+
+
Shares

मानव अधिकारकर्मीहरू भन्छन् : घातक बल प्रयोग भयो, जुन निन्दनीय छ

पूर्व घोषित आन्दोलन देशव्यापी रुपमा भड्किन सक्ने र घुसपैठ हुनसक्ने औल्याउदै जवाफदेही निगरानी समितिले आन्दोलनलाई ‘व्यवस्थित र शान्तिपूर्ण बनाउन होशियारी, तदारुकता र सावधानी अपनाउन सरकार चुकेको निष्कर्ष निकालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानवअधिकारकर्मीहरुले सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक र असमानुपातिक घातक बल प्रयोग गरेको निष्कर्ष निकालेका छन्।
  • जवाफदेही निगरानी समितिले सरकारले आन्दोलनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन होशियारी र सावधानी अपनाउन नसकेको ठहर गरेको छ।
  • समितिले घटनाको स्वतन्त्र छानबिन र सञ्चार तथा गृहमन्त्रीको तत्काल राजीनामा माग गरेको छ।

२३ भदौं, काठमाडौं । मानवअधिकारकर्मीहरुले सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक मात्रामा अन्धाधुन्द र असमानुपातिक घातक बल प्रयोग गरेको निष्कर्ष निकालेका छन् । उनीहरुले घातक बलकै प्रयोगका कारण दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु हुनुका साथै सयौं घाइते भएको निष्कर्ष निकालेका हुन् ।

पूर्व घोषित आन्दोलन देशव्यापी रुपमा भड्किन सक्ने र घुसपैठ हुनसक्ने औल्याउदै जवाफदेही निगरानी समितिले आन्दोलनलाई ‘व्यवस्थित र शान्तिपूर्ण बनाउन होशियारी, तदारुकता र सावधानी अपनाउन सरकार चुकेको निष्कर्ष निकालेको हो ।

समितिले विज्ञप्तिमार्फत भनेको छ, ‘सरकार पूर्णतः असफल भएको परिणामस्वरूप नै आज नितान्त दुःखद् र त्रासदीपूर्ण घटना घटन पुगेको हो भन्ने जवाफदेहिता निगरानी समितिको प्रारम्भिक ठहर छ ।’

समितिले बलप्रयोगका स्थापित मुल्यमान्यताहरु मिचेर नागरिकको ज्यूज्यानमा भयानक क्षति पुग्ने गरी घटना भएको भन्दै उनीहरुले निन्दनीय घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेको हो । समितिले घटनाप्रति क्षमा माग्नुपर्ने अनि सञ्चार तथा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो ।

समितिले मानव अधिकार उल्लंघनका घटनाको अनुगमन गर्न समेत राष्ट्रिय मानव अधिकार आयोग असफल भएको निष्कर्ष निकालेको छ । मानव अधिकार उल्लंघनको रोकथामका लागि हरबखत प्रयत्न गर्नुपर्नेमा मानव अधिकार आयोग असफल भएको भन्दै उसले घटनाको स्वतन्त्र छानविन गर्न पनि माग गरेको छ ।

समितिका संयोजक राजु चापागाई सहित सहसंयोजकहरु राजन कुईकेल, रुक्मिनी महर्जन, सदस्यहरु चरण प्रसाई, डा. गौरीशंकर लाल दास, डा. मन्दिरा शर्मा, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल लगायतले संयुक्त रुपमा विज्ञप्ति निकालेर प्रदर्शनमा भएको दमनको विरोध गरेका हुन् ।

सामाजिक, आर्थिक, मनोबैज्ञानिक, शैक्षिक लगायतका आयामवारे युवामा पर्नसक्ने प्रतिकुलताको बेवास्ता गरी सरकारले सामाजिक सञ्जाल बन्द गरेको र त्यसको चौतर्फी विरोध हुँदा समेत पुनर्विचार गर्न सरकार तयार नभएको भन्दै समितिले त्यसक्रममा प्रधानमन्त्री र मन्त्रीहरुका हठपूर्ण अभिव्यक्ति समेत घटनाको कारक रहेको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?