
‘त्यो समाज अभागी हुन्छ, जसलाई नायकहरूको निरन्तर खाँचो पर्छ ।’ जर्मन नाटककार एवं कवि बर्तोल्त ब्रेख्तको एक चर्चित नाटक छ, ‘द लाइफ अफ ग्यालिलियो’ ।
विज्ञान र कट्टर धार्मिक रुढीवादबीचको द्वन्द्व नाटकको मुख्य विषयवस्तु छ । नाटकमा ग्यालिलियोका एक चेला एन्द्रियास मनभित्र सुनामीझैं उठिरहेका असन्तोष र आक्रोश मिश्रित स्वरमा ग्यालिलियोसमक्ष पीडा पोख्छन्, ‘कति अभागी छ यो धरती, कति अभागी छ यो समाज जहाँ एउ टा पनि नायक छैन ।’
ग्यालिलियो जवाफ फर्काउँछन्, ‘अभागी उनीहरू हुन्छन्, अभागी त्यो समाज हुन्छ, जसलाई नायकहरूको निरन्तर खाँचो पर्छ।’
जब-जब समाज र राज्यप्रति मानिसहरूमा निराशा, अविश्वास र आक्रोश फैलिन थाल्छ, तब नायकको खोजी हुन्छ। हो, नेपाली समाज पनि त्यस्तै अभागी समाज हो, जसले पटकपटक नायकको प्रतीक्षा गरेको छ । एउटा यस्तो नायक आउनेछ, जसले जादुको छडी घुमाउनेछ अनि छु मन्तर गरेर सम्पूर्ण समस्या समाधान गरिदिनेछ भन्ने भ्रम वर्षौंदेखि पालेर बसेको छ नेपाली समाज ।
इतिहासको एक कालखण्डमा सामन्तहरूको क्रुर दमन थियो । हजारौं किसान भूदास बन्न बाध्य थिए । जीवन अन्धकारमा थियो । उनीहरू सोच्थे, एक दिन एक नायक आउनेछ र हाम्रा सारा दुःखबाट बाहिर निकाल्नेछ । तर भूदास बनेर वर्षौं प्रतीक्षा गर्दा पनि नायक बनेर मुक्ति दिन कोही आएन। बरु, सामन्त र जमिनदारहरूसँग आफैंले गरेको संघर्षको बलमा उनीहरूले केही स्वतन्त्रता प्राप्त गरे ।
कथित धार्मिक आड र राज्यकै पालनपोषणमा फस्टाएको जात व्यवस्थाको दुष्चक्रमा परेर हजारौं शिल्पीहरू काटिए, मारिए, तिनका अंग भंग गरिए । सिंगै समुदाय विस्थापित हुनुपर्यो । त्यसबेलाको उच्च प्रविधिको प्रयोग गरिरहेका अहिलेका प्राविधिक र वैज्ञानिक भन्न सकिने एउटा ठूलो समुदाय जघन्य अपमान सहेर समाजबाट बहिस्कृत हुन बाध्य भयो ।
उनीहरूलाई पनि लाग्थ्यो, एक दिन एउटा नायक आउनेछ र यी सारा अपमानको बदला लिन पाइनेछ। तर त्यो दिन आएन । किनभने त्यस्तो नायक अन्त कहीं कतैबाट आउनेवाला थिएन ।
बरु, उनीहरू आफैं जागेर गरेका कयौं आन्दोलन, संघर्ष र रगत बगाएर गरेको बलिदानबाट यो समुदायले पनि आफ्नो अवस्थामा केही परिवर्तन ल्यायो । यद्यपि, अझै पनि नायक पर्खने कि आफ्नो हक-अधिकारका निम्ति आफैंले संघर्ष गर्ने भन्ने द्विविधामा यो समुदाय रहेकै छ ।
जहाँनियाँ राणादेखि निरंकुश राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि क्रुर दमनका कयौं सिलसिला रोकिएका छैनन् । अधिकारबाट विमुख भएकाहरू अहिले पनि नायकको प्रतीक्षा गरिरहेकै छन् ।

अहिले पनि सत्तामा यिनकै हालीमुहाली छ । बिचौलिया र दलालहरूसँग साझेदारी छ । जसका कारण बिचौलियाले राज्य लुटिरहेका छन् । यिनले भाग पाइरहेका छन् । ओली, देउवा र प्रचण्ड मात्र होइन, यिनले यो लुटतन्त्रमा आफ्ना पार्टीका केही बफादारहरूको झुण्ड बनाएका छन् ।
ती झुण्डको काम छ- आफ्ना मालिकको सेवा गर्नु, बिचौलियाहरूलाई मालिकसँगको बैठकको मेसो मिलाउनु र लुटबाट जुटेको धन व्यवस्थापन गर्नु । त्यस्तो बफादार झुण्डमा आधिकांश त आफ्नै परिवारभित्रका सदस्य मुख्य भूमिकामा छन् ।
राज्यको सम्पूर्ण शक्ति मूलतः ठूला भनिएका यिनै दल र यिनका नेताको मुठ्ठीमा छ। तर यिनीहरू दलाल पूँजीपतिहरूको कठपुतली बनेका छन् । मुलुकका नियम कानुन तिनैले चाहेजसरी बन्छन् । कानुन बनाउन कही कतै बाधा पर्ने देखे सरकार अध्यादेश ल्याएर भने पनि तिनको सेवा गरिछाड्छ ।
बदलामा बिचौलियाले नेताको जीवन स्वर्गझैं झकिझकाउ बनाइदिएका छन् । सबै सुखसयल उपलब्ध गराइदिएका छन्। त्यसैले राजनीतिले नेता भनाउँदाहरूलाई फलिफाप नै फलिफाप दिएको छ ।
दिनहुँ करिब २५ सय युवा आफ्नो थातथलो छोडेर विदेशिन बाध्य छन् । आफ्ना प्रियजनसँग बिछोडिनु पर्दा बगेको आँसुले, ओली, देउवा, प्रचण्ड कसैलाई छुँदैन । किनभने, रुँदै थातथलो छोड्नेहरूको लाममा तिनका कोही हुँदैनन् ।
नेताका सन्तानले ती सबै समस्या भोग्नु परेकै छैन, जुन आम नागरिकले दिनहुँ भोगिरहेका छन् । समाजमा विभिन्न तह निर्माण भएको छ । राजनीतिको उपल्लो भागमा पुगेकाहरूकै फेरो समाएर लाभ लिन पाइरहेकाहरूको अर्को ठूलो पंक्ति तयार भएको छ । जसका कारण अक्षम बनिसकेका शीर्ष भनाउँदा नेता आआफ्ना पार्टीभित्र थप बलशाली बनेका छन् ।
नागरिकको ठूलो पंक्ति अहिले पनि तिनै अक्षम नेतालाई नायक ठानेर बसेको छ । कुशासकको पर्याय बनिसकेका वृद्ध नेताबाट अझै पनि चमत्कारको आशा गरिरहेको छ र आरती उतार्न मस्त छ ।
त्यसो नहुँदो हो त, एमालेको विधान महाधिवेशनका दौरान गोदावरीमा अर्कै दृष्य देखिने थियो। कांग्रेसको आसन्न महाधिवेशन अहिलेसम्म अनिश्चित हुने थिएन । माओवादीभित्र नेतृत्वको पुस्तान्तरणको मुद्दा उठाउनेजति आँखाको कसिंगर बन्नु पर्ने थिएन ।
सबैभन्दा महत्वपूर्ण कुरा त, विद्यालय र कलेजमा आफ्नो भविष्य खोजिरहेको पछिल्लो पुस्ता अर्थात् जेनजी यसरी सडकमा उत्रनु पर्ने थिएन ।
शासनले अत्याचार गरिरहँदा आँखा चिम्लेर बसेका अभिभावकलाई पत्तै नदिई जेनजी पुस्ता आइतबार सडकमा उत्रियो । सत्तामा बसेकासँग तिनको आलिसान जीवनशैलीको कारण खोज्यो । बढ्दो भ्रष्टाचारको विरोध गर्यो, त्यो पनि बुलन्द आवाजमा ।
शासनलाई आफूविरुद्ध खडा भएका औंला र सवाल प्रिय लाग्ने कुरै थिएन । सत्ताको मोहमा परेर अन्धो मात्र होइन, क्रुर बनिसकेको शासकले बर्बर दमनको बाटो लियो र कम्तीमा १९ जनाको प्राण लियो । साढे तीन सयभन्दा बढी घाइते छन् । अझै पनि कयौं गम्भीर छन् ।
न्यायका निम्ति सडकमा उभिएकाहरूमाथि गोली बर्साइएको यो यस्तो घटना हो जसले यसअघिका सबै हत्याकाण्डलाई सहजै बिर्साइदियो । यति गर्दा पनि जेनजी पुस्ता हतोत्साही भएन । साँझसम्म पनि संघीय राजधानी काठमाडौंसहित देशभरका कयौं शहरमा जेनजी पुस्ता आवाज बुलन्द गरिरहेको छ । रगतको बदला लिने अठोट लिएर सडकमा डटिरहेका छन् ।
जेनजी पुस्ता सरकारले थोपरेका अन्याय, विभेद, अत्याचार, भ्रष्टाचारको विरुद्ध आवाज लिएर सडकमा उत्रिएको हो । संसार देखेको, सपना सजाएको, आँट र हुटहुटी भएको यो पुस्तामाथि यति बर्बर दमनपछि पनि तिनको आवाज नजरअन्दाज गर्न सरकारलाई सहज छैन । किनभने, यो पुस्तासँग हिम्मत र जोश मात्र छैन, प्रविधिको प्रचुर ज्ञान पनि छ ।
ज्यानको परवाह नगरी जेनजी सडकमा छ। यतिबेला अघिल्लो पुस्ता कहाँ छ ? सडकले जेनजी मात्र होइन, तिनको अभिभावक पनि खोजेको छ । जब यो दुवै पुस्ताको मिलन सडकमा हुन्छ, अनि आफूलाई सर्वशक्तिमान ठान्ने शासक पनि शासनबाट उत्रन बाध्य हुन्छन् ।
जेनजी पुस्ता यसरी सडकमा उत्रनु पर्ने अवस्था आउनुअघि नै अघिल्लो पुस्ताले संगठित प्रतिवाद गरेको भए मुलुक वृद्धतन्त्रको चंगुलबाट धेरै पहिले बाहिरिसकेको हुने थियो ।
सरकारको नृशंस दमनले सिंगो देशलाई शोकमा परिणत गरिदिएको छ। विद्यालय र कलेजका पोशाकमा उत्रिएको यो पुस्ताले दिएको बलिदानले सिंगो समाजलाई नयाँ आशा जगाएको छ ।
अघिल्लो पुस्ताले प्रश्न गर्न भुल्दै गएका बेला जेन-जी पुस्ता प्रश्न बोकेर उत्रिएको छ। शासकले मति छाडेका बेला तिनलाई शासनबाट गलहत्याउन जुनसुकै बलिदान गर्न तयार छ भन्ने सन्देश जेन-जी पुस्ताले दिएको छ ।
यति हुँदाहुँदै पनि जेन-जी पुस्ताले बुझ्नुपर्छ, विचार र राजनीतिको आदर्श उपलब्ध नभएको समाज हुँदैन । अर्थात् प्रत्येक समाजमा विचार र राजनीतिक आदर्श उपलब्ध हुन्छ । तर त्यस्तो राजनीति र आदर्श यही समाजमा यही अवधिमा विद्यमान छ अथवा अझै अघि बढेर निर्माणमा जुट्नुपर्छ भन्ने हेक्का पनि राख्नुपर्छ । अन्यथा, विचारविहीन संघर्ष भड्किएको भीडमा परिणत हुनसक्छ ।
पछिल्लो समय विचार निर्माणको एउटा बलियो आधार सामाजिक सञ्जालहरू भएका छन् । ती माध्यम मात्र हुन्, तिनमा भएका कन्टेन्टको पहिचान महत्वपूर्ण कुरा हो । तिनले हाम्रो समाजलाई ठिक ठाउँमा पुर्याउँछ/पुर्याउँदैन भन्ने हेक्का राख्नैपर्छ । अन्यथा, धेरै वर्षदेखिका आन्दोलन खेर गएजसरी यो बलिदान पनि खेर जान सक्छ ।
युवा उमेर बाढीको भेलजस्तो हुन्छ । बाढीको पानीलाई नहरमार्फत व्यवस्थित गरे सिँचाइमा प्रयोग गर्न सकिन्छ । अन्यथा, बाढीले सिंगै गाउँ तहसनहस पार्छ । यो उमेरमा शक्ति मात्र होइन, भयंकर उन्माद पनि हुन्छ । त्यो तागतसहित जेनजी सडकमा उत्रिएका बेला अभिभावक पुस्ताले आफ्ना अनुभवले त्यो शक्तिलाई सही बाटो देखाउँछ कि देखाउँछैन ? धेरै हदसम्म जेनजी विद्रोहको परिणाम त्यसमा निर्भर बन्ने देखिन्छ ।
केही अघि ‘इनफ इज इनफ’ भन्दै युवा सडकमा उत्रिएका थिए । ती सबै युवा स्वार्थभन्दा माथि उठेका देखिन्थे । तर पनि त्यो प्रदर्शनले विद्रोहको रूप लिन सकेन । किनभने समाजको सबै तप्काले त्यसलाई सघाएन । अब पनि त्यही विगत दोहोर्याउने कि यो बलिदानलाई परिणाममुखी निष्कर्षसम्म पुर्याउने? अघिल्लो पुस्तालाई प्रश्न छ ।
सरकारले अहिले सडकको आवाज रोक्न जुन बाटो अपनाएको छ, त्यो कदापि सफल हुँदैन । यसको भोगाइ सरकार सञ्चालक दलहरूसँगै बढी छ ।
जनताका आफ्नै प्रतिनिधिले संविधानसभाबाट संविधान जारी गर्ने अवस्था र मुलुकलाई गणतन्त्रसम्म पुर्याउन यी राजनीतिक दलले ७० वर्षभन्दा लामो संघर्ष गरेका थिए । जतिबेला यी तत्कालीन शासनसँग लडिरहेका थिए, ती पनि त्यसबेलाका पछिल्लो पुस्ता नै थिए । तर शासन सञ्चालनमा पुगेपछि बिचौलियाको कठपुतली बन्दा यिनीहरू यतिसम्म क्रुर बनेका हुन् ।
आफ्नै विगतको अनुभव नसम्झिएर यिनले जुन भुल गरिरहेका छन्, त्यो सच्चिएन भने परिणाम यिनले सोचेभन्दा धेरै भयावह बन्न सक्छ ।
प्रतिक्रिया 4