
२८ भदौ, जनकपुरधाम । जेनजीको आन्दोल चर्केको दिन भदौ २४ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीना दिएका थिए । जनमतका अध्यक्ष डा.सिके राउतको निर्देशनमा उनले आफ्नो सामाजिक संजाल फेसबुकबाट वक्तव्य जारी गर्दै राजीनामा दिएको घोषणा गरेका थिए ।
‘नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’, वक्तव्यमा उल्लेख थियो । तर, उनले राजीनामा दिएको पत्र शुक्रबार अबेर रातिसम्म पनि प्रदेश प्रमुखको कार्यालयमा नपठाएको खुलेको छ ।
मुख्यमन्त्रीले राजिनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ ।
मधेश प्रदेश प्रमुख कार्यालयका सचिव सत्रुधन यादवका अनुसार अहिलेसम्म मुख्यमन्त्रीको राजीनामा पत्र कार्यालयमा प्राप्त भएको छैन । ‘मुख्यमन्त्री ज्यूले राजीनामा दिनुभएको कुरा हामीले पनि फेसबुकमा हेर्यौं । तर प्रदेश प्रमुखको कार्यालयलाई अहिलेसम्म लिखित राजीनामा पत्र कुनै पनि माध्यमबाट प्राप्त भइसकेको छैन’ सचिव यादवले भने ।
प्रदेश प्रमुख कार्यालयमा लिखित रुपमा राजिनामा नदिएको र स्वीकृत नभएकाले कानुनी रुपमा उनको हालसम्म मुख्यमन्त्री पद कायमै रहेको छ ।
२५ जेठ २०८१ मा एमाले माओवादीसहित ७ दलको समर्थनमा सिंह मुख्यमन्त्री भएका थिए । पछि केन्द्रको घटनाक्रमले माओवादी केन्द्रसहितका दल निस्केको थियो भने काँग्रेस सहभागी भएको थियो ।
जनमतका अध्यक्ष डा. सिके राउतले जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई पन्छाएर सिंहलाई मुख्यमन्त्री बनाएका थिए ।
१५ महिनासम्म चलेको उनको नेतृत्वको सरकारले ल्याएको बजेटमा विचौलिया हाबी, असमान बजेट र योजनाको चिठी खुलेआम कमिसनमा बेचेको भनेर विवादित रह्यो ।
प्रतिक्रिया 4