
२४ भदौ, बुटवल । जेनजीको सम्भावित प्रदर्शनलाई लक्षित गरी रुपन्देही जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेबाट जारी भएको आदेशमा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी आज विहान ९.३० बजेदेखि अर्को आदेश नभए सम्मको लागि रुपन्देही जिल्लाभर निषेधाज्ञा लागू हुने जानकारी गराएका छन् ।
स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
उक्त अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।
यसअघि हिजो दिउसो ४ बजेदेखि १० बजेसम्म पनि निषेधाज्ञा आदेश जारी भएको थियो ।
प्रतिक्रिया 4