+
+
Shares
कुइनेटो :

छोराछोरी अमेरिका, बुढा आमाबा एक्लै घरमा

‘पानी कोले देला’ भन्ने प्रश्नको उत्तर थिएन । भेटिन्छ कि जसरी बूढो आँखा चिमचिम पार्दै इन्दिराले आँखा यताउति डुलाइन् । कतै नभेटेपछि चुपचाप टाकुमा भाङ्ङु धागो कात्न थालिन् ।

नवीन विभास नवीन विभास
२०८२ भदौ १९ गते २१:३५
इन्दिरा र तुलसिङ रोकामगर दम्पती । फोटो : नवीन विभास

गत जेठ २९ मध्याह्न चौघेरा (दाङ घोराही)का कम्दमा मकैबोट ‘चर्को घाम’ले असिनपसिन थिए । हाइकाढ्दै बेलाबेलामा चल्ने अल्छी हावा तालमा टाउको नउठाई मुस्किलले हल्लन्थे । ठीक त्यसैबेला एउटा घरभित्र पङ्खाको सहाराले गर्मीसँग जुध्दै एउटी वृद्धा टीभी हेरिरहेकी थिइन् । फूलबुट्टे लुँगी र छिर्केमिर्के टि–शर्ट लगाएकी गहुँगोरी वृद्धा हातमा टाकुु धागो कात्दै थिइन् । पंखा फन्किरहेको थियो । बैठक कोठा पूर्वपट्टिको भित्तामा चप्किएको टीभी एकोहोरो बोलिरहेको थियो । टीभीको छिमेकी भएर एउटा सुन्दर अधबैंसे मंगोल अनुहारे फोटो पनि तुर्लुंग झुण्डिएको थियो ।

अढाइतले शानदार घरलाई पर्खालले घेरेको थियो । पर्खालमा लेखिएको थियो, ‘परिवर्तन गाउँपालिका वडा नं. १ सराबाङ, रोल्पा । श्री तुलसिङ रोकामगर र इन्दिरा रोकामगर निवास । घोराही उपमहानगर–१७ चौघेरा, दाङ ।’ रोल्पा थातथलोबाट दाङ आइपुगेपछि पनि घरको पर्खालमा उनीहरूले रोल्पा भुलेका थिएनन् ।

पर्खालबाट उत्तर हेरे रत्ननाथ मन्दिर देखिन्थ्यो । अपरिचितलाई मन्दिर हो कि पीपल, रुद्राक्ष र आँपको बगैंचा ? ठम्याउन हम्मे हुन्थ्यो । मन्दिरको पुस्तकालयका योगी नरहरिनाथकृत किताब ‘पाठकले कम, धमिराले बढ्ता’ पढिरहेका थिए ।

उभिएको भव्य घर वरपर अरू घर र बारी थिए । बारी घडेरी बन्नेक्रम तीव्र थियो ।

‘घरमा तपाईंहरू यत्ति हो ?’, टीभी हेरिरहेकी बूढीआमालाई सोधें ।

टाकुमा धागो कात्नुअघि भाङ्ङुलाई दाँतले काटेर आकार दिंदै बूढीआमैले भनिन्, ‘हामी बड्डाबड्डी र नातिनी । जम्मा तीन ।’

टाकुमा धागो कात्दै टीभी हेरिरहेकी वृद्धा घरको पर्खालमा लेखिएको इन्दिरा रोकामगर थिइन् । उनीसँगै टीभी हेरिरहेका बड्डा तुलसिङ र नातिनी अमृता ।

मगर गाउँ, सराबाङ

टीभीमा घरी आवाज अघि आउँथ्यो त घरी दृश्य । टीभीमा देखिने दृश्य गाउँघरको थियो । जसले इन्दिरालाई पुराना दिनमा फर्काए ।

इन्दिरा जन्मेको र हुर्केको उत्तरी रोल्पा ढाङढुङको सराबाङ पनि टीभीमा देखाएको गाउँघर जस्तै थियो । मगर खाम/पाङभाषी बसोबासथलो सराबाङमा स्कूल थिएन । अहिले प्लस टु उभिएको पाल्लोपट्टि उपाबाङमा पनि स्कूल खुलेको थिएन । सञ्जोग ! त्यसबेला गाउँलेले भङलाई स्कूल मानेका थिए । पढाउँथे, प्युठानी काँना मास्टरले । भङ भनेको वस्तुभाउ बाँध्ने घरको तल्लोतला वा गोठ हो ।

इन्दिरालाई बा–आमाले स्कूल पठाउँथे । उनलाई भने साथीहरूसँग धागो कात्न, घाँस–सोत्तरसँग रमाउन निको लाग्थ्यो । त्यसैले उनका गोडा स्कूल भन्दा वनपाखामा डुले ।

स्कूल जान अन्कनाएपछि उनको र स्कूले अक्षरबीच चिनजान भएन । तथाकथित आधुनिक ज्ञानप्रणालीको नजरमा उनी एक नम्बर अज्ञानी भइन् । अशिक्षित भइन् । गँवार भइन् ।

परम्परागत आदिवासी ज्ञान प्रणालीमा भने इन्दिरालाई कसले भेट्नु ? भाङ्ङु (शहरमा गाँजाको रेसा) र पुवा (अल्लो) धागो कातिन् । कातेको धागोबाट बोल्ला बुनिन् । परिवारका सबै सदस्यलाई ओढाइन् ।

टाकुमा भाङ्ङु धागो कातिरहेकी इन्दिरा रोकामगर । फोटो : नवीन विभास

नुन बोक्न कोइलाबास गइन् । कोइलाबासमा कलम बेचेको सम्झिइन् । कलम भारीमा पिठो, भुटेको खाजा र सातु थपिन्थ्यो । कलम भनेको निगालो वा चोयाबाट बन्थ्यो । त्यसबेला कलम दस रुपैयाँमा बेचेकी थिइन् । त्यो जुग अर्थात् विक्रम संवत् २०२३ तिर १० रुपैयाँ सानो रकम थिएन ।

पहिलोपालि जाँदा पाँच लम्बरी नुन ल्याएकी थिइन् । गाउँघरमा पाँच किलोको एक लम्बरी भन्ने चलन छ । त्यसबेला इन्दिरा १५ वर्षकी थिइन् । हो, त्यही वर्ष उनको बिहे भयो ।

दिदीले मानेकी भए, अहिलेका पति भिनाजु हुने थिए । उनका पतिले उनकी दिदीलाई फकाएका थिए । फकाएका थिए भन्नुको मतलब, मगनी गरेका थिए । दिदीले मगनीलाई अस्वीकार गर्न ‘दोब्री (दोब्बर) साइ’ फर्काइन् ।

साइ लगाएर मगनी गरेका युवकले बिहे नगरे साइ पच हुन्थ्यो भने युवतीले बिहे नगरे दोब्बर फिर्ता गर्ने चलन थियो । मगनीमा युवकले युवतीलाई दिने रकम ‘साइ’ थियो ।

दिदीले मनाही गरेका ६ वर्ष जेठा तुलसिङसित इन्दिराको बिहे भयो । यो न प्रेमबिहे थियो न मागी । उनलाई तुलसिङले तानेर बिहे गरेका थिए । तानेर बिहे गर्नु भनेको ‘जबर्जस्त बिहे’ थियो ।

गाउँलेका तुलनामा इन्दिरा परिवार ‘हुनेखाने’ थियो । तुलसिङ भैरहवामा किनेका कपडा बेच्दै बाग्लुङको निसीभुजीसम्म पुग्थे । अत्तरको व्यापार पनि गरे । अत्तर भनेको शहरमा चरेस नाउँले बदनाम जिनिस थियो ।

इन्दिराले धागो कात्न एकछिन स्थगित गरिन् । पानी पिइन् । मानौं अमेरिकाबाट छोराछोरी फर्कने अनिश्चित भएपछि सन्तान तिर्खा मेट्न पानी पिइन् ।

‘त्यो जमानामा अनिकाल हुन्थ्यो । दुनियाँले बेसा बोक्थे । हामी भने बेच्थिम्’ घाँटी हुँदै छाती पुगेको सुनको सिक्रीमा अल्झिएको भाङ्ङुको सरा हटाउँदै इन्दिराले सुनाइन् ।

सत्र वर्षको उमेरमा इन्दिराले छोरो पाइन् । त्यसपछि पाइन्, सात सन्तान । एक छोरी र तीन छोरा ‘वन’ गए । वन जाने चारमा एउटालाई दादुराले लग्यो, जेठा छोरालाई कालापार (भारत)ले ।

अमेरिकामा परिवारका ११

बचेका चार सन्तानमध्ये कालान्तरमा जेठी छोरी र कान्छा छोराका परिवार नै अमेरिका पुगे । जसमा कान्छा छोरातिरका ६ जना र जेठी छोरीतिरका पाँच गरी ११ जना । छोराछोरी अमेरिकाको टेक्सास पुगे । बचेका चारमा कान्छी छोरी स्पेन पुगिन् । कान्छी छोरीका ६ जना स्पेनवासी भए ।

कालापारमा बितेका जेठा छोराका एक र माहिला छोराको एक छोरा गरी इन्दिराका दुई नाति जापान पुगे । जेठा छोरातिरको नाति रेखै ‘गर्भे टुहुरा’ थिए ।

हात र मुखले टाकुलाई धागो कात्न सघाउँदै, आँखाले टीभी हेर्दै उनले कान्छा छोरा, जेठा र कान्छा भान्जा सम्झिइन् । मगर साइनो अनुसार ती भान्जा भनेका ज्वाइँ थिए ।

१८ वर्षअघि तीन जना सँगसँगै तल्लो बाटोबाट अमेरिका हिंडेका थिए । त्यसबेला अहिले जस्तो ‘अमेरिकन ड्रिम’ले हल्लाएको थिएन । अमेरिका भन्ने कुरा गाउँघरमा आम भएको पनि थिएन ।

कान्छा छोरा र जेठा ज्वाइँ अमेरिका छिरे, कान्छा ज्वाइँ स्पेन । कान्छी छोरी पनि स्पेनमा बस्न थालेको सात वर्ष भयो ।

‘अमेरिकाबाट छोराछोरी र नातिनातिना ह्याँ आउन ठिक्क परेका थिए, खै के टरम्प कि परम्प के भयो भनेर उतै थुन्निगे’, इन्दिराले भनिन् । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएपछि नेपाल आउन ठिक्क परेका छोराछोरी र नातिनातिना रोकिएपछि उनी दु:खी थिइन् । एक करोड हाराहारी खर्चेर तल्लो बाटोबाट अमेरिका पुगेका र कति बाटोमा रहेका थुप्रै नेपाली अलपत्र परेका थिए ।

इन्दिराले धागो कात्न एकछिन स्थगित गरिन् । पानी पिइन् । मानौं अमेरिकाबाट छोराछोरी फर्कने अनिश्चित भएपछि सन्तान तिर्खा मेट्न पानी पिइन् । त्यसपछि उनका आँखा टीभीनेर झुण्डिएको फोटोमा पुगेर अडिए । अधबैंसे सुन्दर मंगोल अनुहारकी महिला फोटोमा ।

‘यो फोटो सम्धिनीको हो ।’

‘को सम्धिनी ?’

‘कान्छी बुहारीको आमा । बुहारीले सम्धिनीको फोटो बनाउन लगाएर राखेको छ’, उनले भनिन् । इन्दिराकी सम्धिनी मगर र सम्धी क्षेत्री थिए । रुकुम (पश्चिम) झुला मग्माकी सम्धिनी क्यान्सरले बितेकी थिइन् । उनको कान्छा छोराको ससुराल झुला मग्मा नै अमेरिकन ड्रिमको इपिसेन्टर थियो ।

कान्छी बुहारीका भाइ र फुपू पनि अमेरिकामै थिए ।

‘माइला माओवादी त ‘बैरागी’

माओवादी युद्धको राजधानी रोल्पा । राजधानी रोल्पाको लालगाउँ ढाङढुङ । ढाङढुङभित्रको लालकिल्ला सराबाङ । सराबाङकी इन्दिरा माहिलापुत्र एकदिन ‘कमरेड नदी’ भए । युद्ध थालनीको केही समयपछि माओवादी रोप्न रोल्पाबाट हितमान (गंगाराम बुढामगर) र रुकुमबाट हिमाल (होमप्रकाश श्रेष्ठ) नेतृत्वका एकेक सेक्सन भेरी, कर्णाली हुँदै सेती–महाकाली पुग्यो । रोल्पाको सेक्सनमा कमरेड नदी पनि थिए ।

ढाङढुङका सराबाङ सहित उपाबाङ, हिपाखोला, हिपालढारा, ट्हाङलाङ, सर्सुबारी लालगाउँ थिए । लालगाउँमा माओवादीले हतियार कारखाना खोलेको थियो । कारखानामा जनमुक्ति सेना प्रमुख नन्दकिशोर पुन पासाङ, भारतीय सेनाबाट अवकाशप्राप्त पूर्णबहादुर रानामगरलगायत प्राविधिक टोलीसहित बस्थे । बेलाबेला सरकारी फौज अपरेसन गर्न जान्थ्यो । घर, गोठ र वन खानतलासी गर्थ्यो । कति गाउँले माओवादी घानमा परेर मारिए पनि । कतिलाई पक्राउ परे, कति कुटिए, पिटिए । त्यसैले गाउँले जहिल्यै जगजगीमा जिए ।

‘हामीले त रोइकन दिन हालेको नि ! कम हुन्थ्यो त’, इन्दिराले धागो कात्दै युद्धकालीन याम सम्झिइन् । माहिला छोरा माओवादी डब्लुटी (पूर्णकालीन कार्यकर्ता) भएर हिंडेपछि परिवारको लय नै भत्क्यो ।

‘यसको बा (नातिनी अमृतालाई देखाउँदै) बाहिर निकल्ने बेला (भूमिगत हुने बेला) त अब घरबारी कसले हेर्ला, बस्न खान दिने रहेनछन् भनेर भैंसी नि बेचिम् । हामी त रोइकन दिन काटिम्, रात काटिम् । कम भइतो तो उबेला ?’

इन्दिराका आँखामा गाउँमा माओवादीले चलाएको हतियार कारखाना फरक्क फर्कियो । कारखानामा लर्को लाग्ने माओवादी पनि सम्झिइन् ।

‘कहाँका आन्चन् कहाँका नि ! खाना पकाएर थारामा बसालेर खुवाइम्’ आफूले नखाएर माओवादीलाई खुवाएका दिन सम्झिइन्, ‘हामीले त धर्म गरेको नि ! के–के गरिम् के के गरिनम्’, इन्दिराले सम्झिइन् ।

‘तपाईंको घरमा को–को नेता पुगे त ? सम्झना छ ?’

‘बाबुराम भट्टराई, पर्चन्न (प्रचण्ड) पनि गयाथे । पासाङ भयो । को–को गया थे को–को नि’ उनले धेरै माओवादी नेताका नाम लिइन् ।

‘उपाबाङ स्कूलमा जनमुक्ति सेना घोषणा हुँदा तपाईं पनि जानुभयो ?’

‘हाम्रैमा खाएर त स्कूलमा कार्यक्रम गर्न गएका हुन्’, उनले भनिन् ।  माओवादीलाई खुवाएका, लुकाएका सम्झना सम्झिइन् ।

कसरी माओवादीलाई जंगलमा लुकाएर खाना लगेका थिए ? कसरी सरकारी फौज गाउँमा अपरेसन गर्न जाँदा गाउँ नै जंगल, ओडारमा सुत्यो ? इन्दिराका आँखामा लडाइँकालीन सारा विकट सम्झना फरक्क फर्किए ।

सरकारी सुरक्षाफौजले गरेको निदहराममा एकदिन माओवादीले पनि थपिदियो । माओवादीले उनको कान्छा छोरालाई अपहरण गर्‍यो ।

‘रोटा हालेर, पानी बोकेर, खाजा भुटेर माओवादीलाई दमार(जंगल)मै पुगाइदिइम् । कस्तो भइतो कस्तो’, उनले भनिन् ।

सरकारी सेना पुलिस गाउँ पस्दा गाउँ नै जंगलमा सुत्थ्यो । हो, त्यसैबेला ओडारमा सुतेका गाउँलेलाई सरकारी फौजले पक्राउ गरेको, मारेको पनि सम्झिइन् । उनले सरकारले मारेका, कुटाइ खाएका आफन्तजन सम्झिइन् ।

‘पेरम, दीपकको बाउ, शहीद भयो नि, मेटर हो अस नाउँ । तरानको मैतेको छोरा । निरुको अस्बाउको त मन्टा ठनक्क पारिदिएका थिए । हत्कडी लगाएर कुरेली लगे गरे, रूखमा किला ठोकेर मट्टीतेल हाले गरे । परान नजाँदै गारमा फाले गरे’ इन्दिराले धागो कात्न नै छाडेर गाउँमा मारिएका उनका आफन्तजन सम्झिइन्, ‘हाम्रो घर सिरानमा ओडार छ नि, त्यही हो लुक्न गएकालाई दुश्मनले मारे ।’ उनले दुश्मन भनेका सरकारी फौज थिए ।

अछाम सदरमुकाम मंगलसेन आक्रमणमा मारिएका उनका भदै लालधनलाई सम्झिइन् । जसको चिनो–बिसौना बनाएका थिए । मगर समुदायमा मृतकका नाउँमा बिसौना बनाउने र बिसौनामा रूख रोप्ने चलन छ ।

त्यसपछि उनले नातिनीलाई सोध्दै मनमा टिप्दै भन्न थालिन् । युद्धमा मारिएका आफन्तजनका लेखो नै लगाइन् । ‘जेठाको छोरा सुकलाल, पेरम, मेटर, लालधन, इपालढाराका दुई जना, उपाबाङ डल्लाको भाइ (नाम भुलें) । धेरै मारिए । दोमडानाका दुई जना मारिए । सराबाङ, सर्सुबारी र उपाबाङबाट १२/१३ जना मारिए ।’

सरकारी सुरक्षाफौजले गरेको निदहराममा एकदिन माओवादीले पनि थपिदियो । माओवादीले उनको कान्छा छोरालाई अपहरण गर्‍यो ।

‘कान्छो छोराको अस जेठान विदेशबाट आएका थिए । अब त जेठानले विदेश लग्छ भनेर माओेवादीले कान्छोलाई अपहरण गरे । माहिला छोरा माओवादी कमान्डर छ । कमाण्डरको भाइलाई नै माओवादीले अपहरण गरे । मैले कल (झगडा) गरें’ उनले ती दिन सम्झँदै भनिन्, ‘कान्छोलाई थबाङ लगेका रहेछन् । १०/१२ दिनपछि छाडे ।’

युद्धकालताका एसएलसी परीक्षा केन्द्र रोल्पा जिल्ला सदरमुकाम लिबाङ मात्र थियो । परीक्षा दिन जाने विद्यार्थीलाई सरकारी फौजले कतिलाई समात्थ्यो त कतिलाई मार्थ्यो । त्यसैले कति विद्यार्थी त परीक्षामै सामेल भएनन् । जो सामेल भए, डरले थर्थराएका विद्यार्थीले जाँचमा के लेखे होलान् ?

उनका कान्छो छोरा डरले थरर्र थिए । गाउँमा माओवादीले अपहरण गर्‍यो, सदरमुकाममा कमान्डरको भाइ माओवादी भनेर समात्ने र मार्ने डर । कान्छा छोरा यसरी थर्कमान थिए कि, परीक्षा दिन नै जाने कि नजाने ‘दोधार’मा फसे ।

‘जान त एसएलसी परीक्षा दिन लिबाङ गयो । दुश्मनले समात्छ भने । दुई विषय परीक्षा दिन बाँकी थियो अरे, आफूसित परीक्षा दिने पुवाखोर्रेको छितरी थुमेलाई दुश्मनले समात्यो । उही थुमेसँग कान्छो थियो । ज्यान बाँचे परीक्षा त अर्को साल देला भनेर बाँकी परीक्षा नदिई फर्क्यो’, लडाइँले कान्छा छोराको पढाइ अलपत्र परेको इन्दिराले सुनाइन् ।

उनले स्कूल पढिरहेका भान्जालाई पनि सम्झिइन् । जसलाई दाउरा चिर्दाचिर्दै घरबाट लगेर पुलिसले मारेका थिए । ती भान्ज भने ज्वाइँवाला भान्जा थिएनन्, उनकी नन्दको छोरा थिए । उनका लाहुरे फ्वाजुको छोरालाई ओडारमा लुकेको बेला समातेर मारेको थियो । सरकारी फौज अपरेसन गर्न गाउँ पुग्दा गाउँले ओडार र जंगलमा लुक्थे ।

‘तपाईंले लडाइँको बेला खुवाएका र बचाएका नेतासँग अहिले देखभेट हुन्छ ?’

‘टीभीमा हेर्छु’ सत्ताको रमझममा भुलेका माओवादी नेताप्रति दु:खेसो पोखिन्, ‘अहिले त नेताले आफ्नो घर, छोराछोरी र स्वास्नीलाई मात्र चिन्छन् होला । देख्छन् होला । भेट्छन् होला । हामीलाई के चिन्ने र के भेट्ने । हिजो पो भोका थिए । आज त अघाए नि !’

इन्दिरा दम्पती पोहोर माघमा अमेरिका उडे, जेठमा फर्किए । ‘कस्तो रहेछ त अमेरिका ?’ ‘नाम्रो’ गोडाले हिंड्न नपरेको सुनाउँदै अमेरिका सम्झना सुनाइन्, ‘कम्पनीले नै दुबा रोपिदिने रहेछ । भुइँमा हन्ने होइन ।’

कमान्डर माइला छोरालाई सम्झिइन् । त्यसपछि भनिन्, ‘माहिला ता बैरागी भयो ।’

माइला भनेका’ कमरेड नदी’ हुँदै ‘कमरेड मदन’ भएका कमान्डर थिए । उनी माओवादीका ठूलो संख्याका इमानदार कार्यकर्ता जस्तै गुमनाम थिए । उनको नाउँमा न सरकारी पदप्रतिष्ठा थियो न घरघडेरी ।

मूलधारे पूँजीवादी उपभोक्तावादी समाजले ‘प्रगति’ र ‘वाह’ भन्ने चिज उनको माहिलासँग केही पनि थिएन । सामन्तवादी समाज, पूँजीवादी समाजले सम्झने भाष्य ‘विकास’ नभएकाले आमा इन्दिराले माइला छोरालाई ‘बैरागी’ भनेकी थिइन् ।

‘लडाइँको बेला कस्तो दु:ख गर्‍यो । सोझो र इमानदार भयो’ इन्दिराले भनिन्, ‘माइलाको राजनीति राम्रो भएको त हामी सबैको राम्रो हुन्थ्यो होला ।’

एउटा कुरामा भने आमामन सन्तोष थियो । त्यो थियो, अरू माओवादी कमान्डर जसरी लडाइँताका सुन र पैसा लुकाएको, शिविरमा घोटाला गरेको, रक्तचन्दन र सुन तस्करी गरेको ‘आमाकान’ले सुन्नुपरेको थिएन । ‘आमाआँखा’ले देख्न परेको थिएन ।

माहिलापुत्र मदन जनमुक्ति सेनाको माथ्लो तह डिभिजन भाइस कमान्डर थिए । उनीभन्दा माथि सात डिभिजन कमान्डर थिए । तिनका माथि चार डेपुटी कमान्डर (वर्षमान पुन अनन्त, नन्दकिशोर पुन पासाङ, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेव) थिए । तिनका माथि सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड थिए ।

बड्डाबड्डी अमेरिका

इन्दिरा दम्पती पोहोर माघमा अमेरिका उडे, जेठमा फर्किए ।

‘कस्तो रहेछ त अमेरिका ?’

‘नाम्रो’ गोडाले हिंड्न नपरेको सुनाउँदै अमेरिका सम्झना सुनाइन्, ‘कम्पनीले नै दुबा रोपिदिने रहेछ । भुइँमा हन्ने होइन ।’

‘नातिनातिना नेपाल फर्कने भन्छन् त ?’

‘नेपाल के गर्न जाने र भन्छन् ।’

इन्दिरापति तुलसिङ कान सुन्दैनन् । छोराछोरीले अमेरिकामा सुन्ने मेसिन पनि हाल्दिए, तर काम दिएन ।

बिहानै पकाएको खाना प्याक गरी आफ्ना काममा जाने छोराछोरी सम्झिइन् ।

‘छोराले भन्थ्यो, आइजौ नयाँ घर किनेको छु । जाने भनेको बड्डाले जरो काढे । आइसाल जान्छु भनेका छन्’, इन्दिराले पति तुलसिङलाई पानी दिंदै भनिन् ।

उनले जेठी छोरीले चलाएका सात वटा पसल र कान्छा छोराले चलाएका पाँच वटा पसल सम्झिइन् । कामदार राखेर उनका छोराछोरीले पसल चलाएका थिए ।

उनको परिवार मात्र होइन, आफन्त र छिमेकी पनि अमेरिकामा थिए । माओवादी लालगाउँ ढाङढुङ भेगका सराबाङ, उपाबाङ, ट्हाङलाङ, सर्सुबारी, हिपाखोला, हिपालढारा, धानाबारा, कोनाबारा, चैतेलेकबाट मात्र दर्जनभन्दा बढी अमेरिकावासी भएका थिए । अमेरिकावासी हुने कति तल्लोबाटोबाट गएका थिए त कति डीभी परेर । इन्दिरा र नातिनी अमृताले गन्दैजाँदा सराबाङ र उपाबाङ गरी दुई गाउँबाट मात्रै १६ पुगे । उनको आफ्नै परिवारका ११ अलग थिए ।

‘गंगाराम (कमरेड हितमान)को छोराले कार्ड पायो । हिपालढाराको सुरजले कार्ड पाएको छैन । भर्खरै धानबाराका एक जना डीभी परेर गए । हिपालढाराको ज्वार गए । कति त बाटोमै छन् । एक जना सर्सुबारीका पनि । सर्सुबारीको एक जना त झ्याल(जेल)मा छ गरे । सर्सुबारी झुङेभाइको कान्छा छोरा अस्ति फर्की आयो गरे । अर्को एक जना पनि फर्किआयो भन्थे’ इन्दिरा र अमृताले लेखो लगाए, ‘हामीले थाहा नपाएको धेरै होलान् ।’

भित्तामा टीभी बोलिरहेको थियो । बड्डाबड्डीका आँखा टीभीमै अल्झिएका थिए । ठीक त्यसैबेला अमृताले फोनमा मगाएको म:म आइपुग्यो । घोराही बजारको रेष्टुरेन्टले घरमै म:म ल्याइदिएको थियो ।

‘बड्डालाई म:म मन पर्छ । चाउमिन चाहिन्छ’ इन्दिरा धागो कात्दै भनिन्, ‘डाङडार (डाक्टर) जे नखानू भन्छ, बड्डालाई त्यही खान मन पर्छ ।’

इन्दिरा धागो कातिरहन्थिन् । सानैमा सिकेको परम्परागत सीप धागो कात्नु । धागोको बोल्ला बुन्नु । जुन सीपसँगै मगर जीवनपद्धति चलेको थियो ।

(इन्दिराको भिडियो हेर्नुस्- धागोले धानेको मगर समाजको सम्झना )

नयाँ प्रविधि र फेरिएको जमानासँगै धागो कात्नु र बोल्ला बुन्नु जस्ता परम्परागत आदिवासी ज्ञान हस्तान्तरण अवरुद्ध भएको थियो ।

‘मरेको दाहिने हात र दाहिने खुट्टा धागा कात्न थालेपछि चल्न थाल्यो’ धागो कात्दाखेरि पक्षघातले थलिएको हातगोडामा सुधार आएको सम्झिइन्, ‘मेर् हात अलि अलि भए पनि चलान्छु कि भनेर धागो कात्छु ।’

इन्दिराको पालासम्म धागो काती बोल्ला बुनेर परिवारका सदस्यलाई ओढाउने जिम्मा महिलाको थियो । धागो कात्न नजान्ने, बोल्ला बुन्न नजान्ने महिलाको बिहे समेत मुस्किल हुन्थ्यो । मगर महिला आर्थिक सशक्तीकरणको मूल स्रोत नै धागो थियो । कातेको धागो र धागोले बुनेको बोल्ला बेचेर कमाएको पैसाले मनको लुगा लगाउँथे । मनको खान्थे । मनको गहना लगाउँथे । कुल मिलाएर, मनको रहर पूरा गर्थे ।

‘अहिले के–के औषधि खानुपर्छ ?’

‘प्रेसरको खान्छु । युरिक एसिड छ । सुगर अहिले कम छ’, इन्दिराले भनिन् । पति तुलसिङ दमको औषधि खान्थे ।

अमेरिकाने घर

बुढ्यौली र ढल्दो स्वास्थ्य अवस्थाले इन्दिरा दम्पतीलाई रोल्पाबाट घोराही चौघेरा झारेको थियो । गाउँमा स्वास्थ्य सुविधा छैन भन्दै छोराछोरीको करले सराबाङबाट इन्दिरा दम्पती चौघेरा बस्न थालेको थियो ।

कुनै बेला इन्दिरा डम्मरगाउँ र भरतपुरमा डेरा लिएर नातिनातिना पढाएकी थिइन् । उपचारका लागि तुलसिङ पनि घोराही झर्थे । तुलसिङलाई डेरामा अप्ठेरो लाग्थ्यो ।

‘यो बड्डाले अर्काको घरमा मर्ने भइम् भन्थो । छोराछोरीले घर पनि बनान्नन् भन्थ्यो ब’ इन्दिराले आफू बसिरहेको घरको कहानी कहिन्, ‘कान्छाले आमाबाको मन हुकाउन घर बनायो ।’

चौघेरा नै रोज्नुको कारण सुनाइन्, दुई परिवार गाउँकै थिए । श्रीमान्तिरका भाइपट्टि ।

‘जोरमुत आउँदा सजिलो हुन्छ, पानी तताइदिने मानिस पनि चाहियो भनेर कान्छाले भनो’, इन्दिराले सुनाइन् ।

जनमुक्ति सेनाका पूर्वकमान्डर तथा कवि/कथाकार क्षितिज मगरको भटभटेमा बसेर यो बन्दाखेरि पुगेको थिएँ । त्यसबेला उनकी कान्छी बुहारीसँग भेट भएको थियो । उही भटभटेमा क्षितिजले निर्माणाधीन अर्को अमेरिकाने घरमा लगेका थिए ।

मगरले घोराहीमा घर बनाउने काम गर्थे । उनले देखाएका दुईसहित थप चार वटा अमेरिकानेका घर उभ्याएको उनले सुनाए । क्षितिज जस्तै घर बनाउने काम गरिरहेका व्यवसायीहरूका अनुसार इन्दिराको घर जस्तै घोराहीमै करिब एक सय घर बनेका थिए ।

अमेरिकन ड्रिमको हुरीले रुकुमपछि छेउछाउका रोल्पा, दाङ पनि नराम्ररी प्रभावित भएका थिए । घोराही सेरोफेरोका जो अमेरिका पुगेर कमाइकाज गर्न पाए, तिनले घोराहीमा घर उभ्याएका थिए । र, इन्दिरा दम्पतीहरू उपचार सहज होस् भनेर ती घरमा बसेका थिए ।

‘पहिलेपहिले झिलीमिली र भव्य घर देख्नेबित्तिकै थाहा हुन्थ्यो कि यो घर कि भ्रष्ट कर्मचारीको हो, कि पुलिस–सेना हाकिमको कि जिम्दार कमरेडको हो कि जिम्दार कांग्रेसको हो कि बेलायती लाहुरेको । भव्य र झिल्के घर देखे अहिले सहजै थाहा हुन्छ, यो घर अमेरिकानेको हो’ घोराहीका जानभान र सर्वसाधारण चियागफमा गफिन्थे, ‘एघार हाते घडेरीमा उभिएका एकतले घर देखे सम्झनुपर्छ, त्यो घर मलेसिया वा अरबेको हो ।’ उनीहरूका अनुसार घोराही नयाँ बस्तीमा उभिएका सबभन्दा राम्रा घर अमेरिकावासीका थिए । त्यसपछि राम्रा घर कोरिया र जापान जानेका ।

भन्थे, ‘भव्य घरमा बस्ने भने बूढाबूढी मात्र छन् । तिनलाई स्याहार गर्न धेरैजसो अमेरिकावासी छोराछोरीले त सहयोगी राखिदिएका छन् ।’

रोल्पा, रुकुम, सल्यान, प्युठान र दाङ घर भई अहिले अमेरिकावासी भएकाका (घोराहीमा घर बनाउने हो भने) चौघेरा सहित रतनपुर, बयरबुटा, नवलपुर, डबरी, ओखरा, डुम्मरगाउँ रोज्जा थिए । जो उपमहानगरका १५, १७, १८ वडामा पर्थे । अमेरिकानेका कम्तीमा अढाइ तलादेखि माथिको घर उभिने र एक कट्ठा जमिन रोजेका थिए । माथि उल्लेख गरेका ठाउँ नयाँ बस्ती विस्तार तीव्र भएको घोराही नजिकका ठाउँ हुन् ।

घोराही मूलबजार रैथाने, व्यापारी, पूर्व कर्मचारी र जिम्दारका कब्जामा थियो । बजारमा धीत मारेर नयाँ घर बनाउने ठाउँ बाँकी थिएन ।

कान्छी बुहारीलाई उद्धृत गर्दै इन्दिराले सुनाइन्, ‘घर बनाउन मात्रै दुई करोड तीस लाख लाग्यो ।’ घर बनाइवरी एक वर्ष बसेर बुहारी अमेरिका उडेकी थिइन् । कान्छा छोरा दशैंमा घर आएका थिए ।

****

घर, परिवार र समाज नै हल्लाएर हल्लीखल्ली मच्चाइरहेको अमेरिकन ड्रिम हुरी  अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुनेबित्तिकै ठप्प भएको थियो । ठप्प हुनेबित्तिकै अमेरिका छिरेका र आधाबाटोमा पुगेका नेपाली मर्माहत थिए ।

****

‘बड्डाबड्डी कति कति (वर्ष) पुग्नुभयो ?’

‘यिन्बड्डा त मभन्दा छ–सात वर्ष जेठा छन् । बड्डा असी पुग्न लागिले ।’ वरपर हेरिन् ।

‘हामी ता बड्डाबड्डी त भइम् । घरले गैजा, वनले आइज भन्न लाइगो ।’

बैठक कोठाको भित्तामा टीभीले गाउँ रित्तिएका समाचार देखाइरहेको थियो । इन्दिरा दम्पतीका आँखामा तिनै समाचार कहिले कता कहिले कता सुसाउँथे ।

इन्दिरा र तुलसिङ रोकामगर दम्पती । फोटो : नवीन विभास

अमेरिकाने छोराबुहारीले घर त बनाए तर बड्डाबड्डीको सेखपछि यो घरमा को बस्छ ? थाहा थिएन ।

‘यत्रो घर बनाए, हामी मरे ता यो घर हुल्ला (बन्द रित्तो घर) ता होला के रे ! अम्रिकाबाट आनन् तर सितिमिति आन्नन् । अहिले बल छन्जी कमान्छन् । बड्डाबड्डी हुनाखेरी आनन् । आफ्ना छोराछोरी त ठाउँमा लगिले ।’

इन्दिराले घरचिन्तासाथ छोराछोरी नेपाल नफर्कने हुन् भनेर चिन्ता जताइन् ।

‘बड्डाबड्डीको स्याहार नातिनीले नाम्ररी गरिरहेकी छन् नि ?’

‘तर कति दिनलाई हो’ इन्दिराले नातिनीलाई पुुलुक्क हेर्दै भनिन्, ‘नातिनी २५ को घरमा छ । कुन दिन नातिनी पोइल जान्छ ब । पोइल गएपछि बड्डाबड्डीलई कोले पानी देला ?’

(पोइल भनेको बिहे गर्ने भनेको हो ।)

‘पानी कोले देला’ भन्ने प्रश्नको उत्तर थिएन । भेटिन्छ कि जसरी बूढो आँखा चिमचिम पार्दै इन्दिराले आँखा यताउति डुलाइन् । कतै नभेटेपछि चुपचाप टाकुमा भाङ्ङु धागो कात्न थालिन् ।

 

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?