जू सहभागी भइन् । त्यसक्रममा बाबुछोरीले स्नेहभावका साथ गालामा चुम्बनको फोटो/भिडियोले चर्चा पाएको थियो ।
डिसेम्बर २०२३ मा ठोस इन्धनमा आधारित उत्तर कोरियाको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल ह्वासाङ्ग-१८ को परीक्षण समारोहमा समेत बाबुछोरी सँगै देखिएका थिए । यो मिसाइल उत्तर कोरियाले बनाएको हालसम्मकै लामो दूरीमा मार हान्न सक्ने क्षमताको छ ।
सन् २०२३ कै नोभेम्बरमा उत्तर कोरियाले बनाएको गुप्तचरीय उपग्रह मालिग्याङ्गको प्रक्षेपण समयमा समेत किम जू पितासँगै थिइन् । उक्त उपग्रहबाट नेता किमले अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस हेर्न सक्ने उत्तर कोरियाको दाबी छ ।
फेब्रुअरी २०२३ मा रेडियो फ्रि एशियाको दाबी अनुसार उत्तर कोरियाली सरकारले देशभित्र किम जू आए नै नाम भएकाहरूलाई नाम परिवर्तन गर्न आदेश दिएको थियो । किम परिवारसँग जोडिने यस्ता घटनाक्रम उत्तर कोरियामा सामान्य भएको उक्त सञ्चारमाध्यमको दाबी थियो ।
उत्तर कोरियाली पर्यवेक्षकहरूले किमकी छोरी किम जू आए लाई प्रिय वा प्यारीको सट्टा ‘सम्मानित छोरी’ उच्चारण गराउने चलन बसालेका छन् । उत्तर कोरियामा ‘सम्मानित’ विशेषण सबभन्दा सम्मानित व्यक्तिहरूका लागि आरक्षित भएको बताइन्छ ।
उत्तर कोरिया बाँकी विश्वबाट एक्लिएको देश हो । त्यसैले पनि किम जू आए आफ्ना पितासँग खासखास समयमा किन यतिधेरै पटक सँगै देखिइरहेकी छिन् भन्ने अनुमान गर्न सकिँदैन ।
किम जोङ उन निकै पवित्र वंशमा जन्मिएको भनेर उत्तर कोरियालीहरूलाई आश्वस्त पारिन्छ ।
विश्लेषकहरूका अनुसार यति सानो उमेरमै किमले आफ्नी छोरीलाई जनतामाझ उभ्याउनु रणनीतिक चाल समेत हुनसक्छ । सत्तारोहण गर्नुअघि छोरीलाई बलियोसँग स्थापित गर्ने र सिकाउने चाहना किमको हुनसक्छ ।
अक्सफोर्ड युनिभर्सिटीमा राजनीति शास्त्रमा अध्यापन गराइरहेका र कोरियाली प्रायद्वीपका विशेषज्ञ समेत रहेका एडवर्ड हावेल भन्छन्, ‘उत्तर कोरियाका पूर्व नेता एवं बाबुछोरा किम इल सुङ्ग र किम जोङ इलको सम्बन्धलाई देशमा निकै प्रचार गरिन्थ्यो ।’
उनी अगाडि भन्छन्, ‘सायद त्यही भएर पनि सार्वजनिकरूपमा अहिले किमले आफ्नी छोरीलाई त्यसैको प्रतीकका रूपमा देखाउन खोजेको हुनसक्छन् ।’
किम इल सुङ्ग उत्तर कोरियाका संस्थापक नेता हुन् । कोरिया युद्धपछि उनैले सन् १९४८ मा उत्तर कोरियालाई अलग देशका रूपमा स्थापित गरेका थिए । किम इल सुङ्गले सन् १९४९ सम्म शासन गरे । सन् १९१२ मा जन्मिएका सुङ्गको सन् १९९४ मा मृत्यु भएको थियो ।
किम जोङ इल चाहिँ किम इल सुङ्गका छोरा हुन् । सन् १९४१ मा जन्मिएका किम जोङ इलले आफ्ना पिताको मृत्यु भएको वर्ष सन् १९९४ देखि सन् २०११ सम्म शासन गरे ।
अहिले उत्तर कोरिया हाँकिरहेका किम जोन उन उनै किम जोङ इलका छोरा हुन् ।
सन् १९४८ मा देश स्थापनापछि उत्तर कोरियामा किम परिवारकै पुरुषहरूले शासन सत्ताको बागडोर सम्हालिरहेका छन् । यदि किम जू आए आफ्ना पिता किमको उत्तराधिकारी बन्छिन् भने उनी देशको नेतृत्व गर्ने पहिलो महिला हुने छिन् ।
अक्सफोर्ड युनिभर्सिटीमा राजनीति शास्त्रमा अध्यापन गराइरहेका र कोरियाली प्रायद्वीपका विशेषज्ञ हावेल भन्छन्, ‘किम परिवारका सदस्य हुनु नै उत्तर कोरियाको शासन बागडोर सम्हाल्न महत्वपूर्ण छ ।’ उनका अनुसार यसर्थ किम जू आए महिला भएर फरक पर्दैन ।
उत्तराधिकारी बन्ने सम्भावना कति ?
अक्सफोर्ड युनिभर्सिटीमा राजनीति शास्त्रमा अध्यापन गराइरहेका र कोरियाली प्रायद्वीपका विशेषज्ञ हावेलका अनुसार उत्तर कोरियामा नेता किमको थप एक सम्भावित उत्तराधिकारी पनि छिन्, जो हुन् किमकी बहिनी किम यो जोङ्ग । सरकारी सञ्चारमाध्यममा सन् २०१४ मा पहिलो पटक उनीबारे सार्वजनिक गरिएको थियो । किम यो जोङ्ग उत्तर कोरियाको वर्कर पार्टीकी वरिष्ठ पदाधिकारी समेत हुन् ।
विशेषज्ञ एवं प्राध्यापक हावेल भन्छन्, ‘ किम यो जोङ्ग, किमकी छोरी किम जू आए भन्दा उमेरमा पनि निकै ठूलो छिन्, उनीसँग उत्तर कोरियाको राजनीतिको धेरै अनुभव पनि छ, यस्तोमा छोरी वा बहिनी दुवै महिला उत्तराधिकारी हुनसक्छन् ।’
दक्षिण कोरियाको राजधानी सिओलको कूकमिन युनिभर्सिटीमा उत्तर कोरियाको राजधानी प्योङयाङबारे अध्ययन गरिरहेका फायडर ट्रेटिस्कीका अनुसार किम जोङ उन आफ्नी छोरीलाई सार्वजनिकरूपमा पेश गरेर सम्भावित उत्तराधिकारीबारे जनता र अभिजात वर्गको मत जान्न चाहन्छन् ।
त्यसैले उत्तराधिकारी घोषित नभएसम्म यसै भन्न सकिने अवस्था छैन वा अहिले अनुमान लगाउनु हतार हुन सक्छ । उनी भन्छन्, ‘मानौं किम जोङ उन आफ्ना पिता सरह ७० वर्षे आयुमा मृत्युवरण गर्छन् भने छोरी किम जू आए ले सत्तारोहण गर्ने वर्ष सन् २०५४ हुनसक्छ ।’
प्रतिक्रिया 4