
२७ भदौ, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन् ।
‘हामी के चाहान्छौं भने छिटोभन्दा छिटो युवाहरुले जुन मागहरु उठाइराख्नु भएको छ, त्यो माग सम्बोधन हुने गरी सरकार बनोस्,’ मुख्य सचिव अर्यालले भने, ‘त्यो सरकारसँग काम गर्नको लागि व्युरोक्रेसी तयार छ ।’
अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी पनि दिए ।
राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरु भइसकेको उनले जानकारी दिए । उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको पनि बताए ।
‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरु अनलाइनबाट सुरु गरिसकेका छौं । अत्यावश्यक आवश्यक सेवाहरु खानेपानी, विद्युत तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरुको लागि पनि हामीले तत्तत् निकायहरुलाई निर्देशन दिइसकेका छौं,’ मुख्य सचिव अर्यालले भने, ‘हिजो र अस्ति मन्त्रालयका सचिवहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ । सुरक्षाको सम्बन्धमा नेपाली सेनाको नेतृत्वमा काम भइरहेको छ र सुरक्षास्थिति सामान्यउन्मुख छ ।’
प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताए । उनले नागरिकलाई अत्यावश्यक सेवा प्रवाह गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको पनि बताए ।
‘सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरीक्षणपछि छलफल पनि गर्यौं । कति क्षति भएको छ त्यसको आँकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरु भइरहेको छ । त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं,’ उनले भने, ‘अभिलेखको क्षति कल्पनासमेत गर्न सकिदैन । पूर्वाधार र सवारीको क्षतिबारे प्राविधिक रुपमा आँकलन गर्छौं ।’
सिंहदरबारबाटै सरकार गठन हुने सम्भावना रहेको भन्दै उनले त्यो अनुसारको व्यवस्थापन गर्ने बताए ।
प्रतिक्रिया 4